असार २२, २०८२ आइतबार July 6, 2025

‘ओलीजी सत्तादेखि सत्तासम्म र चुनावदेखि चुनावसम्मका लागि चलखेलमात्रै गर्नुहुन्छ’ : नेकपा एसका महासचिव, घनश्याम भुसाल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

– मेची-महाकाली जागरणअन्तर्गत देशभरि भ्रमण गर्दा आफ्ना नेता कार्यकर्ता र आमनागरिकहरुमा उत्साह बढी पाउनु भयो कि निराशा ?

समाजमा घोर निराशा छ । यसले असाधारण प्रश्नहरू उठेका छन् । त्यो कुरा राजनीतिमा पनि देखिएको छ । स्वयं अरू पार्टीहरूमा पनि मैले भयङ्कर समस्या देख्छु ।

पार्टीको हिसाबले ठूलो नेकपा एमालेमा राजनैतिक मुद्दामा कहीं छलफल भएन । तामझामका साथ प्रदेश अधिवेशनहरू भए । त्यसमा केवल कुन गुटका मान्छे आउँछ कि आउँदैन भन्नेमात्रै भयो । कता जानुपर्ने हो भन्ने कुरा छैन । सामान्यतया कांग्रेस सत्तामा हुँदा सन्तुष्ट हुने पार्टी हो । तर, कांग्रेसका समर्थक र जनतामा म उकुसमुकुस देख्छु ।

हाम्रो पार्टीभित्र एउटा सन्नटो धेरै ठूलो थियो । चुनावपछि हामी अप्ठेरोमा परेका थियौं । राष्ट्रिय पार्टी नबन्दा केही व्यक्तिहरूमा निराशा देखिएको थियो । एजेन्डा छैन भन्ने थियो । अहिले त्यो समस्या हल भएको छ । त्यसले गर्दा कोरा कार्यकर्ताहरूमा उत्साह जगाएको छ । हामी सम्बद्ध जनमतमा पनि अब केही हुन्छ कि भन्ने आशा जगाएको छ । सबै उत्साहित भएर पूरै हामी संगठित भएर लागेका छौं भनेर म भन्दिनँ । तर, त्यसले केही आशा भने जगाएको छ ।

– समाजमा निराशा छाइरहेको छ । तर, पार्टीहरु मिसन ८४ भन्दै आआफ्नो दाबी पेश गरिरहेका छन् । यस्तो अवस्थामा आगामी निर्वाचन दलहरुका लागि सहज छ त ?

धेरै कुरा हाम्रो जस्तो मुलुकको चारपाँच वर्षपछिको ठ्याक्कै भन्न गाह्रो हुन्छ । तर, म सामान्यतया के अनुमान गर्छु भने वाम लोकतान्त्रिक स्थिरताका साथ मुलुकले अगाडि जाने बाटो देखिएन भने अहिले भूराजनीति र यसको बढ्दो तनावले हामी धेरै अप्ठेरोमा जान सक्छौं । म त सधैंभरि के भन्छु भने वामहरू एक ठाउँमा उभिनुपर्छ र लोकतान्त्रिक भन्ने कांग्रेस लगायतका शक्तिहरू पनि एक ठाउँमा उभिनुपर्छ । त्यसरी एउटा वाम-लोकतान्त्रिक भविष्य सुनिश्चित गरिनुपर्छ ।

– तपाईंहरू वाम शक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्नुहुन्छ । तर, वाम पार्टीहरूले एकले अर्कोको अस्तित्व स्वीकार गर्नसक्ने अवस्था छैन । कोशीमा एमालेले विद्रोही कांग्रेससँग मिल्नुपर्ने अवस्था आयो । तपाईंहरुले भनेको वाम शक्ति त त्यहाँ देखिन सक्थ्यो नि ? किन त्यो भूमिकामा पार्टीलाई लैजान सक्नुभएन ?

वाम एक ठाउँमा उभिनुपर्छ भन्नुको अर्थ अहिले हामी यो गठबन्धन तोड्न चाहन्नौं । अहिले हामी त्यहाँ उभिने भनेको यो गठबन्धन टुट्ने हो र अर्काे प्रक्रिया सुरु हुने हो । हामीलाई विश्वास के हो भने नेकपा एमालेमा ओलीजी र उहाँको गुट प्रभावी रहेसम्म त्यसको राजनीति भनेको चलखेलको मात्रै हुन्छ । त्यहाँ विचारको राजनीति सिद्धान्त र भरपर्दो विश्वासको आधारमा हुँदैन । सँगै सुत्नसक्ने अवस्था नै हुँदैन ।

ओलीजीसँग सँगै सुतेर बिहान राजनीतिक रुपले उठ्न पाइन्छ कि पाइँदैन भन्नेमा जहिलेसुकै, जोसुकै सन्त्रासमा रहन्छन् । त्यसले गर्दा उहाँ दिशाविहीन हुनुहुन्छ । ओलीजी सत्तादेखि सत्तासम्म र चुनावदेखि चुनावसम्मका लागि चलखेलमात्रै गर्नुहुन्छ । यो कारणले गर्दा एमालेसँग त्यो प्रकारको औपचारिक गठबन्धनको सम्भावना मैले देख्दिनँ ।

– वाम तालमेलको विषयमा सबै कम्युनिष्ट नेताहरू गम्भीर देखिन्छन् । तर, सबैलाई सबैका कुनै न कुनै नीति चित्त बुझेको देखिँदैन । यहाँ नीतिमा समस्या छ कि नेतृत्वमा ?

समस्या नीतिहीन नेतृत्वमा हो । किनभने कोही पनि मान्छेलाई यसै राम्रो वा नराम्रो भन्न सक्दैनौं । आजको नीति तथा एजेन्डा के कस्ता छन् भनेर हेर्ने हो ।

– तपाईंहरूको पार्टीभित्र पनि व्यापक गुटबन्दी भइरहेको छ नि ? जागरण अभियानमै पनि रामकुमारी झाँक्री, नरेन्द्र चौधरीलगायत केही नेताहरूलाई बोल्न नदिएको आरोप छ !

यस्तो छ, यो गुटबन्दीको कुनै प्रश्न नै होइन । कसले कहाँ बोल्दा अलि उपयुक्त हुन्छ भनेरमात्रै हो । अर्काे कुरा, एजेन्डा बोल्दा कतिपय केही व्यक्तिहरू दोहोरिनुभएको हुनसक्छ । नत्रभने हामीले त्यस्तो कसैलाई विभेद गरेका छैनौं ।

– पार्टी स्थापनाको दुई वर्षमै १०औं महाधिवेशन गर्दै हुनुहुन्छ । नयाँ पुस्ताले नेतृत्व पाउने सम्भावना छ कि अहिलेकै नेतृत्वलाई फेरि ल्याउने ?

नेतृत्व कस्तो हुनुपर्छ, कति बढेको हुनुपर्छ भन्ने कुरामा मेरो कहिल्यै पनि लगाव थिएन । मेरो लगाव त आजको आवश्यकतालाई सम्बोधन गर्ने कार्यक्रम नेतृत्वसँग छ कि छैन भन्ने सबैभन्दा ठूलो कुरा हो ।

आज हाम्रो महाधिवेशनमा को नेता हुन्छ भनेर कुरा गर्ने बेला नै होइन भन्छु म । अहिले हामी हाम्रो एजेण्डालाई स्थापित गर्ने पक्षमा छौं । मुलुककै लागि हाम्रो पार्टीले उठाएका एजेन्डाहरू महत्त्वपूर्ण छन् । पहिलो, हामी एजेन्डामा छलफल गरौं । त्यसले नै भोलिको हाम्रो नेतृत्व बनाउँछौं ।

– तपाईंहरू गठबन्धन बलियो बनाउने भन्दै गर्नुहुन्छ । उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्थानीय प्रशासनलाई पनि जानकारी नगराएरै नेपाली भूमिमा घुमिरहेका छन् । सरकारले कुनै चासो दिएको छैन । सरकार यति निरीह भएको हो ?

यो नालायकी हो । सरकारमात्र होइन, यो विषयमा कोही पनि नबोल्नु विडम्बना हो । यो हामीमाथि २०७२ सालमा लगाइएको नाकाबन्दीको तातो नेपालीको धड्कनमा कति छ छैन भनेर छाम्न आएको हो । यद्यपि यहाँको सत्ता पक्ष र प्रतिपक्षको चलखेलको राजनीति सबै कुराले गर्दा अलमल गरेको हुनसक्छ । यस्ता मुद्दामा मुलुक एक ठाउँमा उभिन्छ । यसको प्रतिवाद हुन्छ भन्ने म विश्वास गर्छु । नेपाल प्रेस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार