काठमाण्डौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन् ।
सोमबार बूढानीलकण्ठ नगरपालिका–४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले घोषणापत्र लेख्ने, प्रतिवद्धताहरू व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताए । उनले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरूलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने दाबी गरे ।
उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा कामहरू अघि बढाउन आफू प्रतिबद्ध रहेको पनि बताए । उनले यसअघि विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको ? भन्दै प्रश्नसमेत गरे । उनले करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुने विश्वास व्यक्त गरे ।
उनले कतिपय सडकमा विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप विछ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको बताए । उनले बिग्रिएका बाटोहरूको मर्मतका लागि आवश्यक पहल गरिरहेको बताए ।
नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा बाटो र खानेपानीको समस्या धेरै रहेको बताए । उनले आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिवद्धतालाई पूरा गर्न निर्वाचन क्षेत्रमा रहेका समस्या समाधानको पहलकदमी थालेको पनि बताए ।
उनले सरकार सञ्चालन गर्ने हरेक दलले एक घर, एक धाराको नीति लिएपनि काठमाडौंमा नै एक घर, एक धाराको नीति लागू गर्न नसकेको बताए । नेता पौडेलले कर तिरेका नागरिकहरूले सुविधा पाउँ भनेर भन्नु असम्भव र नराम्रो नभएकाले नागरिकलाई अहिलेसम्म पनि सहजता प्रदान गर्न नसक्नु दुखद भएको बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया