श्रावण ६, २०८२ मंगलबार July 22, 2025

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

दैनिकजसो सरदर ३०–४० जना श्वासप्रश्वासका बिरामी उपचारका लागि बर्दिबास अस्पताल आउने गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिसो बढेसँगै महोत्तरीमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढेका छन् । एक्कासी चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारी बताउनुभयो । अहिले दैनिकजसो सरदर ३०–४० जना श्वासप्रश्वासका बिरामी उपचारका लागि बर्दिबास अस्पताल आउने गरेको उहाँले जानकारी दिनुभयो ।

“यो बितेको सातादेखि नै अस्पतालमा बिरामी बढेका छन्, अहिलेका बिरामीमा श्वासप्रश्वास र हाडजोर्नी दुख्ने समस्याका बढी भेटिएका छन्”, उहाँले भन्नुभयो, “खासमा बढ्दो चिसोमा आवश्यक सावधानी र सम्भार नअपनाइँदा बिरामी बढ्ने गरेका हुन् ।” यस्ता बिरामीमा ग्रामीण बस्तीका वृद्धवृद्धा र महिला बढी रहेका जनाइएको छ ।

मौसमअनुसार खानपान अन्य आहारव्यहारमा ध्यान नदिँदा श्वासप्रश्वास, हाडजोर्नी दुख्ने र आँखाका बिरामी बढेका अस्पतालका मेडिकल अधिकृत डा चन्द्रमणि खत्री बताउनुभयो । जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर जिल्ला अस्पताल, गौशाला र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्यचौकी र अन्य निजीस्तरमा सञ्चालित अस्पतालमा पनि श्वासप्रश्वास र आँखाका बिरामी आउने क्रम बढेको छ । जिल्लाका सबैजसो मुख्य सडकमा उड्ने धुलो, जाडो छल्न प्लाष्टिक, भिजेका पतिङ्गर, पुराना टायर र फोहर लुगामा आगो सल्काएर तापिने ‘घुर’को धुँवाले श्वासप्रश्वास र आँखाको समस्या बढाएको स्वास्थ्य कार्यालय महोत्तरीका निमित्त प्रमुख सुनिता गुप्ताले जानकारी दिनुभयो । जिल्लाको मध्य र दक्षिणी भेगमा यस्तो समस्या दलित र गरिबका झुपरबस्ती (पराले झुप्राका बस्ती)मा बढी देखिएको उहाँकोे भनाइ छ ।

चिसो बढेसँगै धुलो र धुँवाका कारण बढेको स्वास्थ्य समस्या आहारव्यवहारबाट नियन्त्रण गर्न सकिने चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । “हेर्नुहोस्, घरबाट निस्कनासाथ जताततै धुलो उडिरहेको देखिन्छ, तर आम नागरिक मास्क लगाउने गर्दैनन्”,स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले भन्नुभयो, “यसले गर्दा श्वासप्रश्वाससँगै जटिल स्वास्थ्य समस्या बढ्ने गर्छन् ।” आहार, निद्रा, आन्तरिक र बाह्य सरसफाइ, श्रम तथा मौसमअनुसार लवाइ सन्तुलित गरे हम्मेसी कुनै स्वास्थ्य समस्या नआउने उहाँको भनाइ छ ।

यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहारसम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, बिहान–बेलुका अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने स्वास्थ्य कार्यालय प्रमुख गुप्ताले बताउनुभयो ।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा बिहान–बेलुका जाडो छल्ने उपायका लागि काम गर्न स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् । “क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीय तहको नेतृत्व चनाखो हुनपर्छ”, प्रयास महोत्तरीका अध्यक्ष प्रवीण कर्णले भन्नुभयो, “अहिलेको तदारुकताले पछि अप्ठ्यारो बेला व्यवस्थापन गर्न सजिलो हुन्छ ।”

मङ्सिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने अड्कलले गरिब बस्तीमा चिन्ता बढेको छ । यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार
फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
२०८२ श्रावण ६, मंगलबार
फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली
२०८२ श्रावण ६, मंगलबार