काठमाण्डौंः लिबियामा आएको विनाशकारी बाढीले नदीका बाँधहरू भत्काएर पूर्वी तटीय सहरलाई तहसनहस पार्दा कम्तीमा दुई हजार ३०० व्यक्तिको मृत्यु हुनुका साथै हजारौँ बेपत्ता भएका छन् ।
लिबियामा आएको विनाशकारी बाढीले गरेको विनासबारे विश्वव्यापी चिन्ता फैलिँदै जाँदा, धेरै राष्ट्रहरूले युद्धग्रस्त देशलाई मद्दत गर्न तत्काल सहायता र उद्धार टोलीहरू पठाउने प्रस्ताव गरेका छन् । संयुक्त राष्ट्र संघका एक अधिकारीले ‘ठूलो अनुपातको विपत्ति’ भनेका छन् ।
करिब एक लाख मानिसले बसोबास गर्ने भूमध्य सागरीय तटीय सहर डेर्नामा ठूलो विनाश भएको छ । नदीकिनारमा रहेका बहुतले भवनहरू ढलेका छन् । ती घर र कारहरू पानीको उग्र बहावसँगै विलिन भएका थिए ।
आपतकालीन सेवाहरूले डेर्नामा मात्र दुई हजार ३०० भन्दा बढीको मृत्यु भएको प्रारम्भिक रिपोर्टहरूमा उल्लेख छन् । उक्त विनाशकारी बाढीका कारण पाँच हजारभन्दा बढी मानिसहरू हराइरहेको र लगभग सात हजार घाइते भएको अधिकारीहरूले बताएका छन् ।
त्रिपोलीस्थित रेस्क्यु एन्ड इमर्जेन्सी सर्भिसका ओसामा अलीले भने, ‘डेर्नाको अवस्था अकल्पनीय र डरलाग्दो छ । हामीलाई जीवन बचाउन थप सहयोगको आवश्यकता पर्नेछ । त्यहाँ अझै पनि भग्नावशेषमुनि मानिसहरू छन् र प्रत्येक मिनेटको गणनासँगै उनीहरूको जीवित वा मृत संख्यामा गणना हुनेछ ।’
ग्रिस, बुल्गेरिया र टर्कीमा आइतबार आएको आँधी ‘डेनियल’को मुसलधारे वर्षाका कारण बाढी आएको हो । बेन्गाजीबाट २५० किलोमिटर (१५० माइल) पूर्वमा पर्ने डेर्ना पहाडहरूले घेरिएको छ र गर्मी याममा सामान्यतया सुक्खा नदीको किनारमा विभाजित छ । तर, यो माटो–खैरो पानीको उग्र धारमा परिणत भएको छ, जसले धेरै प्रमुख पुलहरू पनि बगाएको छ ।
लिबियाको आपतकालीन सेवाले दिएको मृतकको संख्या रेडक्रस र पूर्वका अधिकारीहरूले प्रदान गरेको गम्भीर अनुमानसँग मिल्दोजुल्दो छ, जसले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।
‘मृत्यु हुनेको संख्या ठूलो छ र हजारौँसम्म पुग्न सक्छ,’ इन्टरनेसनल फेडेरेसन अफ रेड क्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीका तामेर रमजानले भने ।
रमजानले भने, ‘हामी हाम्रो स्वतन्त्र सूचना स्रोतबाट हराइरहेका व्यक्तिको संख्या अहिलेसम्म १० हजारभन्दा बढी भएको पुष्टि गर्दछौँ ।’
लिबियाको पूर्वी क्षेत्रमा सहायता समूह नर्वेजियन रिफ्युजी काउन्सिलले बाढीका कारण पूरै गाउँ डुबेको र मृत्यु हुनेको संख्या बढ्दै गएको जनाएको छ ।
‘लिबियाका समुदायले वर्षौंदेखि द्वन्द्व, गरिबी र विस्थापन सहनुपरेको छ । पछिल्लो विपत्तिले यी मानिसहरूका लागि स्थितिलाई अझ बिगार्नेछ । अस्पताल र आश्रयस्थलहरूको अभाव हुनेछ । (एएफपीकाे सहयाेगमा)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया