असार २२, २०८२ आइतबार July 6, 2025

०८४ अगाडि नै नेपालको राजनीतिमा ठुल्ठूला हेरफेर हुने सम्भावना छ : नेकपा महासचिव, नेत्रविक्रम चन्द विप्लव (अन्तवार्ता)

जनताले अवसर दिऊन्, हामी काम गरेर देखाउँछौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चारदलीय समाजवादी मोर्चाका तीन दल संसद् र सरकार दुवैमा छन्, एउटा दल तपाईंहरू संसदीय राजनीतिबाहिर हुनुहुन्छ । एउटै मोर्चामा कसरी अटाउनुभयो ?

हामीले नेपालको राजनीतिक परिस्थितिलाई आधार बनाएका छौँ । नेपालको राजनीति अहिले सामान्य ठाउँमा छैन, जटिल छ । त्यसलाई निकास दिन नयाँ सहकार्य चाहिन्छ । अर्कोतर्फ, नेपालमा राजनीतिक अन्तरविरोध नयाँ ठाउँमा पुगेको छ । खासगरी नेपालको सार्वभौमिकता, स्वाधीनतामाथि ठूलो संकट पैदा हुन थालेको छ । विदेशीहरूको चलखेल र हस्तक्षेप तीव्र बनेको छ । त्यसले देशभक्त र वामपन्थीहरूलाई अगाडि बढ्नका लागि नयाँ शिक्षा दिएको छ । निकासका लागि एउटा नयाँ राजनीतिक ध्रुवीकरण चाहिन्छ । देशमा संकट भयो, जनताको चाहना पूरा भएन । देश असफलतातिर गयो । यो व्यवस्था चलेन भन्ने अवस्थाबाट निकास दिने हो भने वामपन्थी, परिवर्तनकारी, अग्रगामी शक्तिहरूले मोर्चाबन्दी गर्नु जरुरी छ भन्ने निष्कर्षसहित नयाँ केही विश्लेषण र मान्यताबाट समाजवादी मोर्चा बनाएका हौँ ।

समाजवादी मोर्चा किन प्रभावकारी भएन ? औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था कसरी आयो ?

मोर्चाले कामै नगरेकोचाहिँ होइन । प्रदेशहरूको सन्देश सभा सकिएपछि ४७ वटा जिल्लामा जिल्ला संयोजन समिति बनिसकेका छन् । कैयौँ जिल्लामा माथिको निर्देशन नभए पनि पालिकास्तरमा समेत संयोजन समिति बनेका छन् । तर, नेपालको राजनीतिमा मोर्चाले जसरी भूमिका लिनुपथ्र्यो, हस्तक्षप गर्नुपथ्र्यो या बाटो देखाउनुपथ्र्यो त्योचाहिँ अपुग भयो भन्ने समीक्षा हामीले पनि गर्‍यौँ । अब, मोर्चालाई गति दिनुपर्छ भन्ने निष्कर्षका साथ पुस महिनाभित्र सबै जिल्लामा संयोजन समिति गठन गरिसक्ने र सन्देश सभा गर्ने निर्णय गरेका छौँ । यस्तै, जनपरिचालनमा जाने निर्णय पनि भएको छ । त्यसपछि अरू कार्यक्रम पनि गर्छौैँ ।

मोर्चामा नेतृत्व आलोपालोको समझदारी थियो । तर, किन संयोजकमा माधव नेपाललाई नै निरन्तरता दिनुभयो? 

परिस्थिति अलिकति पाक्दै पनि छ । सहज पनि हुँदै छ । त्यस समयसम्मका लागि नेतृत्वमा नेपाललाई नै निरन्तरता दिने समझदारी भएको हो ।

मोर्चाले कस्तो समाजवाद, कस्ता समाजवादी परिकल्पना गरेको हो ?

नेपाली विशेषताको समाजवाद हाम्रो लक्ष्य हो । यो कुरा हामीले अवधारणापत्रमै स्पष्ट गरेका छौँ । त्यो भनेको अहिलेका उपलब्धिको रक्षा गर्नु पनि हो । गणतन्त्र, संघीयता, समावेशीजस्ता महत्वपूर्ण विषयको रक्षा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यो अपूर्ण भयो ।

राज्यको नेतृत्वको विषय टुंगोमा पुगेन । त्यसकारण समाजवादमा लगेर देशलाई रूपान्तरण गरेर स्थिरता र समृद्धिको एउटा ठोस कार्यक्रम अघि सार्नुपर्छ भन्ने हाम्रो सोच छ । नेपाली विशेषताको समाजवाद के हो भन्ने बारेमा पनि गहन छलफल गरौँ न त भन्ने कुरा भएको छ । राजनीतिक कार्यक्रम कस्तो हुने, आर्थिक कार्यक्रम कस्तो हुने, आन्दोलनात्मक कार्यक्रम कस्तो हुने, कुन कार्यविधिद्वारा काम गर्ने भन्ने कुराको पनि हामी निष्कर्ष निकाल्छौँ ।

अहिलेको व्यवस्थालाई ध्वस्त गरेर नयाँ व्यवस्थामा जानुपर्छ भन्दै विद्रोह गरेर आउनुभयो । अहिले फेरि प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्ने भन्दै हुनुहुन्छ । यसले जनतालाई अलमलमा पार्दैन ?

पार्दैन । जनयुद्ध हामीले लड्यौँ । जनआन्दोलन पनि ग¥यौँ । त्यसैको परिणाम गणतन्त्र आएको हो । गणतन्त्र, समावेशी बनाउने वेलासम्म हामीसँगै थियौँ । त्यसपछि नेपाललाई कस्तो व्यवस्थामा संश्लेषित गर्ने भन्नेमा हाम्रो कुरा मिलेन । त्यसमा धेरै कुरा छन् । त्यसबारे छुट्टै कुरा गरौँला ।

हामीले भनेको के थियो भने, नेपालमा संसदीय व्यवस्था अर्थात् दलाल पुँजीवादले जनताका आकांक्षा र चाहनालाई थेग्न सक्दैन । त्यो साबित पनि भयो । संकटको नाजायज फाइदा विभिन्न खालका खराब प्रवृत्तिका पश्चगामी, प्रतिगामीहरूले लिने हुन् कि भन्ने चिन्ता अहिले देखिन्छ । त्यसले हाम्रो विश्लेषण सही थियो भन्ने देखाएको छ । अब फेरि अहिले समाजवादी मोर्चाको कुरा पनि यथास्थितिमा बस्ने भन्ने त छैन । गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्ने समझदारीपछि मोर्चा बनेको हो । यसमा कुनै अलमलमा पर्नुपर्ने अवस्था छैन ।

नामको अघि नेपाल कम्युनिस्ट पार्टी राख्ने कि नराख्ने भन्ने बहस पनि चलेको छ । कम्युनिस्ट त्यागेर समाजवादी आन्दोलनमा होमिन तयार हो ?

यसमा विचारधारात्मक र राजनीतिक विषय छन् । विचारधारात्मक ढंगले कम्युनिस्ट आन्दोलन छाड्ने कल्पना पनि गर्न सकिँदैन । कम्युनिस्ट पार्टीलाई भंग गर्ने कल्पना पनि गर्नुहुँदैन । सबैभन्दा एडभान्स, अग्रगामी, संसार, मानवजाति, समाजको बारेमा दृष्टिकोण बनाउन सफल विचारधारा भनेको कम्युनिस्ट विचारधारा नै हो । त्यसको राजनीतिक पाटोमा कैयौँ कमी वा अपूरोपन छन् । त्यसलाई हामीले हल गर्नुपर्छ । राजनीतिक दृष्टिले नेपालमा वैज्ञानिक समाजवाद साम्यवादको कुरा कम्युनिस्टहरूको लक्ष्यको कुरा हो । तर, अहिलेको नेपालको परिस्थितिले के भन्छ भने सीधै वैज्ञानिक समाजवादको मात्रै कुरा गर्दा जनताकै कुरा हुँदाहुँदै पनि त्यो खालको मनस्थिति बनिसकेको छैन ।

यो अभियान अहिलेका चार दलबाट मात्रै सम्भव छ कि अन्य दललाई पनि समावेश गर्नुुहुन्छ ?

नेपाली विशेषताको समाजवादमा जान कम्युनिस्टहरू एक्लै अगाडि बढ्ने भन्ने कुरा होइन । त्यसमा समाजवादी विचारधारा राख्ने दलहरूबीच विश्वाससहितको सहकार्य चाहिन्छ । त्यसअर्थमा व्यापक समाजवादी आन्दोलनको सम्भावना छ । हामी त्यो दिशामा छौँ । त्यसकारण अहिलेको चारदलीय मोर्चालाई अझ विस्तार गर्नुपर्छ भन्ने सोच छ ।

कांग्रेससँगको सहकार्यले तपाईंहरूको लक्ष्य पूरा हुन्छ ?

नेपालको विशिष्ट परिस्थितिको उपज पनि हो यो । यद्यपि, त्यो माओवादीको कुरा हो । माओवादीसँगको हाम्रो सहकार्य समाजवाद निर्माण गर्ने कुरासँग सम्बन्धित छ । त्यसअर्थमा माओवादीले सोचेको कुरालाई हामीले प्रगतिशील नै ठान्छौँ । अहिलेको सत्तारूढ दलहरूको सहकार्यको कुरा अलि फरक छ । फेरि, दलाल पुँजीवाद र लोकतान्त्रिक गणतन्त्रवादी प्रवृत्ति एउटै होइन । कांग्रेस वा अरू कुनै संसदवादी शक्तिहरूलाई सोलोडोलो दलाल पुँजीवादी, पश्चगामी शक्तिको रूपमा मात्रै बुझ्ने होइन कि, त्यहाँभित्र पनि प्रगतिशील, लोकतन्त्रवादी, गणतन्त्रवादी धार हुन्छन् । समाजवाद त कांग्रेसले पनि भन्छ । कांग्रेसको समाजवादको बारेमा पनि बहस गर्न जरुरी छ । त्यसअन्तर्गत कांग्रेस पनि आओस् ।

तपाईंहरू र माओवादीबीच तत्काल एकताको सम्भावना छ कि छैन ? 

माओवादीबीचको एकता आवश्यक छ । हामीले त अनिवार्य छ भनेका छौँ । त्यो मात्रै होइन, नेपालको कम्युनिस्ट मुभमेन्टकै बारेमा एउटा नयाँ केन्द्रीकरण र एकताका बारेमा छलफल गर्न जरुरी छ । त्यसमा सकारात्मक छलफल पनि भइरहेका छन् । त्यो बाटोमा हामी आशावादी हुन सकिन्छ ।

तपाईं माओवादीको महासचिव बनेर प्रचण्डको उत्तराधिकारी बन्दै हुनुहुन्छ भन्ने चर्चा पनि छ नि !

(हाँस्दै) समाजवादी मोर्चा बनेपछि एकताको बहस अगाडि आयो । एकता हुँदा सैद्धान्तिक र नीतिगत कुरा हामीले बाहिर गरेका हौँ । माओवादीहरूको एकता फेरि पनि जरुरी छ । देशलाई निकास दिने हो भने र परिवर्तन गर्ने हो भने माओवादी धारहरूको बीचमा एकता आवश्यक छ भनेर हामीले भनेकै हो । त्यो भनेपछि विभिन्न प्रचार भए । आजै भइहाल्छ कि भन्ने ढंगले पनि कुरा चले । प्रचण्ड अध्यक्ष, विप्लव महासचिव भन्ने ढंगले पनि कुरा आए । तरंग नै देखापर्‍यो । तर, त्यो ठोस ढंगले छलफल भइसकेको विषय थिएन ।

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको एक वर्षको मूल्यांकन कसरी गर्नुभएको छ ?

हामी सापेक्षतामा यो एक वर्षको अवधिलाई प्रगतिशील कामको थालनी गर्न कार्यकारी प्रमुख प्रधानमन्त्रीले मिहिनेत गरेकै वर्षको रूपमा हेर्छौँ । पूरै निराश हुनुपर्ने, पहिलेको भन्दा खत्तम भयो भन्ने कुरा सत्य होइन । तर, जनताको अपेक्षा जति छ, त्यो लेबलमा भएको पनि होइन । प्रधानमन्त्री आफैँ खरो ढंगले जोडतोडले लाग्न खोज्नुभएको छ । तर, प्रधानमन्त्रीको टिम, पार्टी, राज्य जसरी परिचालित हुनुपथ्र्यो, त्योचाहिँ निकै कमजोर देखियो ।

प्रधानमन्त्री खटिन खोज्ने, तर अन्य संयन्त्रले साथ नदिनुको कारण के हुन सक्छ ? 

नेपाली राजनीतिमा मान्छेहरूको सोच बिथोलिएको छ । माओवादी जनयुद्धको स्मरण हामी गर्छौँ । एउटा आदर्श नभए राजनीति गर्न सकिँदैन । सरदर खालको राजनीतिले हाम्रो देशलाई नेतृत्व गर्न सक्दैन । जनताका अपेक्षा निकै ठूला छन् । बलिदान पनि जनताले हजारौँहजारको संख्यामा गरेका छन् । त्यसबाट हुने अपेक्षा स्वाभाविक छ । त्यसकारण गुणात्मक फड्को मार्न सक्ने, जनताको अपेक्षा र चाहनालाई हुत्याएर लान सक्ने, त्यसअनुसारको त्याग गर्न सक्ने, समर्पित हुन सक्ने नेतृत्व चाहिन्छ । एउटा मान्छेले मात्रै हुँदैन । त्यो खालको टिम चाहिन्छ । राज्यका निकाय चाहिन्छन् । कार्यकारी प्रमुखले स्विच थिच्दा एक–दुई बल्ब पनि मुस्किलले बल्लानजस्तो स्थिति छ यहाँ । यस्तो खाले राज्य संयन्त्रबाट धेरै गाह्रो छ । त्यो त संघर्ष गर्दै जाने कुरा हो ।

मोर्चाकै तीन दल सरकारमा छन्, तपाईंहरू सडकमा हुनुहुन्छ । तर पनि प्रधानमन्त्री किन एक्लो ? 

हाम्रो कुरा त हुन्छ । नेपाली समाजको विशेषता पनि हो । राजनीतिक आन्दोलनका अवशेष पनि छन् । सामूहिक ढंगले सोच्ने, निष्कर्ष निकाल्ने, परिणाममुखी काम गर्ने, जस पनि सामूहिक ढंगले लिने कुरामा कहीँ न कहीँ ग्याप छ ।

प्रधानमन्त्रीले चाहेअनुसार काम नहुने, जनतामा आक्रोश बढिरहने भयो भने व्यवस्था नै खतरामा पर्दैन ?

व्यवस्था संकटमा परेको, एकप्रकारले गिजोलिएको छ । तर, एउटा निकास अझै बाँकी छ । त्यो गर्न दिइयोस् भन्ने हाम्रो प्रस्ताव छ । नेपाली जनताले धेरै समयदेखि लडिरहेको, संघर्ष गरिरहेको, बलिदान गरेको प्रणाली समाजवाद हो । समाजवाद प्रयोग गर्न दिइयोस् भन्ने हाम्रो प्रस्ताव छ । सामन्ती राजसंस्थाभन्दा गणतन्त्र प्रगतिशील हो । यसमा हामीले अन्यथा मान्नु हुँदैन । तर, यसले पनि जनताको चाहनालाई पूरा गर्न सकेको छैन । यसलाई समाजवादसम्म लैजाऔँ भन्ने हाम्रो भनाइ हो । बरु समाजवादमा लैजाने विधि जनमतसंग्रह हुन सक्छ । चुनावले यथास्थितिकै संरचनालाई सञ्चालन गर्नेसम्मको फैसला गर्छ । जनमतसंग्रहमार्फत व्यवस्थाकै बारेमा एउटा धारणा, निर्णय, निष्कर्ष दिन सकोस् भन्ने हो । यसले धानिराखेको छैन भने योभन्दा पश्चगामी कदमबाट निकास हुने कुरा त कल्पना नै गर्नुहुँदैन ।

समाजवादउन्मुख भनेर त संविधानमै उल्लेख  गरिएको छ । यही प्रणालीबाटै समाजवादी यात्रामा जान केले रोक्यो ?

अहिले उन्मुखजस्तो मात्रै छ । अमूर्त विषयलाई मूर्त बनाऔँ । समाजवादी व्यवस्थामा यस्तो–यस्तो संरचना हुन्छ । ती संरचना यसरी सञ्चालित हुन्छन् । यसरी परिणाम आउँछ । कार्यकारी प्रमुख, व्यवस्थापिका, न्यायपालिका यस्ता हुन्छन् भनेर किटान गरिनुपर्छ ।

त्यस्ता परिभाषित संरचना त अहिले पनि छन् नि ! 

अहिलेका संरचना कुनै एक ठोस मान्यतामा सञ्चालित छैनन् । सानो उदाहरण हेर्नुस् न, प्रदेश सरकारहरू आएर संघ सरकारलाई घेराबन्दी गरिरहेका छन् । यो विचित्रको कुरा हो कि होइन ? प्रदेशले भन्छ– नेपालमा संघीयतै छैन । संघीयताअनुसार हामीलाई कामै गर्न दिइएको छैन । सरकारले सरकारलाई घेरा हालिरहेको अवस्था छ, जनताको कुरै छाडिदिऔँ । स्थानीय तहहरू हामीलाई कामै गर्न दिएनन् भन्दै कराएर बसिरहेका छन् । प्रधानमन्त्रीलाई हेर्ने हो भने, संयन्त्रहरूले साथै दिएनन् । म काम गर्न खोजिरहेको छु, कोही चल्दै चल्दैन भनिराख्नुभएको छ । त्यसकारण समाजवादउन्मुख भनेर मात्रै पुग्दैन । कस्तो खालको राज्य, कस्ता खालका संरचना, कस्ता खालका एकाइ, कस्ता खालका अंग हामीले परिकल्पना गरेको हो, त्यसलाई मूर्त पारिदिनुपर्छ । त्यसपछि परिणाम पनि आउँछ ।

तपाईंमाथि पनि संशोधनवादी भासमै पुगेको आरोप लाग्न थालेको छ । तपाईं थाक्नुभएको हो ? 

यसबारेमा रमाइलो अनुभूति हुन्छ । एकथरी साथीहरू भन्नुहुन्छ– यो उग्रवादी, नेकपामा बन्दुके प्रवृत्ति अझै गएन । यसलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउनुपर्‍यो, मुद्दा लगाउनुपर्‍यो । अर्कोथरी भन्नुहुन्छ– विप्लव पनि संशोधनवादी भयो । यी भनेका सत्यतालाई नजिकबाट बुझ्न नसकेका अनुमानित तर्क हुन्, साँचो कुरो होइन ।

साँचो के हो त ? 

हामी कम्युनिस्ट आन्दोलन, समाजवादी आन्दोलनप्रति प्रतिबद्ध छौँ । हामीले अगाडि बढाउन खोजेको नेपाली विशेषताको समाजवाद नै हो । यो भनेको परम्परागत संसदीय व्यवस्था, पुँजीवादी व्यवस्था होइन । जनताबाट निर्वाचित तर समाजवादी प्रवृत्तिको व्यवस्थाबारे हामी सोचिरहेका छौँ । धेरै आत्तिएर सबैलाई गुटमुट्याएर समाजवादतिर हुल्न खोज्यो भन्ने कुरा पनि सत्य होइन । समाजवाद भनेको सचेतनापूर्वक अग्रगमन गर्ने कुरा हो । सत्य कुरा नबुझी त्यत्तिकै संशोधनवादी भयो भन्ने मनोगत निष्कर्षको कुरा हो । यी विषय सम्झाएर हामीले अगाडिको यात्रा गर्नुपर्छ ।

समाजवादबारे बृहत् अन्तर्क्रियाको  निष्कर्षमा मोर्चा पुग्नुको कारणचाहिँ के हो ? 

हामीले अवधारणापत्र बनाएकै छौँ । त्यसमा अझै केही विषयमा हामीले थप्नुपर्नेछ । राजनीतिक प्रणालीका बारेमा, प्रक्रियाका बारेमा, व्यवस्थाका बारेमा केही कुरा थप्नुपर्नेछ । त्यो हामी थप्छौँ । कस्तो आर्थिक व्यवस्था हुन्छ, कस्तो राजनीतिक व्यवस्था हुन्छ, कस्तो सांस्कृतिक अवस्था, कस्तो सामाजिक अवस्था भन्ने कुरा हामी राख्छौँ । शिक्षा, स्वास्थ्य रोजगारीमा के हुन्छ भन्ने कुरा पनि राख्छौँ । बुद्धिजीवी, परिवर्तनकारी शक्ति र व्यक्तित्वहरूबाट आउने सुझावलाई पनि जोड्नुपर्छ भन्ने निष्कर्षका साथ बृहत् अन्तर्क्रिया गर्ने निर्णयमा पुगेका हौँ । राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यासबारे हामी सुन्न चाहन्छौँ ।

नेतृत्वको कार्यशैली नसच्चिएसम्म जनताले पत्याउने अवस्था छ त ?

जनताले अवसर दिऊन्, हामी काम गरेर देखाउँछौँ । हामीले दुःख पनि धेरै गरेका छौँ । गाउँघरका जनताको अगँनुदेखि काठमाडौंका महलसम्मको जीवन हामीलाई थाहा छ । सबैका आ–आफ्नै दुःख छन् । अहिलेको अवस्थामा हामीले मात्रै भनेर हुँदैन, सबै परिवेश बुझ्नुपर्छ । सबै आ–आफ्नो हठमा उभिँदा नेपाल झन् पश्चगमनतिर जाने हो कि भन्ने चिन्ता छ । वामपन्थीहरूको मोर्चाबन्दी र एकतालाई सरल र फराकिलो बनाउनुपर्छ ।

देशभक्त र लोकतान्त्रिक शक्तिलाई पनि हामीले थप्नुपर्छ । र, देशलाई अग्रगमनतिर लानुपर्छ । नयाँ प्रयोग र नयाँ सहकार्य गर्न पनि हामी तयार हुनुपर्छ । मान्छे आफैँमा गतिशील प्राणी हो । मान्छे रूपान्तरित हुन पनि सक्छ । माओले भन्नुभयो नि–मान्छे नमर्दासम्म राम्रो काम गर्न सक्छ । रूपान्तरित हुन सक्छ । एकचोटि गल्ती गर्‍यो भन्दैमा सधैँका लागि अन्त्य भयो भन्ने पुरानो जडसूत्रवादी कम्युनिस्टको धारणा छ । निषेधको निषेध गर्ने, पुरानोलाई नकार्नुपर्छ भन्ने, एकचोटि गल्ती भएपछि त्यसलाई स्विकार्नुहुन्न भन्ने अहिलेको समाज विज्ञानको नियमभन्दा पछाडि परिसकेको चेतना हो । हामीले अनिश्चय र सम्भावनालाई जोड्नुपर्छ । बदलिएर राम्रो बन्ने सम्भावना पनि हुन्छ ।

निर्वाचनमार्फत नयाँ दल र स्वतन्त्र पनि आए, पुराना दललाई सोच्न बाध्य बनायो नि होइन ?

यसले विचारहरूलाई माझ्न, परिमार्जित गर्न पनि प्रेरित गरेको छ । हाम्रो कार्यशैली र जीवनशैलीबारे पनि सबैलाई घचघच्याएकै छ । त्यो मात्रै होइन, कमीकमजोरी जनताले बुझ्दै छन् भन्ने पनि देखिएको छ । फेरि निकासचाहिँ अहिले घुमिराखेको ठाउँमा भनिएका नयाँ होइनन् । रूप मात्रै नयाँ भएर हुँदैन, दृष्टिकोण पनि चाहिन्छ । जनता अग्रगमन चाहन्छन्, परिवर्तन चाहन्छन् भन्नेचाहिँ साँचो हो ।

आगामी निर्वाचनमा तपाईं उम्मेदवार बन्न तयार हो ?

०८४ अलि टाढै छ । ०८४ अगाडि नै नेपालको राजनीतिमा ठुल्ठूला हेरफेर हुने सम्भावना छ । त्यसलाई पनि हामीले आत्मसात् गरौँ । नेपाललाई निकास दिऔँ भन्ने हाम्रो जोड छ । तर, संयोगले विभिन्न खालका त्यस्ता समय आए भने, त्यो परिस्थितिलाई उपयोग गरेर जानुपर्ने पनि हुन सक्छ । हामी खुला भएर जानुपर्छ ।

 तत्कालीन सरकारले तपाईंहरूसँग सहमति ग¥यो, फेरि पक्राउपुर्जी पनि जारी भयो ? तादात्म्यता कहाँ मिलेन ? 

यो एकदमै खेदजनक कुरा हो । राज्यको संरचना एउटा हार्मोनीमा हुनुपर्छ । एउटै लयमा चल्ने हुनुपर्छ । त्यो देखिँदैन । त्यसैले हामीले नेपाली विशेषताको समाजवादी व्यवस्थाको प्रयोग गर्न खोजेका हौँ । केही पञ्चायतकालका कानुन र संरचना छन् । केही ०/४८ सालका कानुनअनुसारका छन् । केही ०६३ पछिका छन् । पुरानो तरिकाले चल्नेलाई त्यही ठीक लागिरहेको छ । बीचको किसिमले चल्नेलाई बीचकै ठीक लागिरहेको छ । त्यसैले मिलिरहेको छैन ।

राज्यका सबै अंगमा त्यसले प्रभाव पारिरहेको छ । सरकारलाई जसरी सहयोग गर्नुपर्छ । नयाँ बनेका राजनीतिक मान्यतालाई जसरी अंगीकार गर्नुपर्छ । त्योअनुसार राज्यका संरचना रूपान्तरित भएकै देखिएन । यसमा बाह्य शक्तिको चलखेल पनि एकदमै चर्को छ । नेपालको इतिहासमा हाम्रो देशको स्वाधीनता सबैभन्दा जोखिममा परेको समय हो यो । त्यसैले हामी नयाँ ढंगले सोचेर अगाडि बढ्न खोज्दै छौँ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार