श्रावण ५, २०८२ सोमबार July 21, 2025

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताउनुभएको छ ।

मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप उहाँले लगाउनुभयो । “रूसका लागि हाम्रो स्वतन्त्रता र देशविरुद्धको लडाइँ मात्र होइन,” जेलेन्स्कीले बुधबार भिडियो सम्बोधनमा भन्नुभयो । “उसले विश्वव्यापी विपत्तिको विरूद्धमा लडिरहेको छ । उनीहरूलाई विश्व खाद्य बजार ध्वस्त होस् भन्ने चाहन्छन्, मूल्य सङ्कट चाहिएको छ, आपूर्तिमा अवरोध चाहिएको छ,” जेलेन्स्कीलाई उद्धृत गर्दै अल जजिराले भनेको छ ।

युक्रेनी क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह किपरलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार बुधबार बिहानै कीएभमा ड्रोन आक्रमण भएपछि ओडेसा क्षेत्रको बन्दरगाह र औद्योगिक संरचनामा क्षति पुगेको थियो । रूस र युक्रेन दुवैले मङ्गलबार एकअर्कामाथि सीमापार आक्रमण गरेको आरोप लगाएपछि यो कदम चालिएको हो ।

यसैबिच युक्रेनले बुधबार बिहान कीएभमा १० वटा ड्रोन खसालेको केही समयपछि नै आक्रमण भएको सीएनएनले जनाएको छ । कीएभ नगर सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले बुधबार बिहान एक टेलिग्राम पोस्टमा किभ माथि १० वटा ड्रोन खसालेको पुष्टि गर्नुभएको छ । राष्ट्रपति जेलेन्स्कीले आइतबार रूसमा युद्ध ‘बिस्तारै फर्कँदै गएको’ चेतावनी दिँदै यो ‘अपरिहार्य, प्राकृतिक र पूर्णतया निष्पक्ष प्रक्रिया’ भएको बताउनुभएको थियो ।

युक्रेनका राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जेलेन्स्कीले भन्नुभयो, “युद्धभूमिमा रूसी आक्रामकता दिवालिया भएको छ । रूसी नेतृत्वले एक वा दुई हप्तासम्म चल्ने अनुमान गरिएको तथाकथित ‘विशेष सैन्य अभियान’ को आज ५२२ औं दिन हो ।

युक्रेन मजबूत बन्दै गइरहेको छ । “बिस्तारै, युद्ध रूसको प्रतीकात्मक केन्द्रहरू र सैन्य आधारहरूमा फर्किरहेको छ र यो एक अपरिहार्य, प्राकृतिक र बिल्कुल निष्पक्ष प्रक्रिया हो,” उहाँले भन्नुभयो । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया