श्रावण ७, २०८२ बुधबार July 23, 2025

अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६ सयभन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पश्चिमी अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भूकम्पमा हजारौं घाइते भएका छन् ।

शनिबार गएको ६ दशमलव ३ म्याग्निच्चुडको भूकम्पको केन्द्रबिन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा परेको थियो । त्यसपछि उत्तर–पश्चिममा केन्द्र बनाएर गएको भूकम्पपछि ५ दशमलव ५, ४ दशमलव ७ र ६ दशमलव २ म्याग्निच्युडका तीनवटा ठूला पराकम्पन गएका थिए ।

‘दुर्भाग्यवश, हताहतको संख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,’ सरकारका उपप्रवक्ता बिलाल करिमीले आइतबार एएफपीसँग भने, ‘मृत्यु हुनेको संख्या २ हजारभन्दा बढी छ, उद्धारका धेरै प्रयास भइरहेका छन्, आइतबार प्राप्त आँकडाले हताहत हुनेको संख्या यसभन्दा निकै धेरै पुग्ने अनुमान गरिएको छ ।’

जिन्दा जान जिल्लाको सर्बोल्यान्ड गाउँमा शनिबार रात परेपछि एएफपीका एक संवाददाताले भूकम्पको केन्द्रबिन्दुनजिकै दर्जनौं घरहरू भत्किएको पुष्टि गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६ सयभन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

हेरात सहरमा पहिलो भूकम्पको धक्का महसुस भएपछि त्यहाँका बासिन्दाले आफ्नो घर, विद्यालय, अस्पताल र कार्यालयहरू खाली गराएका थिए । बजार क्षेत्रमा हताहतका धेरै घटनाहरू भएको रिपोर्टहरू आएका छन् ।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि व्यापक रूपमा विदेशी सहायता फिर्ता लिएपछि अफगानिस्तान पहिलेदेखि नै गम्भीर मानवीय संकटको चपेटामा परेको छ ।

करिब १९ लाख जनसंख्या रहेको हेरात प्रान्त इरानसँगको सीमामा पर्छ । हेरातमा वर्षौं लामो खडेरीले धेरै कृषकलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ ।

युरेसियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगमनजिक रहेको हिन्दकुश पर्वत शृंखलामा रहेको अफगानिस्तानी भूभाग अक्सर भूकम्पको चपेटामा पर्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया