काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानव सेवा आश्रमले आजदेखि सुरु गरेको मेची महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मेची महाकाली उद्धार अभियानमा सरिक आश्रमका अभियन्ताहरूलाई बिदाई गर्नुहुँदै प्रधानमन्त्री दाहालले यो अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्वपूर्ण विषय भएको बताउनुभयो ।
राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभई समाजसेवा झन बढी महत्वपूर्ण रहेको अनुभूति गर्ने अवसर यो कार्यक्रमले आफूलाई दिएको उल्लेख गर्दै उहाँले आश्रमको महत्त्व थाहा पाएसँगै सरकारका तर्फबाट सहयोग गर्ने बताउनुभयो ।
उहाँले मेची महाकाली यात्रा पूर्ण सफलताको शुभकामना पनि दिनुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अत्यन्तै कठिन अवस्थामा रहेका दाजुभाइ, दिदीबहिनी, आमाबुबा र बालबालिकालाई आश्रमले संरक्षण गरिरहेकोमा प्रशंसा गर्नुभयो ।
मुलुकभित्र जति पनि सकारात्मक काम भइरहेका छन् ती सबैलाई जोडेर सामाजिक, आर्थिक रूपान्तरणसहित उन्नतशील राष्ट्र बनाउने अभियानमा सरकारले जोड दिइरहेको उहाँको भनाइ थियो । उक्त अभियान सफल बनाउन सरकारको सहयोग रहने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडीले) आश्रमले गरेको पुण्य कामको शब्दमा बयान गर्न नसकिने बताउनुभयो ।
सो क्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले देशका १९ जिल्लाका २४ शाखामा हाल एक हजार छ सय सहयोगापेक्षी आश्रित रहेको जानकारी दिनुभयो । आज प्रधानमन्त्री कार्यालयबाट बिदाइ भएका मेची महाकाली उद्धार अभियानमा सहभागी ३८ जना अभियन्ताले भोलि मेची पुलबाट उद्धार थाल्ने उहाँले जानकारी दिनुभयो ।
कूल ३८ दिनसम्ममा तीन सयभन्दा बढी सडक आश्रित मानवलाई उद्धार गर्ने योजना छ । यसअघि पनि आश्रमले मेची महाकाली अभियान चलाइसकेको छ । आश्रमले विसं २०८२ सम्म देशलाई नै सडक मानवमुक्त बनाउने सङ्कल्प लिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया