श्रावण १२, २०८१ शनिबार July 27, 2024

एनसेल प्रकरणको छानबिनका लागि सशक्त खबरदारी आवश्यक : गगन थापा

कानुनको छिद्र दुरुपयोग गरेर खरिदबिक्री गरेको प्रस्ट देखिएको भन्दै यसमा बदनियत रहेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेल खरिद बिक्री प्रकरणको छानबिनका लागि सशक्त खबरदारी आवश्यक रहेको बताएका छन् । एनसेलको खरिद बिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा ठुलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिने उनले बताए ।

सामाजिक सञ्चालनमा उनले लेखेका छन्, ‘तत्कालै यो प्रकरणमा विभिन्न तहबाट प्रश्न उठेकै छन्। संसदीय समितिमा, गठबन्धन दलका बैठकमा, पार्टीभित्र बाहिर सबैतिर। सरकारले समिति बनाएको छ भने सार्वजनिक लेखा समितिले “समग्र प्रक्रियामा अनुसन्धान गर्नुपर्ने देखिएकाले त्यो पूरा नहुन्जेल शेयर बिक्रीको प्रक्रियालाई रोक्न निर्देशन” दिएको छ। तर, समिति बन्यो सबै ठिक हुन्छ भन्ने अवस्था छैन ।’

कानुनको छिद्र दुरुपयोग गरेर खरिदबिक्री गरेको प्रस्ट देखिएको भन्दै यसमा बदनियत रहेको उनको भनाइ छ । ‘किनकि पहिला पनि पटक पटक यस्तो गरेका दृष्टान्त छन्। राजनीतिक र प्रशासनिक नेतृत्व मध्ये कसैको साथ र आश्वासन नपाईकन यत्रो अनियमितताको हिम्मत आउँदैन। जसको आडमा यो भएको छ र जो प्रत्यक्ष परोक्ष संलग्न छन् अहिले हुने छानबिन प्रभावित गर्न उनीहरू लाग्ने नै छन्,’ उनी भन्छन् ।

एनसेल प्रकरणको छानबिन प्रभावित पार्न खोज्नेहरूलाई असफल बनाउने सबैले प्रतिरोध गर्नुपर्ने महामन्त्री थापाले बताए । ‘यो प्रकरणमा जो जहाँ बसेर प्रतिरोध गरिरहेका छौँ, हाम्रो प्रयासलाई एकीकृत बनाउने हो, जसरी विगतमा प्रतिरोध गरेका थियौँ, कोहीले सरकार भित्रैबाट कोहीले संसदमा, कोहीले सडकबाट,’ उनले भने ।

एनसेल प्रकरणमा छानबिन समिति बनाउने र सामसुम पार्न नदिन हर क्षण सचेत र चनाखो हुनु जरुरी रहेको उनले बताए । ‘हरेक पटक अनेकन भ्रष्टाचार र आर्थिक अनियमितताका काण्ड सार्वजनिक हुन्छन्, दबाब हुन्छ, छानबिनको प्रयास हुन्छ अनि विभिन्न दृश्य अदृश्य साँठगाँठमा प्रकरणलाई सामसुम पार्ने प्रयास हुन्छ। यस्तो हुन नदिन निरन्तर खबरदारी गरौँ,’ महामन्त्री थापाले भने ।

यस्तै यो प्रकरणमा जोसुकै, जुनसुकै तह, ओहदा, र पार्टीको जस्तोसुकै प्रभावशाली व्यक्ति संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । ‘नेता–नाता, सरकारी–गैरसरकारी कसैले छुट पाउनु हुँदैन । साथै यो सँगै कुनै व्यक्ति, संस्था वा समूहको स्वार्थ अनुकूल नीतिगत भ्रष्टाचारका लागि कहीँ कतैबाट ठाउँ बनाउन खोजिएको छ भने त्यसलाई रोक्नुपर्छ,’ उनी भन्छन्, ‘अझै सशक्त ढङ्गबाट प्रतिवाद जरुरी छ, नागरिक स्तरबाट, सञ्चार माध्यमबाट, दलहरूभित्रबाट, सरकार भित्रैबाट र सांसदबाट। अतः सबै तिरबाट अझै सङ्गठित र सामूहिक रूपमा प्रतिवाद गरौँ।’

यो प्रकरणसँग जोडिएर नेपालमा हुने प्रत्यक्ष वैदेशिक लगानी तथा अन्य लगानीको वातावरणलाई प्रभावित पार्ने र आरोप लगाउने विषय गम्भीर रहेको भन्दै नेपाल सरकारले प्रस्ट गर्नुपर्ने उनले बताए ।

‘पुनः आग्रह छ–समिति मात्र बनाएर प्रकरण फासफुस पार्ने र मिलेमतोमा टुङ्गाउने प्रयास कहीँ कतैबाट नहोस्। सुन काण्डदेखि भुटानी शरणार्थी काण्डसम्म पर्दाभित्र दलका शीर्षहरूबिच जे जस्ता मिलेमतोका प्रयास भए यो प्रकरणमा त्यस्तो हुन नदिन सरकारभित्र, दलहरूभित्र र बाहिर अझै सशक्त ढङ्गले खबरदारी गरौँ,’ महामन्त्री थापाले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार