श्रावण १२, २०८१ शनिबार July 27, 2024

रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया : सरकारको पत्रमाथि अध्ययन गर्दै राष्ट्रपति कार्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टीकापुर घटनामा डिल्लीबजार कारागारमा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया सरकारले अघि बढाएको छ । आममाफीलाई लिएर पठाएको पत्रमाथि राष्ट्रपति कार्यालयले अध्ययन र परामर्श थालेको छ ।

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले बुधबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालयको पत्र राष्ट्रपति कार्यालयमा पुगेको र कार्यालयले अध्ययन थालेको बताए । ‘प्रधानमन्त्री कार्यालयबाट आएको प्रस्ताव कानुन शाखामा पुगेको र त्यसमाथि परामर्श र अध्ययन भइरहेको छ,’ उनले भने, ‘अध्ययनपछि के गर्ने भन्ने राष्ट्रपतिज्यूबाट टुंगो लाग्छ ।’

टीकापुर काण्डमा जन्मकैद सजाय भोगिरहेका चौधरी हाल नागरिक उन्मुक्ति पार्टीका संरक्षक छन् भने उनको पार्टी सत्तागठबन्धनमा छ । उनलाई गणतन्त्र दिवस १५ जेठमा माफी दिने प्रक्रिया थालिएको छ । तर, संसद् अधिवेशन जारी रहेका वेला यो प्रस्तावले राजनीतिक रूप र विवाद लिने जोखिम छ ।

तर, पूर्वप्रधानन्याधीश तथा मानव अधिकार आयोगका पूर्वअध्यक्ष अनुपराज शर्मा राष्ट्रपतिले माफी दिँदा कुनै कानुनी प्रश्न नउठ्ने बताउ“छन् । ‘रेशम चौधरीको पृष्ठभूमि राजनीतिक भएकाले बढी चर्चा भएको हो । संविधानमा व्यवस्था रहेकाले राष्ट्रपतिले माफी दिँदा कुनै कानुनी प्रश्न उठ्ने अवस्था रहँदैन । कानुनमा व्यवस्था छैन भने त्यो अधिकार राष्ट्रपतिमा रहँदैन,’ उनले भने, ‘यो मुद्दा अदालतबाट अन्तिम फैसला भएको अवस्था छ । कानुनी अंग पूरा गरेर मन्त्रिपरिषद्बाट आएको प्रस्तावलाई पास गर्न राष्ट्रपतिलाई कुनै समस्या हुँदैन ।’

संविधानको धारा २७६ मा राष्ट्रपतिबाट आममाफीको व्यवस्था गरिएको छ । यसमा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ संशोधन गर्न विधेयक दर्ता गरिसकेको छ । दफा ११६ (क) थपेर ‘शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने’ प्रस्ताव गरिएको विधेयक गत बिहीबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा दर्ता गरेको थियो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिकोमा सिफारिस भएको बताए । ‘रेशम चौधरीमाथिको आरोप व्यक्तिगत अपराधको विषय थिएन । यो सामाजिक र राजनीतिक विषय थियो । उनलाई मत दिएर पनि जनताले यो राजनीतिक विषय थियो भनेर अनुमोदन गरेका थिए । यस विषयमा बहस चलिरहेको थियो । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिकोमा सिफारिस गरिएको हो । पहिला पनि यस्तो भएको थियो,’ उनले भने ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रस्ताव आएकोबारे शुक्रबार विस्तृत जानकारी रूपमा भन्न सकिने बताए । ‘प्रस्ताव दर्ता भएको छ । सार्वजनिक बिदाका कारण यसबारे कार्यालय खुलेपछि विस्तृत रूपमा भन्न सकिन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।

२ जेठमा सर्वोच्च अदालतले पूर्वसांसद तथा टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई जन्मकैद हुने उच्च अदालतको फैसलालाई सदर गरेको थियो । कैलालीको टीकापुरमा ७ भदौ ०७२ मा भएको झडपमा एक नाबालकसहित नौजनाको ज्यान गएको घटनामा सर्वोच्च अदालतको संयुक्त इजलासले फैसला गरेको थियो ।

सरकारले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयको पनि धारणा मागेको थियो । सरकारको मुख्य कानुनी सल्लाहकार त महान्यायाधिवक्ता हो । ‘कार्यालयलाई कुनै पनि मुद्दामा आममाफी दिनुअघि अदालतबाट अन्तिम फैसला भएको छ वा छैन भनेर सोधिन्छ । त्यो सोधिँदा कार्यालयबाट यो मुद्दा टुंगिएको हो भनेर जवाफ दिइएको हो । आममाफीको विषय सरकारको अधिकार हो,’ एक अधिकारीका अनुसार महान्यायाधिवक्ता दीनमणि पोखरेलले सरकारलाई सुझाव दिएका छन् ।

सर्वोच्चले फैसलामा चौधरीसहितको ६ वटा मुद्दामा उच्च अदालत दिपायलकै फैसला सदर भएको हो । चौधरीले मुद्दाको पुनरावलोकनमा जाने बताएका थिए । ‘सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न । टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ । हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ,’ ३ जेठमा डिल्लीबजार कारागारबाट हस्तलिखित विज्ञप्ति जारी गर्दै उनले भनेका थिए ।

रेशमलगायत टीकापुर घटनामा थुनिएका र मुद्दा खेपिरहेका राजबन्दीको रिहाइलाई नागरिक उन्मुक्तिले प्रमुख एजेन्डाका रूपमा उठाउँदै आएको छ । सुरुमा सरकारमा सहभागी नभएको यो दल पछि कानुन संशोधन गरेर चौधरीलाई सफाइ दिने सर्तमा सरकारमा जान तयार भएको थियो । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार