श्रावण ३, २०८२ शनिबार July 19, 2025

कांग्रेसकाे पहिलो बैठकमा नै वरीयता विवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने निर्णय गरेको छ ।

सानेपास्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले पार्टीलाई महाधिवेशनपछि एकताबद्ध गरेर अघि बढ्नेसहितका पाँच निर्णय गरेको हो । पहिलो बैठकबाटै तीन संशय पनि उब्जिएको छ ।

१४औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालालाई सभापति शेरबहादुर देउवाले पहिलो बैठकमा नै साथ लिने प्रयास नगरेको भन्दै वरीयतामा गुनासो देखिएको हो । देउवाले पदाधिकारीसहित नेताहरूको वरीयताक्रम तोक्दा कोइरालालाई २०औं नम्बरमा पारेका छन् । बैठकको माइन्युटमा कोइरालाको नाम २०औं नम्बरमा थियो ।

‘सभापतिमा निर्वाचित देउवाले पहिलो बैठकमा नै शेखर कोइरालालाई समेट्ने प्रयास गर्नुभएन, बैठकबाट निर्णय गरेर मात्रै हुँदैन, व्यवहारले पार्टीलाई एक ढिक्का बढाउँछ कि बनाउँदैन भन्ने कुरा सुरुबाट नै देखिनुपर्छ, त्यसो भएन, वरीयतामा कोइरालालाई विगतको अभ्यासबाट पन्छाइयो,’ कांग्रेसका नव निर्वाचित एक पदाधिकारीले राजधानीसँग भने ।

सभापति देउवाले तोकेको वरीयताअनुसार सभापतिपछि उपसभापति दुई जना, महामन्त्री दुई जना, आठ जना सहमहामन्त्री र त्यसपछि पूर्वपदाधिकारीलाई राखिएको छ ।

जसअनुसार गोपालमान श्रेष्ठ, सशांक कोइराला, अर्जुननरसिंह केसी, रामशरण महत, सुनिलबहादुर थापा, चित्रलेखा यादव वरीयतामा अगाडि छन् भने त्यसपछि २० नम्बरमा कोइरालाको नाम राखिएको हो ।

वरीयताको विषयमा पछि पारिएको पहिले नै जानकारी पाएपछि कोइराला भने बैठकमै गएनन् । उनी सभापतिपछि दोस्रो नम्बरका पराजित उम्मेदवार भएकाले कांग्रेस विधानअनुसार स्वतः केन्द्रीय सदस्य हुन्छन् । तर, उनी बैठकमा सहभागी नभएर चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ पुगेका थिए ।

कांग्रेस विधानमा वरीयताको विषयमा भने केही उल्लेख छैन । तर, यसअघिको प्रचलनअनुसार भने सभापतिमा पराजित बनेका नेता रामचन्द्र पौडेल दोस्रो वरीयतामा नै थिए ।

यसैगरी, त्यसअघिसमेत गिरिजाप्रसाद कोइराला पार्टी सभापति निर्वाचित हुँदा पराजित बनेका देउवा दोस्रो वरीयतामा थिए । सो विषयमा निर्णय गर्ने अधिकार भने सभापतिलाई नै रहन्छ ।

महामन्त्री गगन थापाका अनुसार शनिबार बसेको पहिलो बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अघि बढ्नेसहितका पाँच निर्णय गरेको जानकारी दिए ।

यसैगरी १४औं महाधिवेशन सम्पन्न गराउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन समितिसहित सबैलाई धन्यवाद दिने, राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार सिफारिस गर्नका लागि छलफल गर्न सभापति शेरबहादुर देउवालाई अधिकार दिने, राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

१ सय ३४ जनाले नै पाए निर्वाचित भएको प्रमाणपत्र

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य गरी १ सय ३४ जनालाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ । केन्द्रीय समिति बैठक बस्नुअघि निर्वाचन समितिले सभापतिसहित सबै पदाधिकारी र केन्द्रीय सदस्यमा निर्वाचित नेताहरूलाई प्रमाणपत्र दिएको हो ।

दोस्रो वरीयतामा पौडेल र तेस्रोमा सिटौलालाई राख्ने देउवाको इच्छा

सभापति शेरबहादुर देउवाले शनिबार राखेको वरीयता अस्थायी हो । देउवाले आफू पछिको वरीयतामा नेता रामचन्द्र पौडेललाई ल्याउन चाहेका छन् । यस्तै, तेस्रो वरीयतामा नेता कृष्णप्रसाद सिटौलालाई राख्न चाहेका छन् ।

उनीहरू दुवै जनालाई देउवाले केन्द्रीय सदस्य मनोनित गर्दै वरीयतामा अगाडि राख्न चाहेका हुन् । कांग्रेस विधानमा वरीयताको सम्बन्धमा कुनै व्यवस्था छैन । जसकारण देउवालाई आफूले चाहेअनुसार वरीयता तोक्ने छुट छ ।

नेता पौडेल र सिटौला दुवै जना १४औं महाधिवेशनमा सभापतिको मैदानबाट बाहिरै बसेका थिए । पौडेल महाधिवेशनभरि कतै खुलेनन् भने सिटौला खुलेरै देउवालाई जिताउन लागे । त्यसकारण पनि देउवाले पौडेल र सिटौलालाई वरीयतामा सम्मान दिन चाहेका छन् ।
यसैगरी, सभापति देउवाले सभापतिको दोस्रो चरणको निर्वाचनमा आफूलाई सघाएका प्रकाशमान सिंहलाई पनि वरीयतामा अघि समेट्ने प्रयास गरिरहेका छन् ।

यसो हुँदा सभापतिपछि रहेका अन्य पदाधिकारीहरूको वरीयता झनै पछि धकेलिने अवस्था देखिन्छ भने देउवाले वरीयता विवाद बढेमा डा. शेखर कोइरालालाई अघि तान्ने सम्भावना पनि छ ।

वरीयतामा सभापतिले राजनीतिक निर्णय गर्नुपर्छ
धनराज गुरुङ, उपसभापति, कांग्रेस

कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीका नेताहरूको वरीयताका विषयमा सभापतिले राजनीतिक निर्णय गर्नुपर्ने बताएका छन् । राजधानीसँगको संवादमा नवनिर्वाचित उपसभापति गुरुङले नेताहरूको वरीयताको विषयमा टुंगो लगाउन आवश्यक परे पार्टीले समिति पनि बनाउनुपर्ने उनको भनाइ छ ।

‘वरीयताको विषयमा सभापतिले राजनीतिक निर्णय गर्नुपर्छ, त्यो उहाँले गर्नुहोला, आवश्यक परे पार्टीले समिति बनाएर पनि छलफल गर्नुपर्छ,’ उपसभापति गुरुङले भने । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार