श्रावण १, २०८२ बिहिबार July 17, 2025

एसईईमा जीपीए ४.० ल्याउनेलाई एक लाख पुरस्कार

जीपीए ३.६ भन्दा माथि ल्याउनेलाई ७५ हजार रुपियाँ र जीपीए ३.२ भन्दा माथि ल्याउनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ ले एसईईमा उच्च अङ्क (जीपीए) हासिल गर्ने विद्यार्थीलाई एक लाख रुपियाँको पुरस्कार दिने घोषणा गरेको छ ।

विद्यार्थीलाई मेहनत गर्न प्रोत्साहित गर्ने उद्देश्यले वडा कार्यालयले ५० हजारदेखि एक लाख रुपियाँको पुरस्कार दिने निर्णय गरेको छ । वडा अध्यक्ष देवराज लामाले विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुगोस् भनेर पनि पुरस्कार प्रदान गर्न लागिएको बताउनुभयो ।

गाउँपालिका–२, कार्य समितिको माघ २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । एसईईमा जीपीए ४.० प्राप्त गर्नेलाई एक लाख रुपियाँ, जीपीए ३.६ भन्दा माथि ल्याउनेलाई ७५ हजार रुपियाँ र जीपीए ३.२ भन्दा माथि ल्याउनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

सो वडामा माध्यमिक तहको पठनपाठन हुने सर्वोद्धार माध्यमिक विद्यालय मात्र छ । तसर्थ सो पुरस्कारको कार्यक्रम सोही विद्यालयमा मात्र सीमित हुनेछ । उहाँले यसलाई आगामी वर्ष पनि निरन्तरता दिने बताउनुभयो ।

अहिलेसम्म सो विद्यालयका विद्यार्थीले माथिल्लो जीपीए प्राप्त गर्न सकेका छैनन् । विद्यालयका प्रधानाध्यापक ज्ञान्जमान तामाङले विद्यार्थीका लागि पुरस्कार रकमले निकै ठूलो महत्व राख्ने बताउनुभयो । विद्यालयमा ९९ प्रतिशत तामाङ र एक प्रतिशत मगर समुदायका विद्यार्थी अध्ययनरत छन् । यस वर्ष १८ जना परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया