काठमाण्डौंः विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर सुन तस्करी गर्ने पछिल्लो समूहको यसअघि पक्राउ परेको चिनियाँ गिरोहसँग पनि सम्बन्ध रहेको भेटिएको छ ।
गत २१ मंसिरमा बरामद भएको १४ किलो सुन तस्करी गर्ने समूहका व्यक्तिहरूको वर्षौँदेखि तस्करी गर्दै आएकोलगायतका अन्य समूहसँग सम्पर्क देखिएको हो ।
दुबईबाट १४ किलो सुन लिएर आएका चन्द्र घलेमाथि अनुसन्धान गर्ने क्रममा सो समूहको विगतदेखि नै विमानस्थलबाट सुन तस्करी गर्ने अन्य समूहसँग सम्पर्क देखिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
सो प्रकरणमा १० जनालाई पक्राउ गरी अनुसन्धान गर्दा माथिल्लो तहमा डिबी गुरुङ र जोन भन्ने जीवन गुरुङको संलग्नता खुलेको हो । फरार रहेका उनीहरू दुवैजनाको यसअघि सवारीसाधनका पार्टपुर्जामा लुकाएर हङकङबाट सुन तस्करी गर्ने गिरोहसँग पनि सम्पर्क पुष्टि भएको थियो ।
दावा छिरिङलगायतको सो गिरोहसँग उनीहरूको सम्पर्क देखिएपछि पर्याप्त प्रमाण नपुगेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कागज गरेर छाडेको थियो ।
पछिल्लो घटनामा भने प्रस्ट प्रमाण भएपछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सुन बरामद भएदेखि नै दुवैजना फरार छन् । सो गिरोहले वर्षाैँदेखि सुन तस्करी गरेको अनुसन्धानमा खुले पनि विस्तृत अनुसन्धान हुन नसक्दा यसमा संलग्न थप उच्च तहका व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन ।
१४ केजी सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले अनुसन्धान पूरा गरी मुद्दा चलाउने तयारी गरिसकेको छ । संगठित अपराधको कसुरमा प्रहरीबाट विस्तृत अनुसन्धान हुन नसक्दा यसमा मुख्य व्यक्तिहरूले उन्मुक्ति पाउने सम्भावना छ ।
पछिल्लो गिरोहका नाइके दनबहादुर (डिबी) गुरुङको काठमाडौंको बानियाँटार सूर्यदर्शन हाइटमा रहेको घरमै तस्करीको सुन स्टोर हुने गर्दथ्यो । त्यो सुन जीवन गुरुङले विभिन्न व्यापारीलाई बिक्री गर्थे । दुवैजना फरार हुँदा तस्करीको अनुसन्धान नै अपूरो हुने भएको छ । नयाँपत्रिकाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया