काठमाडौंः सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा संसदीय समितिको सभापति छिट्टै चयन गर्ने विषयमा सहमति भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा समितिको सभापति छिट्टै चयन गर्ने विषयलाई अविलम्ब टुङ्ग्याउन दलका शीर्ष नेताहरू सहमत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।
सभामुख घिमिरेले संसदीय गतिविधिलाई प्रभावकारी बनाउन लामो समयदेखि समितिको सभापति चयन हुन नसकेको अवस्थामा उत्पन्न परिस्थिति र विषयमा छलफल भएको र छिट्टै यो विषय टुङ्गो लगाउन शीर्ष नेताहरू सहमत हुनु भएको पनि बताउनुभयो ।
यस्तै बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री मन्त्री धनराज गुरुङले शीर्ष नेताहरुबीच संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको जानकारी दिनुभयो ।
सभामुख घिमिरेले बोलाउनु भएको छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ सहभागी हुनुहुन्थ्यो ।
प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरू छन् । गत वैशाख १५ गते प्रतिनिधि सभाका १० वटै विषयगत समिति गठन भएको थियो । ती सबै संसदीय समितिका सभापति चयन भएका छैनन् ।
राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् । जसका कारण समितिमा विभिन्न विधेयकहरू समेत अगाडी बढ्न सकेका छैनन् ।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसिमा नै तोक्दा पनि दलहरूले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनु भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया