वैशाख ६, २०८१ बिहिबार April 18, 2024

निजामती अस्पतालको एकपछि अर्को सेटिङ धन्दा- महँगा परीक्षण गर्न बाहिर पठाइन्छ र कमिसन असुलिन्छ

अख्तियारले छानबिन थाल्दा पनि अस्पातलको अन्य सेटिङ धन्दामा भने कमी आएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सेटिङमा करोडौं मूल्यका मेसिनहरू खरिद गरी ती मेसिनहरू प्रयोगविहीन बनाउँदै आइरहेको निजामती अस्पतालले विभिन्न परीक्षण सेवामा समेत सेटिङ गर्दै कमिसन खाँदै आइरहेको पाइएको छ ।

निजामती अस्पतालले १० करोड बढीका बिगे्रका मेसिनहरू खरिद गरी त्यसै थन्काउँदै आएपछि त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर छानबिन थालिरहेको छ ।

अख्तियारले छानबिन थाल्दा पनि अस्पातलको अन्य सेटिङ धन्दामा भने कमी आएको छैन ।

अस्पताल प्रशासनले विभिन्न महँगो शुल्क लाग्ने परीक्षणको काम रोकेर बिरामीलाई बाहिर पठाउन बाध्य पार्दै आइरहेको छ । महँगा परीक्षण गर्न र औषधी लिनसमेत बाहिर जानुपर्ने बाध्यता भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् ।

अस्पताल प्रशासनले सेटिङमा नै कतिपय महँगा परीक्षण गराउन सेवाग्राहीलाई बाहिर जानुपर्ने अवस्था सिर्जना गरिदिने गरेको छ । अस्पतालले सेवा प्रवाहमा समेत गम्भीर लापारबाही र मनपरी गर्दै आइरहेको पीडित कर्मचारी र सर्वसाधारणले बताएका छन् ।

अस्पतालमा सम्भव हँुदाहुँदै पनि महँगा परीक्षणका लागि सेवाग्राहीलाई बाहिर जान बाध्य बनाएर त्यसमा पनि कमिसन खाने गिरोहहरू अस्पतालभित्रै सक्रिय रहेको स्रोतको दाबी छ ।

सेटिङ धन्दा मौलाउँदा विकट र दुर्गमबाट उपचार गर्न आउने कर्मचारीहरूले सहज र भरपर्दो सेवा पाउन नसकेको भन्दै गुनासो गरेका छन् ।

सल्यानबाट केही दिनअघि निजामती अस्पतालमा उपचार गर्न आएका रामबहादुर मगरले रगत परीक्षण गर्ने क्रममा आफूले निकै दुःख पाएको बताउनुभयो ।

अस्पतालका चिकित्सकले भिटामिन डी र भिटामिन १२ को परीक्षण गर्नु भनेर प्रेसकिप्सन लेखेको भए पनि अस्पतालको ल्याब र काउन्टरमा गएर बुझ्दा ती दुवै परीक्षणका लागि केही दिनपछि आउनु भनिएको र सोहीअनुसारको दिनमा आउँदा पनि काम नभएको मगरले दुखेसो पोख्नुभयो ।

मगरलाई जहिले आउँदा पनि दुई तीन दिनमा आउनु भन्दै फिर्ता पठाइएपछि मगरले काउन्टर र ल्याबमा नै आक्रोश पोखेका थिए । ‘१० दिनदेखि दुःख पाइरहेको छु, जहिले आए पनि दुई तीन दिनमा आउनु भनिन्छ, सोहीअनुसार आउँदा फेरि दुई तीन दिनपछि आउनु भनिन्छ, चार पाँचपटक आउँदै फर्किंदै गर्न बाध्य भएँ’ –मगरले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

स्रोतका अनुसार अस्पतालले सबै सेवाहरू दिनुपर्ने भए पनि परीक्षण गर्दा महँगो पर्ने परीक्षणहरूको कहिले मेसिन बिग्रिएको त कहिले परीक्षणको लागि आवश्यक पर्ने केमिकलहरू सकिएको बहाना बनाउने गरेको छ ।

टाढाबाट आएका कैयौं बिरामीहरू अस्पतालको यस प्रकारको ज्यादतीका कारण त्यतिकै घर फर्कन विवश हुने गरेको बताइन्छ । अस्पतालको यस प्रकारको लापरबाहीका कारण आफूहरू हप्तौंसम्म होटलमा बस्दा हजारौं रुपियाँ अनाहकमा खर्च हुने गरेको पीडितले बताएका छन् ।

विभिन्न परीक्षण गर्दा केमिकल सकिएको, आज मेसिम बिग्रिएकाले दुई तीन दिनपछि आउनु भन्दै बिरामीलाई फिर्ता पठाउने गरिएको छ ।

दुई तीन दिनपछि अस्पताल जाँदा फेरि मेसिन अझै बनिनसकेको र केमिकलसमेत नआइसकेको भन्दै तीन चार दिनमा आउनु भन्दै बारम्बार फिर्ता पठाउने गरिएको छ । महँगा परीक्षण गर्नुपर्ने अवस्थामा अस्पतालले यस्तै खाले गलत धन्दा गर्ने गरेको पीडितको भनाइ छ ।

महालेखा परीक्षकको कार्यालयले पनि अस्पतालको सेवा प्रवाह प्रभावकारी हुन नसकेको र धेरै खाले त्रुटि देखिएको भन्दै प्रश्न उठाएको छ ।

मेसिन खरिद प्रक्रिया र सञ्चालन प्रक्रियामा व्यापक बदमासी देखिएको महालेखाको निष्कर्ष छ ।

महालेखाले निजामती कर्मचारीलाई लक्षित गरी स्थापना भएको अस्पतालले निजामती कर्मचारी तथा उनीहरूको परिवारले अन्य अस्पतालमा उपचार गर्न जानु नपर्ने गरी सेवा प्रवाहको क्षेत्र र गुणस्तर वृद्धि गर्नुपर्नेमा अस्पतालले त्यस्तो गर्न नसकेको जनाएको छ ।

औषधिमा बदमासी, फार्मेसी अपारदर्शी

महालेखा परीक्षकको कार्यालयका अनुसार निजामती अस्पताले औषधि बिक्रीवितरणमा पनि बदमासी गर्ने गरेको पाइएको छ ।

अस्पताल फार्मेसी सेवा निर्देशिका २०७८ मा बिरामी तथा सेवाग्राहीलाई सुलभ एवं गुणस्तरीय सेवा पु¥याउन अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालन गर्ने उल्लेख भए पनि अस्पतालले सञ्चालन गरेको फार्मेसी नाम मात्रैको रहेको पाइएको छ ।

गत वर्ष अस्पतालले २१३ प्रकारका सर्जिकल आइटमको आपूर्ति तथा लागत अनुमान तथा बोलपत्रको सूचना प्रकाशन गरेकोमा १५२ आइटम, आँकोलोजी मेडिसिनतर्फ १३८ प्रकारका औषधी खरिद गर्न बोलपत्र आह्वान गरेकोमा ५० आइटम मात्रै सम्झौता गरेको थियो ।

यसै गरी ३५० प्रकारका औषधि खरिद गर्न बोलपत्र आह्वान गरिएकोमा २३९ को मात्रै सम्झौता भएको थियो । बिरामी तथा सेवाग्राहीबाट माग भएका १५२ प्रकारका औषधि फार्मेसीमा उपलब्ध नभएपछि बिरामीहरू मर्कामा परेका छन् ।

यसै गरी क्यान्सर प्रतिरोधी, मुटुसम्बन्धी, उच्च रक्तचाप, उच्च तहको एन्टिबायोटिक लगायत अत्यावश्यक औषधिसमेत अस्पतालले उपलब्ध गराउन सकेको छैन । फार्मेसीको लेखापरीक्षण प्रतिवेदनसमेत पारदर्शी हुन नसकेको महालेखाले जनाएको छ । नेपाल समाचारपत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया