काठमाण्डौः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० अहिले धमाधम माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को तयारीमा जुटेको छ ।
बोर्ड अहिले आगामी चैत्र ९ गतेदेखि एसईई परीक्षा सञ्चालन गर्ने गरी कार्यातालिका निर्माण तथा प्रश्नपत्र निर्माणमा जुटेको बोर्ड उच्च स्रोतले जानकारी दियो ।
पाठ्यक्रमका अन्तर्राष्ट्रिय परिभाषा तथा राष्ट्रिय मान्यता अनुरुप पाठ्यक्रमका तत्त्व सिकाइ क्रियाकलाप र मूल्याङ्कन एक अर्काका अन्तरसम्बन्धित मानिन्छन् । पाठ्यक्रमको उद्देश्य अनुरुप सिकाइ क्रियाकलाप गर्नुपर्छ र पाठ्यक्रमले निर्दिष्ट गरेको सीमा भित्र रहेर नै मूल्याकङ्कन गर्नुपर्ने शिक्षाको सर्वमान्य सिद्धान्त हो । तर बोर्डले सिकाइ क्रियाकलापका लागि छापिने पाठ्यपुस्तकका प्रतिबन्धित सम्पादकलाई नै कक्षा १० को अन्तिम परीक्षाका लागि प्रश्नपत्र निर्माण गर्न लगाइरहेको छ ।
पाठ्यक्रम विकास केन्द्रले अर्काको सामग्री हुबहु सारेको भन्दै माघ ६ गते मात्र तीन वर्षका लागि कुनै पनि पाठ्यसामग्री लेखन तथा सम्पादनमा रोक लगाएका सम्पादक ज्ञानबहादुर अधिकारी नै अहिले प्रश्नपत्र निर्माणमा संलग्न रहेको पाइएको छ । कक्षा ५, ६ र ७ का सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषय लेखन तथा सम्पादनका लागि प्रतिबन्ध लगाएका अधिकारी नै कक्षा १० को सोही विषयका प्रश्नप्रत्र धमाधम निर्माण गरिरहेका छन् ।
बोर्डले, हरेक विषयको प्रश्नपत्र गोप्य तरिकाले छुट्टा छुट्टै कोठामा राखेर तयार गर्छ । तर उनी छेवैमा रहेको अर्का विषयका प्रश्नपत्र निर्माणकर्ताले देख्न ठाउँमा नै बसेर प्रश्न निर्माण छन् । उनीसंगै छेवैमा रहेर अर्को विषयको प्रश्न निर्माण गरिरहेका प्रश्न निर्माण कर्ता भन्छन्, ‘एसईईलाई पुरै तामझामका रुपमा सञ्चालन गर्ने परम्परा कायमै छ तर पाठ्यपुस्तक लेखनमा अयोग्य ठहर गर्दै केन्द्रले तीन वर्षका लागि लेखन तथा सम्पादनमा प्रतिबन्ध लगाएका व्यक्ति नै धमाधम प्रश्न निर्माण गरिरहेका छन् । यसबाट कक्षा १० को मूल्याङ्कन कस्तो होला ? कुन आधारमा उहाँले प्रश्न तयार गर्नुहोला भन्ने आशंका गर्ने ठाउँ प्रसस्त छ ।’
केन्द्रले जारी गरेको सूचनामा स्पष्ट भनिएको छ,‘शैक्षिक सत्र २०८० देखि तीन शैक्षिक सत्रसम्मसरकारी तथा निजी प्रकाशनबाट पाठ्यसामाग्री लेखन सम्पादन लगायत पाठ्यसामग्री प्रकाशनसंग सम्बन्धित कार्य गर्न प्रतिबन्ध गराइएको व्योहोरामिति २०७९–१०–०५ को निर्णयअनुसार जानकारी गराइएको छ ।’ ईडियुपत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया