श्रावण ६, २०८२ मंगलबार July 22, 2025

चीन र रुसको प्राथमिकतामा परेन जी–२० सम्मेलन, भारतलाई झट्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सेप्टेम्बर ९ र १० मा दिल्लीमा हुने जी–२० शिखर सम्मेलनमा चीन र रुसका राष्ट्रपति उपस्थित नहुने भएका छन् ।

युक्रेनसँगको युद्धमा फसेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित हुनेछैनन् । पुटिनलाई युद्ध अपराधको विषयमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परेको छ ।

सोही कारण, पुटिन ब्रिक्स शिखर सम्मेलनमा समेत दक्षिण अफ्रिका पुगेका थिएनन् । तर, चीनका राष्ट्रपति सी जिन पिङ समेत जी–२० मा उपस्थित नहुने भएपछि भारतीय उच्च अधिकारीसहित जी–२० राष्ट्र चिन्तित बनेका छन् । उनीहरुले चीन जी–२० लाई प्रभावहीन बनाउन लागि परेको समेत बताउन थालेका छन् ।

जी २० विश्वका २० ठुला अर्थतन्त्र भएका मुलुकहरूको समूह हो । हाल यो समूहको अध्यक्षता गरिरहेको भारत वर्षको सुरुदेखि नै सम्मेलन सफल बनाउन लागि परेको थियो । यसको बाबजुद यो वर्ष भारतमा आयोजित जी २० को कुनै पनि सम्मेलनले संयुक्त वक्तव्य जारी गर्न सकेन ।

भारतले यसको दोष ची र रुसलाई दिइरहेको छ । अर्थात चीन र रुसका कारण नै भारतमा आयोजित अघिल्ला जी २० सम्मेलनले संयुक्त वक्तव्य जारी गर्न नसकेको बताइन्छ । र, यही सेप्टेम्बरमा हुने सम्मेलनमार्फत समेत साझा वक्तव्य जारी गर्न नसक्ने स्थिति देखिएको छ । चीन र रुसका राष्ट्रप्रमुखको उपस्थिति बिना संयुक्त वक्तव्य जारी गर्न सम्भव छैन ।

जसको चिन्ता भारतले मात्र नभई अमेरिकाले समेत जनाइसकेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बिले बुधबार जी २० सम्मेलनमा संयुुक्त वक्तव्य जारी गर्ने सम्भावना न्यून रहेको बताए । किर्बिले भने, ‘हामी आसा गर्छौँ कि संयुक्त वक्तव्य जारी होस । तर, हामी सबैलाई थाहा छ संयुक्त वक्तव्य जारी गर्न मुस्किल छ ।’

जी २० सम्मेलनमा सहभागी सम्पूर्ण राष्ट्रलाई मिलाएर संयुक्त वक्तव्य जारी गर्न भारत हरसम्भव प्रयासरत छ । आफ्नो अध्यक्षतामा हुने यो सम्मेलनमा भारत विश्व समुदायलाई सहमतिमा ल्याएर अब्बल साबित हुन चाहन्छ । तर, यो चाहना चीन र रुसका कारणले पूर्णतः असम्भव देखिन थालिसकेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया