श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘आमजनता पार्टी’ दर्ता गर्दै प्रभु साह, चुनाव चिन्ह मोबाइल, ६ पुसमा तदर्थ समिति गठन गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रौतहट ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रभु साहले नयाँ पार्टीको नाम टुंगो लगाएका छन् । लामो आन्तरिक गृहकार्य र छलफलपछि साहले ‘आमजनता पार्टी’ नाम जुराएका छन् ।

त्यसका लागि आगामी ६ पुसमा सातैवटा प्रदेशको प्रतिनिधित्व हुने गरी तदर्थ समिति गर्न काठमाडौंमा बृहत् भेला गरिने भएको छ ।

भेला व्यवस्थापनको जिम्मा इच्छाबहादुर वाग्ले, पार्टीको विधान तयार पार्ने जिम्मा प्रभु साह र देशभरिका स्वतन्त्र सांसदमा उम्मेदवारी दिएर जसले पाँच हजार मत ल्याएका छन्, उनीहरूलाई भेला पार्ने जिम्मा बद्रीप्रसाद न्यौपानेलाई दिइएको छ । न्यौपाने चुनावका बेला एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएर प्रभु साहको अभियानमा लागेका थिए । वाग्ले बाराबाट कांग्रेसका बागी उम्मेदवार बनेका थिए ।

साहले आफूहरूसँग प्रतिनिधिसभामा तीन र प्रदेशसभामा ६ गरी नौजना सांसद रहेको दाबी गरेका छन् । जसमा रौतहट ३ बाट विजयी प्रभु साह, रौतहट २ मा विजयी किरण साह र मोरङ ५ मा विजयी योगेन्द्र मण्डल रहेका छन् । गत २४ मंसिरमा काठमाडौंको गौशालास्थित शिवम् पार्टी प्यालेसमा सबैलाई सम्मान गरिएको थियो । कार्यक्रममा सांसद मण्डलले आफ्ना प्रतिनिधि पठाएका थिए । किरण साह भने आउँछु भनेर अन्तिममा उपस्थित भएनन् ।

सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी अमरेशकुमार सिंह दिल्लीमा भएकाले उपस्थित हुन सकेका थिएनन् । नयाँ पार्टी गठनमा सिंहले समेत सहमति जनाएका  छन् ।

कार्यक्रममा स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभामा विजयी सुरुल पुन (रुकुम), दीपेन्द्रबहादुर पुन (रोल्पा), दीपेन्द्रबहादुर शाही (जुम्ला), खड्ग बस्नेत (नवलपरासी), केशव राय चौधरी (रौतहट) र जवाहरलाल कुशवाह (सर्लाही) लाई सम्मान गरिएको थियो ।

 

 

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया