काठमाण्डौंः संयुक्त राष्ट्रसंघीय कार्यालयकी आवासीय संयोजक हाना सिंगर हाम्दीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
राष्ट्रपति पौडेल र हानाबीच संयुक्त राष्ट्रसंघ र नेपालबीचको सहकार्य, शान्ति स्थापनाका कार्य तथा दिगो विकास लक्ष्यको प्रगतिको अवस्था र लक्ष्य हासिलका लागि गति बढाउनुपर्ने विषयलगायतमा छलफल भएको थियो ।
संयुक्त राष्ट्रसंघीय कार्यालयका अनुसार नेपालको १६औँ पञ्चवर्षीय योजनामा संयुक्त राष्ट्रसंघले समावेशी आर्थिक वृद्धि, सामाजिक विकास, प्रकोप जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनलगयातका विषयमा सहयोग गर्ने विषयमा पनि छलफल भएको छ ।
संयुक्त राष्ट्रका आवासीय संयोजकले आगामी एसडीजी शिखर सम्मेलन र न्युयोर्कमा सेप्टेम्बरमा हुने शैक्षिक शिखर सम्मेलनमा शिक्षाले कसरी शान्ति प्रक्रियालाई सुदृढ गर्न मद्दत गर्न सक्छ भन्ने विषयमा नेपालका लागि सम्भाव्य नमूना प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको थियो ।
संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हानाले नेपालसँग निरन्तर सहकार्य गर्न संयुक्त राष्ट्रको प्रतिबद्धता दोहोर्याइन् ।
भेटमा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्र एजेन्सीहरूसँग पारस्परिक महत्त्वका मुख्य मुद्दाहरूमा काम गर्न नेपाल सरकारको प्रतिबद्धताको आश्वासन दिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया