भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

प्रति १० ग्राम दुई हजारले बढ्यो सुनको मूल्य, तोलाको १ लाख १५ हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं :  इजरायल-प्यालेष्टाइन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ। विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ ।

नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम रु ९६ हजार आठ सय ८० रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आज शुक्रबार प्रति १० ग्राम रु ९९ हजार २५ मा पुगेको छ । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम रु दुई  हजार एक सय ४५ ले बढी हो ।

दुई साता अघिसम्म निरन्तर बढेको सुनको मूल्य त्यसयता अमेरिकी डलरको विनिमय दर लगभग स्थिर बन्दै गए पछि केही दिन घटेको थियो । द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा समेत उतारचढाव आई त्यसको प्रभाव सुनको मूल्यमा समेत पर्नसक्ने विश्लेषकको अनुमान छ ।

यस्तै यस साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन रु एक हजार एक सय ९२ मा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन आज शुक्रबार प्रति १० ग्राम रु एक  हजार दुई सय पुगेको छ ।

तोलाको हिसाब गर्दा शुक्रबार एकै दिन १८ सय बढेर १ लाख १५ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया