काठमाडौंः सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विकासशील मुलुकहरूको समूह (जी २०) को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को यही असार २६ गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो जानकारी दिइन् ।
बैठकले थाइल्यान्डले आयोजना गर्ने बिमस्टेक परराष्ट्रमन्त्रीहरूको रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धान प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धान प्रतिक्विन्टल तीन हजार तीन सय ६२ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।
यस्तै नेपाल विद्युत् प्राधिकरण, चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत्गृहमा रहने संरचना निर्माण गर्नका लागि बझाङ जिल्ला तलकोट गाउँपालिका वडा नं २ र ३ स्थित करिब सात हजार तीन सय १९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने बैठकले निर्णय गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया