असार ३, २०८१ सोमबार June 17, 2024

माओवादी उपाध्यक्ष अग्नी सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

सापकोटा नेतृत्वको टोली जेठ १८ मा स्वदेश फर्कने कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीन भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओबीच बिहीबार भेटवार्ता भएको छ ।

निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बिहीबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो । उनीहरुबीच सुरुमा एक्लाएक्लै र त्यसपछि पदाधिकारीसहित भेटवार्ता भएको थियो । उनीहरुबीच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको भेटमा सहभागी एक नेताले जनाए ।

भेटमा चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने बताएका छन् । जवाफमा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकीमात्र नभएर विकास साझेदार भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्‍याएको सहयोगका लागि चीनलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि चीनले सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए ।

यही जेठ ५ गते २० सदस्यीय सापकोटा नेतृत्वको पार्टी प्रतिनिधिमण्डल चीन गएको थियो । सुरुमा ल्हासा र मानसरोवरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ । भ्रमण टोलीमा पूर्वसभामुख सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा छन् । सापकोटा नेतृत्वको टोली जेठ १८ मा स्वदेश फर्कने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया