असार २५, २०८२ बुधबार July 9, 2025

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गरी मानवअधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताउनुभएको छ ।

७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले जातीय, क्षेत्रीय, लैङ्गिक तथा परम्परागत विभेद्का कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाइ मानवअधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गरी मानवअधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सरकारले नेपाल पक्ष भएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले केही बडापत्रमा आधारित र सन्धिजनित समितिमा पेस हुन बाँकी आवधिक प्रतिवेदन साथै विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन समयमा नै पेस हुनेमा सरकार दृढ रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले मानवअधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानवअधिकारको खबरदारी गर्ने मानवअधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक नियोगलगायत सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया