असोज १४, २०८० आइतबार October 1, 2023

२९ जिल्ला न्यायाधीशका लागि २११ परीक्षार्थी, एकजना मात्रै उत्तीर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला न्यायाधीश पदका लागि न्याय सेवा आयोगले लिएको परीक्षामा एकजना मात्रै उत्तीर्ण भएका छन् । आयोगले १६ देखि २० साउनसम्म सञ्चालन गरेको परीक्षामा खुला र आन्तरिक खुलामा दरखास्त दिएका पारसमणि पोखरेल मात्र छनोट भएका हुन् । आयोगले आइतबार सूचना जारी गर्दै पोखरेललाई अन्तर्वार्ताका लागि १ असोजको मिति दिएको छ ।

परिषद्ले आन्तरिक खुलाबाट १५ र खुलाबाट सात न्यायाधीश पदका लागि दरखास्त आह्वान गरेको थियो । यसैगरी महिला, आदिवासी/जनजाति र मधेशीबाट दुई–दुईजना माग गरेको थियो । दलितबाट भने एक पदका लागि आह्वान भएको थियो । तर, आन्तरिक खुला र खुलाबाट पोखरेल मात्र उत्तीर्ण भएका हुन् । दुई सय ११ जना परीक्षार्थी थिए । आयोगले लिने परीक्षामा उत्तीर्ण हुनेको संख्या निकै न्यून हुने गरेको छ । यसअघिका परीक्षामा पनि माग भएको संख्याभन्दा निकै कम मात्र पास हुने गरेको तथ्यांक छ । यसपटक पनि उस्तै नतिजा दोहोरिएको छ । कानुन व्यवसायीबाट न्यायाधीश नियुक्तिका लागि परीक्षा लिँदा पनि न्यून मात्रै उत्तीर्ण हुन्छन् ।

परिषद्का प्रवक्ता मानबहादुर कार्की परीक्षा प्रणालीका कारण जिल्ला न्यायाधीशमा न्यून उत्तीर्ण हुने गरेको बताउँछन् । ‘हामीले अहिलेसम्म चार–पाँचवटा परीक्षा लियौँ, सबैमा यस्तै–यस्तै नतिजा छ । परीक्षामा प्रत्येक पत्रमा ५० अंकभार ल्याए मात्र पास हुने व्यवस्था भएका कारण पनि यस्तो हुन सक्छ,’ प्रवक्ता कार्कीले भने, ‘सहसचिवको परीक्षामा त ४०–४० ल्याए उत्तीर्ण भइन्छ । तर, यहाँ हरेक पत्रमा ५० आए मात्र पास हुने व्यवस्थाले परीक्षार्थीलाई अप्ठ्यारो भएको हो कि ?’ उनले न्याय सेवा आयोग ऐनको यो व्यवस्था संशोधन गरेर ४० मा झार्न सुझाव पठाएको बताए ।

हालको पाठ्यक्रमअनुसार चारवटा विषयको परीक्षा हुन्छ । जसमा विधिशास्त्र, संवैधानिक कानुन र कानुन प्रणालीको पहिलो विषय हुन्छ । यसैगरी देवानी कानुन तथा कार्यविधिको पनि परीक्षा लिइन्छ । फौजदारी कानुन र कार्यविधि तेस्रो पत्रमा राखिएको छ । चौथो पत्रमा भने मिसल खण्ड हुन्छ ।

जिल्ला न्यायाधीशका लागि परीक्षा लिने व्यवस्था पहिलोपटक नेपालको संविधान, २०७२ मा आएको हो । पहिलोपटक २०७४ मंसिरमा ३० जना जिल्ला न्यायाधीश नियुक्तिका लागि परीक्षा लिइएकोमा १६ जना उत्तीर्ण भएको प्रवक्ता कार्कीको भनाइ छ । त्यसवेला तीन सय ७३ जना परीक्षामा सामेल भएका थिए । आजको नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया