फागुण १३, २०८० आइतबार February 25, 2024

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मकवानपुरमा रु एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।

तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए । प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए । फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन् । तीनैजना आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

प्रहरी उपरीक्षक रिजालका अनुसार पक्राउ परेको समूहले सूर्यप्रसादको घरमा पाँच राउण्ड गोली प्रहार गरेको थियो । घटनाको मुख्य योजनाकार निश्चल रहेको उहाँले बताउनुभयो । “निश्चलले नै सूर्यप्रसादको घरमा गोली हान्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक रिजालले भन्नुभयो । उनीहरुले चलाएको गोलीबाट मानवीय क्षति भने भएको छैन । “फिरौती रकम माग्न तर्साउने उद्देश्यले घरको भित्तामा गोली हानेको पाइएको छ”, उहाँले भन्नुभयो– “फिरौती नदिए जे पनि हुनसक्छ भनेर आरोपितहरुले फोनबाट धम्की दिएको खुलेको छ ।”

प्रहरीले योजनाकार निश्चलको साथबाट पेस्तोलसहित २० थान गोली बरामद गरेको छ । आरोपितहरुले हेटौँडा–४ मा कोठा भाडामा लिएर लागुऔषधको कारोबारसमेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले तीनैजनाको साथबाट दुई मोटरसाइकल, दुई ग्राम खैरो हिरोइन, पाँच थान मोबाइल र रु ५० हजार बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया