असार २६, २०८२ बिहिबार July 10, 2025

नेपाल संवत्‌लाई सरकारको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री

नेपाल संवत्‌ ११४४ आउँदै गरेको उल्लेख गर्दै अब राष्ट्रिय संवत्‌ भनेर मात्रै नपुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्‌लाई सरकारको दस्ताबेजमा लेख्ने घोषणा गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित पद्मरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल संवत्‌ नै राष्ट्रिय संवत्‌ भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताएका हुन् ।

उनले नेपाल संवत्‌ ११४४ आउँदै गरेको उल्लेख गर्दै अब राष्ट्रिय संवत्‌ भनेर मात्रै नपुग्ने उल्लेख गरे। प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌का रूपमा मान्यता दिएकोसमेत बताए ।

‘पद्मरत्नजीले नै मलाई भन्नुभयो कि नेपाल संवत नै राष्ट्रिय संवत हो । त्यसपछि मैले पहिलो पटक नै प्रधानमन्त्री हुँदा क्याबिनेटबाट नै नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिएँ । र त्यो घोषणा पनि पद्मरत्नजीसँगै बसेर गरिएको हो ।

अहिले अब नेपाल संवत ११४४ आउँदैछ । मसँग अस्ति केही प्रतिनिधि आउनुभयो र यही नेपाल संवतबारे कुरा गर्दा भनेको छु, अब नेपाल संवत् राष्ट्रिय संवत् भनेर मात्रै भएन । त्यसलाई व्यवहारमा कार्यान्वयन पनि गर्नुपर्‍यो । अब मेरै भागमा परेको छ, सायद अब त्यो राष्ट्रिय संवत् नेपाल सरकारको दस्ताबेजमा लेखिन्छ,’ उनले भने ।

फरक प्रसंगमा प्रधानमन्त्री दाहालले अहिले विभिन्न कोणबाट लामो संघर्ष र बलिदानबाट प्राप्त भएका गणतन्त्र र लोकतन्त्रमाथि एकथरिले प्रश्न उठाउने दुस्साहस गरेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया