श्रावण ७, २०८२ बुधबार July 23, 2025

‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा

त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को सेवालाई स्थानीय तहसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । त्रिवि शिक्षण अस्पताल, क्लिनिकल फर्माकोलोजी विभागद्वारा आज यहाँ आयोजित ‘पोइजन इन्फरमेसन सेन्टर’ को शुभारम्भ गर्नुहुँदै उहाँले शिक्षण अस्पतालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको छ भन्नुभयो ।

“यो सेन्टरले विष सेवनका कारण उपचारमा आउने गरेका समस्यालाई निराकरण गर्न टेलिमेडिसिनकै काम गर्ने छ । शिक्षण अस्पतालले उपलब्ध गराएको सम्पर्क नं सबै वडास्तरमा उपलब्ध गराई तत्काल सेवा सञ्चालन हुन्छ”, मन्त्री बस्नेतले भन्नुभयो । कार्यक्रममा डा राकेश घिमिरेले नेपालमा वर्सेनी ६ हजार नौ सय ३३ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै ती मध्ये १८ देखि २० प्रतिशतसम्म विष सेवन गरेर हुने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा डा रामु खरेलले सूचना केन्द्रले धेरै मानिसको ज्यान बचाउन सकिने बताउनुभयो । केन्द्रका अनुसन्धान तथा नीति सहप्राध्यापक डा प्रदीप ज्ञवालीले मुलुकको भूगोलअनुसार समस्या पहिचान गरी सेवा विस्तार गर्न सकिने बताउनुभयो ।

शिक्षण अस्पतालको क्लिनिकल फर्माकोलोजी विभागले उक्त ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो । विष सेवन गरेकाको उपचारलाई प्रभावकारी बनाएर उनीहरूको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञहरूमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउने छ ।  विष सेवनपछिको उपचारका विषयमा जानकारी लिनुपरेमा ०१–४५०२०११ मा फोन गर्न सकिने विभागले जनाएको छ । विष सेवन पछिको उपचारका विषयमा जानकारी दिन संस्थागत रुपमा स्थापना गरिएको यो नेपालको पहिलो सेन्टर भएको जनाइएको छ  । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया