काठमाण्डौंः गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ। अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो।
कोभिडको समयमा अक्सिजनको अभावलाई मध्यनजर गर्दै दीर्घकालीन समाधानका लागि बिरामीको चाप रहेको भरतपुर अस्पतालमा प्लान्ट स्थापना गरिएको एनआरएनएका महासचिव पौडेलले बताए। एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजनाअनुरुप बागमती प्रदेशमा केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पताललाई छनोट गरेको उनको भनाइ थियो।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले गैरआवासीय नेपाली सङ्घले अस्पतालप्रति देखाएको चिन्ता र सद्भावका लागि आभार व्यक्त गरे। ‘अस्पतालमा हाल दैनिक प्लान्टबाट एक सय ७५ सिलिन्डर अक्सिजन उत्पादन भइराखेको छ, उनले भने, ‘यसअघि ५० देखि ७० सिलिन्डर बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता रहे पनि प्लान्ट सञ्चालनमा आएसँगै परनिर्भरता अन्त्य भएको छ।’
अक्सिजन आफैँ उत्पादन गर्न थालेपछि दैनिक रू ६१ हजार बचत भएको अस्पतालले जनाएको छ। अहिले नयाँ प्लान्ट मात्र सञ्चालन गरिएको छ। पुरानो प्लान्टबाट पनि उत्पादन गरेर अक्सिजन बिक्री गर्न सकिने अवस्थामा अस्पताल पुगेको छ। अस्पतालमा अब लिक्विडसहित तीन अक्सिजन प्लान्ट रहेका छन्। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया