श्रावण १, २०८२ बिहिबार July 17, 2025

शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरे देश बन्न सक्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

‘बरु रेल बनाउने काम केही समय राेके हुन्छ, शिक्षामा लगानी बढाऔँ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रका लागि अहिले विनियोजन हुँदै आएको बजेट पर्याप्त नभएको बताउनुभएको छ ।

गोरखा सदरमुकाममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको सातौँ जिल्ला अधिवेशनलाई आज मङ्गलवार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासका लागि बजेट पर्याप्त नभएको बताउनुभएको हो । ‘शिक्षालाई विकास र समृद्धिको मुख्य कडी मान्ने तर शिक्षा क्षेत्रमा लगानी बढाउन तयार नहुने यो अन्तरविरोधलाई कायम राखेर हाम्रो समृद्धिको लक्ष्य पूरा हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘बरु रेल बनाउने काम केही समय रोके हुन्छ तर मुख्य जग शिक्षालाई उन्नत बनाउन एकीकृत योजना चाहिन्छ, त्यसका निम्ति साधन स्रोतको पनि व्यवस्था गर्नुपर्छ ।’

मन्त्री श्रेष्ठले अहिलेको लगानी असाध्यै अपूर्ण रहेको भन्दै शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरे देश बन्न नसक्ने बताउनुभयो । ‘सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सकेमात्र शिक्षा क्षेत्रलाई समाजवादको दिशामा अगाडि बढाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘देश रूपान्तरणमा शिक्षा क्षेत्रको विकास महत्त्वपूर्ण पाटो हो ।’

उहाँले विदेशिएका युवाहरूलाई स्वदेश फर्काउनका लागि समृद्ध नेपाल निर्माण गर्नसक्नुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रको विकासका लागि शिक्षकलाई प्रविधिमैत्री बनाउँदै उनीहरूको क्षमता विकासमा जोड दिनुपर्ने आवश्यकता रहेको उपप्रधानमन्त्री श्रेष्ठले औँल्याउनुभयो ।

उहाँले शिक्षकहरूले नेपालको राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रंशसासमेत गर्नुभयो । उहाँले अहिलेको मुख्य काम सामाजिक न्यायसहितको समृद्धि भएको भन्दै समृद्धिको लक्ष्य प्राप्तिका लागि शिक्षा क्षेत्रको आमूल परिवर्तन पहिलो आवश्यकता रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया