काठमाण्डाैंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ ।
आइतवार आज उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभइ विदेशबाट विद्यार्थीहरु नेपाल ल्याउन सक्नेगरी नीति, निर्माण गर्नुपर्ने बताउनु भयो ।
उहाँले प्राथमिक र आधारभूत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने बताउनु भयाे। उहाँले नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै त्यही अनुरुप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी नेपाललाई नै यस्तो देश बनाऔँ, जहाँ विदेशमा जुन सङ्ख्यामा नेपाली विद्यार्थीहरु पठाउँछौँ, विदेशबाट पनि त्यही सङ्ख्यामा विद्यार्थीहरु नेपाल भित्र्याउने वातावरण बनाऔँ । हाम्रो विद्यालय शिक्षा कसरी सुधार गर्ने ? प्रारम्भिक विद्यालयहरुदेखि नै आधारभूत विद्यालय तहदेखि नै गुणस्तरमा निकै ठूलो समस्या छ, तर नेपालको भौगोलिक बनावटको फाइदा लिँदै इन्टरनेशनल एजुकेशन हब बन्नसक्छ । त्यो हब निर्माण गर्ने भिजनसहित विदेशमा विद्यार्थी एक्सपोर्ट गर्ने नभइ विदेशी विद्यार्थी भित्र्याउनसक्ने वातावरण निर्माण गर्न आवश्यक छ ।’
मन्त्री खनालले आउँदाे दिनमा शिक्षालाई प्रवर्द्धन गर्न आवश्यक नीति नियम स्पष्ट हुन आवश्यक रहेको बताउनु भयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया