काठमाडौँः कोभिड–१९ विरुद्ध लड्न खोपलाई प्राथमिकता दिँदै आएको नेपालले हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसकेको छ । तीमध्ये पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको सङ्ख्या ९४ लाख ५० हजार रहेको छ । नेपालले गत माघदेखि खोप लगाउन थालेको हो ।
एक वर्षमा नेपालले विश्व बजारमा आएका छवटा खोप प्रयोग गरिसकेको छ । कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल साइनोफार्म, जोन्सन एन्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना प्रयोग गरिएको छ । १८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि लगाइसकिएको छ भने १२ देखि १८ वर्ष उमेर समूहलाई यही पुस ४ गतेबाट खोप अभियान सुरु गरिएको छ । सो समूहकालाई फाइजर बायोन्टेक र मोडर्ना खोप लगाउन थालिएको छ ।
यी खोप हालसम्म तीन करोड ३२ लाख ९० हजार ३३० मात्रा आइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले एक करोड २० लाख खोप खरिद गरेको र बाँकी खोप कोभ्याक्स सुविधा, विभिन्न मुलुकबाट सहयोगका रूपमा प्राप्त भएको बताउनुभयो । उहाँले सबै नेपालीलाई आगामी चैत मसान्तसम्ममा खोप लगाउने काम सम्पन्न गर्न सरकारले थप खोप खरिद प्रक्रिया अघि बढाइरहेको छ भने विभिन्न मुलुकसँग खोप सहयोगका लागि पहल गरिएको बताउनुभयो ।
सरकारले विभिन्न स्थानमा रहेको खोप भण्डारमा करिब ६८ लाख खोप सुरक्षित रहेको बताएको छ । यही पुस महिनासम्म १८ वर्षभन्दा माथिको ६६ प्रतिशत जनसङ्ख्या र चैत महिनासम्म सबैलाई खोप लगाइसक्ने लक्ष्यसाथ सरकारले काम गरिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यो लक्ष्य हासिल गर्न प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिसँग सहयोग, समन्वयका लागि आग्रह गर्नुभएको छ । सबै प्रदेशका मुख्यमन्त्रीसँग बैठक गरेर कोरोनाबाट नागरिकलाई बचाउन खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकार तथा स्थानीय तहलाई आवश्यक आर्थिक र जनशक्ति उपलब्ध गराउन केन्द्रीय सरकारका अर्थ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिइसक्नुभएको छ ।-गोरखापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया