भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

लम्पीस्किन रोगको सङ्क्रमणका कारण चितवनमा दूध उत्पादन घट्यो

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशतले कमी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवन जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिए।

उनका अनुसार अघिल्लो आवमा  ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा दूध उत्पादन नौ करोड ८१ लाख ४३ हजार लिटरमा सीमित भएको छ । उहाँका अनुसार अघिल्लो आवमा दैनिक सरदर तीन लाख पाँच हजार पाँच सय ५३ लिटर दूध उत्पादन भएकोमा गत आवमा दैनिक दुई लाख ६८ हजार आठ सय ८४ लिटर दूध उत्पादन भएको छ ।

उनका अनुसार विसं २०७७ बाट सुरु भएको लम्पीस्किन रोगको सङ्क्रमणले विस्तारै दूध उत्पादनमा कमी आएको हो । रोग सङ्क्रमणभएपछि पशुले दूध उत्पादन घटाउने, गाईभैँसी मर्ने र बजारमा दूधको माग कम भएपछि किसानले पशु पाल्न कम गर्दा उत्पादन घटेको उनले बताए ।

डा आचार्यले भने, “लम्पी स्किनका कारण दूध उत्पादनमा कमी आएको छ । बजारमा दूधको माग पनि घटेको छ ।” दूध उत्पादन बढाउनका लागि जिल्लामा लम्पीस्किनविरुद्धको खोप अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । लम्पी स्किन रोग नियन्त्रणमा आएपछि विस्तारै दूध उत्पादनमा वृद्धिमा उनको विश्वास छ । उनले भने, “जाडो मौसम सुरु भएसँगै रोगको सङ्क्रमण कम हुने र दूध उत्पादनमा वृद्धि हुने अनुमान गरेका छौँ ।”

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दैनिक दूध उत्पादनमा गिरावट आएको बताए । उनले भने, “रोग लागेपछि दूध उत्पादन घट्ने र गाईभैँसी मर्ने हुँदा दूध उत्पादनमा कमी आएको छ ।”

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालन गरिएको छ । कार्यालयका अनुसार जिल्लामा हालसम्म ११ हजार चार सय ७० पशुमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । यो रोगका कारण हालसम्म जिल्लामा दुई सय ९५ गाई मरेका छन् ।

सङ्क्रमण बढ्दै गएका कारण प्रभावित क्षेत्रमा जैविक सुरक्षा अपनाउनुका साथै खोप लगाउने काम भइरहेको डा आचार्यले बताए । हालसम्म २० हजार नौ सय १२ डोज खोप पशुमा लगाइएको छ ।

अहिले प्रदेश सरकारले लम्पी स्किनविरुद्धको खोप अभियानसमेत साताव्यापी रुपमा सञ्चालन गरिरहेको बताउँदै उनले सङ्क्रमणमा केही कमी आउने विश्वास व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया