काठमाडौंः चीनको गान्सु प्रान्तमा शक्तिशाली भूकम्प जाँदा एक सय ११ जनाको मृत्यु भएको छ ।
सोमबार राति गएको भूकम्पमा परी २ सय २० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुका साथै किंघाई प्रान्तका समेत दर्जनौँ घरहरु भत्किएका छन् ।
अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस) ले ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले भने गान्सु प्रान्त र किंघाईसँगको सीमा क्षेत्रमा ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्पका कारण गान्सुमा एक सय र किंघाईमा ११ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ । उक्त क्षेत्रका थुप्रै घरहरुमा क्षति पुगेको छ भने खानेपानी, विद्युत, यातायात तथा सञ्चार सेवासमेत प्रभावित भएको छ ।
भूकम्प गएलगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार कार्यमा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया