कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

हाथवे इन्भेष्टमेन्टको आइपीओमा पहिलो दिन नै २ लाख ८३ हजार बढीको आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओमा २ लाख ८३ बढीको आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात भदौ २१ गते साझ ५ः०६ बजेसम्म २ लाख ८३ हजार १० जनाले ३४ करोड ९७ लाख ९२ हजार रुपैयाँ बराबरको ६९ लाख ९५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले आज भदौ २१ गतेदेखि प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनगरेको हो ।

कम्पनीको आइपीओमा न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज ४ गतेसम्म लम्बिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया