काठमाण्डौः नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संविधानद्वारा निर्दिष्ट न्यायिक एवं प्रशासनिक जिम्मेवारी पालना गर्न असक्षम भएको आरोप लगाएको छ।
प्रधानन्यायाधीश राणाविरुद्ध ७३ दिनदेखि आन्दोलनमा रहेका बारले मंगलबार सम्पादकहरूसँगको भेटमा प्रधानन्यायाधीशको बहिर्गमनले मात्र संवैधानिक उद्देश्य, मर्म र स्वतन्त्र न्यायपालिकाको संरक्षण गर्न सकिने दोहोर्याएको हो।
प्रधानन्यायाधीश राणाले संविधानको धारा १३६ ले दिएको दायित्व पूरा गर्न नसकेको आरोप नेपाल बारले लगाएको छ। प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउन दललाई आग्रह गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक परिषद्को सदस्य, न्याय सेवा आयोगको अध्यक्ष, न्याय परिषद्को अध्यक्ष जस्ता अन्य महत्वपूर्ण संवैधानिक अंगको समेत संवेधानिक दायित्व सुम्पिएकोमा विगत २ महिनादेखि उल्लिखित संवैधानिक जिम्मेवारी सम्पादन गर्न वर्तमान प्रधानन्यायाधीश पूर्णतः विफल भएको अवस्था छ।’
प्रधानन्यायाधीशविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिए पनि पछिल्ला दिनमा बारको आन्दोलन सुस्ताएको छ। सोही बेलामा सम्पादकहरूसँग भेट्दै बार पदाधिकारीले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने पर्याप्त आधार रहेको पनि जिकिर गरेको छ। ‘प्रधानन्यायाधीशले हालसम्म गरेका र सार्वजनिक भएका विकृति, विसंगतिजन्य कार्य र निजले दुई महिनाभन्दा बढी अवधिसम्मको सवैधानिक दायित्व निर्वाह गर्न असक्षम रहेको आधार र कारण नै महाअभियोगको लागि पर्याप्त भएकोले त्यसतर्फ संसद्मा उपस्थित राजनीतिक दललाई जिम्मेवार बनाउने कार्यमा यहाँहरूको सक्रिय साथ र सहयोगका लागि आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
लोकतन्त्र स्थापनाको आन्दोलनमा विगतमा राजनीतिक दलहरूसँगै आफूहरू रहेको जनाउँदै बारका पदाधिकारीहरूले आगामी दिनमा पनि सबै शक्तिसँगै अघि बढ्नेमा आफूहरू आस्वस्थ रहेको दाबी गरे।-नागरिक दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया