काठमाडौंः नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत विषयमा सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनादेशअनुरुप टुङ्गोमा पुग्न विगतका सबै गल्ति कमजोरीलाई बिर्सेर राजनीतिक दलसँगको संवाद र छलफल सुरु गरेको जानकारी दिए ।
‘जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एकअर्कासँग छलफल गरेर आगाडि बढ्नुपर्छ’, उनले भने, ‘एमाले जनताको यही सन्देशलाई आत्मसात गरेर नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ ।’
राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख गर्दै उनले सबै दलले एकअर्कामा पानी बराबर गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताए ।
‘अब त्यो चरण सकियो । हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमीकमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ’, संविधानसभाका अध्यक्ष नेम्वाङले भने । उनले एमालेबाट विभाजन भई गठन भएका नेकपा (एकीकृत समाजवादी)सँग पनि सहकार्य हुनसक्ने बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया