असार २६, २०८२ बिहिबार July 10, 2025

सुशासन र समृद्धिको यात्रामा सरकार : प्रधानमन्त्री दाहाल

चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्ने सम्बन्धमा छलफल गरिने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुशासन र समृद्धिको यात्रामा सरकार अघि बढेको बताउनुभएको छ । समाजवादी मोर्चा, नेपालद्वारा आज गण्डकी प्रदेशको पोखरामा आयोजित प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र तहसनहस बनिरहेका अवस्थामा आफूले सरकारको नेतृत्व लिएको बताउनुभयो ।

यसबीचमा निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य बढाउँदै अर्थतन्त्रलाई सही गतिमा अघि बढाउने काम भएको प्रधानमन्त्री दाहालको दाबी छ । उहाँले रेमिट्यान्स एवं राजस्व बृद्धि, विदेशी मुद्रा सञ्चितीलगायतमा उपलब्धि हासिल भएको बताउनुभयो । अर्थतन्त्रमा अझै पनि दबाब कायम रहेको बताउँदै उहाँले बैंकको ब्याजदर, सहकारी क्षेत्रलगायतमा देखिएका समस्या क्रमशः समाधान गर्दै जाने बताउनुभयो ।

भ्रष्टाचार विरोधी अभियानलाई सरकारले निडरताका साथ अघि बढाइरहेको बताउँदै प्रधानमन्त्री दाहालले यो अभियान सानो मनले सुरु नगरिएको र दोषी छ भने जोसुकै भए पनि पर्ने स्पष्ट पार्नुभयो । भुटानी शरणार्थी, ललिता निवास प्रकरणलगायत विषयमा भइरहेका छानविन निष्कर्षतिर जाने उहाँले बताउनुभयो ।

भारत भ्रमणका क्रममा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै उहाँले भएका उपलब्धिलाई सुन्ने तथा भन्ने वातावरण पनि नदिइएको उल्लेख गर्नुभयो । आफूले चाँडै नै न्यूयोर्क र त्यसपछि चीनको भ्रमणमा जान लागेको जानकारी दिँदै उहाँले न्यूयोर्कमा जलवायु परिवर्तनबाट भएका विपत्तीलगायत विषयमा छलफल गरिने बताउनुभयो ।

चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्ने सम्बन्धमा छलफल गरिने उहाँले जानकारी दिनुभयो । उक्त भ्रमणका क्रममा कोरोला नाका र रूइला नाका खोल्ने चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

नेपालले चीनसँग सुकेको घाँस निर्यात, राँगो तथा भैँसीको मासु नियात गर्न सक्ने धेरै किसिमका सम्भावना रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाललगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुखरूपले कुरा उठाउने बताउनुभयो । जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिङ्गो विश्वको मुद्दा भएको उहाँको भनाइ छ ।

“केही दिनपछि म संयुक्त राष्ट्रसङ्घको महासभामा जाँदैछु । यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाललगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीररूपले कुरा उठाउँछु । आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिङ्गो मानवजातिको भविष्यमा नै चुनौती खडा भएको छ । यसबारे गम्भीररूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो ।

कुनै आवेगमा आएर समाजवादी मोर्चा गठन नभएको स्पष्ट पार्दै उहाँले यसले  सच्चा कम्युनिष्ट तथा लोकतन्त्रवादीलाई एकताबद्ध बनाउँदै लैजाने बताउनुभयो । विभाजित कम्युनिष्ट एक ठाउँमा केन्द्रित हुनु आवश्यक भएको उल्लेख गर्दै उहाँले समाजवादको नयाँ उद्देश्यमा पुग्नका लागि एकता आवश्यक भएको बताउनुभयो । परिवर्तनको उपलब्धिको रक्षार्थ विभाजित भएर नभै एकताबद्धरुपमा अघि बढ्नु जरुरी रहेको बताउँदै उहाँले मोर्चा प्रतिको आस्था र विश्वास बढ्दै गएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताका लागि भनेर अहिलेको परिर्वतन ल्याएकाले अब काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताउनुभयो । जनताले वर्तमान सरकारप्रति ठूलो आशा गरेकाले काम गरेर जनताको मन जित्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “जनताले अहिले ठूलो आशा गरेका छन् । जनताका लागि परिर्वतन ल्याएकाले काम गरेर देखाउनु पर्ने चूनौती छ । सरकारको हात पनि बलियो बनाउने र सरकारको साथमा जनता छन्, राजनीतिक दल पनि छन् भनेर मोर्चाको अवधारणा अघि सारेका हौँ ।” अध्यक्ष नेपालले चार दलीय मोर्चालाई सरकारसँग मात्र जोडेर हेर्न नहुने उल्लेख गर्नुभयो । उहाँले कसैले देशको राष्ट्रियता र स्वाभिमानमा आँच पुर्‍याएमा मोर्चा चुप लागेर नबस्नेसमेत दावी गर्नुभयो ।

“कसैले यो मोर्चालाई सरकारसँग मात्र जोडेका छन् । सरकारसँग मात्र जोड्ने होइन । सरकारसँग पनि जोड्ने हो, जनता र देशसँग पनि जोड्ने हो । यो मोर्चा तीन वटै क्षेत्रमा क्रियाशील हुनेछ ।” अध्यक्ष नेपालले भन्नुभयो ।

वर्तमान सरकारले निष्पक्ष ढङ्गबाट काम गरिरहेकाले सबैले साथ र सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । देशमा सुशासन कायम गर्ने सँगसँगै सरकारले देश विकासका क्षेत्रसमेतमा पहल गरिरहेको अध्यक्ष नेपालले बताउनुभयो । उहाँले मोर्चामा आवद्ध दलका नेता तथा कार्यकर्ताबीचमा प्रदेश तथा स्थानीयस्तरसमेतमा सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिबाट स्थापित उपलब्धिको रक्षाका लागि समाजवादी मोर्चा गठन भएको बताउनुभयो । पछिल्ला समयमा क्रान्तिबाट पराजित शक्ति जुरमुराउन थालेको उल्लेख गर्दै उहाँले कम्युनिष्ट आन्दोलनमा देखिएका फुटहरू समाजवादी मोर्चाका रुपमा एकताबद्ध हुँदै अघि बढ्न थालेको बताउनुभयो । पछिल्ला समयमा जनयुद्ध लडेर आएका विरुद्धमा, समाजवादी आन्दोलनका विरुद्धमा षडयन्त्र भैरहेको उहाँले बताउनुभयो ।

जनता समाजवादी नेपालका कार्यकारी सदस्य शिवलाल थापाले नेपालको आवश्यकताअनुसार समाजवादी मोर्चा गठन भएको बताउँदै यो आगामाी २०८४ को निर्वाचनका लागि मात्र नभइ पछिसम्म पनि चलिरहने बताउनुभयो । पछिल्ला समयमा सरकारले भ्रष्टाचारका फाइल खोलिरहेको बताउँदै उहाँले उक्त कार्य प्रशंसनीय भएको जिकीर गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार