काठमाण्डौः राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ ओटा दल दर्ता भएका छन्। आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको ५ दिनको समयसीमाअनुसार अन्तिम दिन आज शुक्रवारसम्म १२ ओटा दलले दल दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
उनका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी‚ जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन्।
नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा‚ नेपाल समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि आयोगमा दल दर्ता गरेका छन्। प्रवक्ता पौडेलले आगामी सोमवार अन्तिम नामावली सूची प्रकाशन गरिने बताउँदै अब दल दर्ता हुन नसक्ने प्रष्ट पारेका छन्।
आयोगले दल दर्ताका लागि विभिन्न दलले दिएको निवेदनउपर छानबिन गरेका दलहरुको अन्तिम सूची सार्वजनिक गर्नेछ। आयोगमा दर्ता भएका १२ ओटा दल विधिपूर्वक आएका छन् कि छैनन‚ कानुनबमोजिम योग्य छन् कि छैनन् छानबिन गरेर अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया