श्रावण ७, २०८२ बुधबार July 23, 2025

इजरायल–गाजा द्वन्द्वले मध्यपूर्वमा अमेरिकाको ‘असफलता’ देखाउँछ : पुटिन

स्वतन्त्र सार्वभौम प्यालेस्टिनी राज्यको निर्माणसम्बन्धी संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को निर्णयहरू कार्यान्वयन गर्न आवश्यक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल–गाजा द्वन्द्वले वासिङ्टनको मध्यपूर्व नीतिको ‘असफलता’ देखाएको भन्दै ‘स्वतन्त्र सार्वभौम प्यालेस्टिनी राष्ट्र’ को निर्माण ‘आवश्यकता’ भएको बताउनुभएको छ ।

हमासले इजरायलमाथि अकस्मात व्यापक आक्रमण गरेको केही दिनपछि मस्कोमा इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँगको भेटमा रूसी नेताले उक्त टिप्पणी गर्नुभएको हो ।

पुटिनले भन्नुभयो, “धेरै मानिसहरू मसँग सहमत हुनेछन् भन्ने मलाई लाग्छ । यो मध्यपूर्वमा अमेरिकी राजनीतिको असफलताको स्पष्ट उदाहरण हो ।”

उहाँले स्वतन्त्र सार्वभौम प्यालेस्टिनी राज्यको निर्माणसम्बन्धी संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को निर्णयहरू कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।

पुटिनले भन्नुभयो, “अमेरिकाले द्वन्द्वलाई नियमन गर्ने (द्वन्द्व) मा एकाधिकार जमाउने प्रयास गरेको छ तर दुर्भाग्यवश, दुवै पक्षलाई स्वीकार्य हुने गरी सम्झौताको खोजीमा व्यस्त छैन ।”

उहाँले भन्नुभयो, “पश्चिमा मुलुकले प्यालेस्टिनी जनताको आधारभूत हितलाई ध्यानमा राखेको छैन ।”

एक दिनअघि रूसी विदेशमन्त्री सर्गेई लाभरोभले प्यालेस्टिनी राज्यको निर्माण इजरायलमा शान्तिका लागि ‘सबैभन्दा भरपर्दो’ समाधान भएको बताउनुभएको थियो ।

इजरायलमाथि हमासले आक्रमण गर्नुअघि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको मस्को भ्रमणको तयारी भइरहेको क्रेमलिनले जनाएको छ ।

मस्कोले अमेरिकाले आफ्नो सहयोगी इजरायलसँग युद्धपोत सारेपछि कुनै विदेशी खेलाडी द्वन्द्वमा प्रवेश गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया