श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

संयुक्त आयोगको बैठकमा कृषि, जलस्रोत, रक्षादेखि सीमासम्मका विषयमा छलफल

परराष्ट्रमन्त्री साउदले अतिरिक्त हवाई रुट, सीमावर्ती क्षेत्रमा हुने डुबान तथा बाँधको विषय उठाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा दुई देशबीच आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति, सुरक्षा सहकार्य, हवाई उड्डयन र राजनीतिक विषयका क्षेत्रसम्बन्धी एजेन्डामा छलफल भएको छ । बैठकमा नेपालका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री डा. एस जयशंकरले गरेका छन् ।

बैठकमा सीमा विवाद तथा १९५० को सन्धिलगायतका विषयमा पनि छलफल भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्ति अनुसार संयुक्त आयोगको बैठकमा १९५० को शान्ति तथा मैत्री सन्धि, सुरक्षा तथा सीमासम्बन्धी विषयहरूमा पनि धारणा आदान–प्रदान भएको छ । ‘दुवै पक्षले द्विपक्षीय सम्बन्धको सबै पक्ष पुनरावलोकन गरेको छ । कनेक्टिभिटी, पूर्वाधार विकास, आर्थिक साझेदारी, व्यापार, पारवहन, लगानी, ऊर्जा, जलस्रोत, संस्कृति, पर्यटन, खेलकुद, स्वास्थ्य, शिक्षालगायतका विषयमा छलफल भएको छ,’ परराष्ट्रले भनेको छ ।

बैठकपछि भारतीय पक्षले सुरक्षा सहकार्यका विषयमा पनि छलफल भएको उल्लेख गरेको छ । परराष्ट्रमन्त्री साउदले बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल भएको जानकारी दिए । भारतीय विदेशमन्त्री जयशंकरले पनि बैठकमा फलदायी छलफल भएको बताएका छन् । ‘हाम्रो छलफल विशेष गरी समग्र द्विपक्षीय सम्बन्ध, व्यापार र आर्थिक सम्बन्ध, भूमि, रेल र हवाई कनेक्टिभिटी परियोजना, सुरक्षा सहकार्य, कृषि, ऊर्जा, जलस्रोत, विपत् व्यवस्थापन, पर्यटन, नागरिक उड्डयन, जनता–जनताबीचको सम्बन्ध, संस्कृति आदान–प्रदान र विकास साझेदारीमा केन्द्रित थियो,’ जयशंकरले भनेका छन् ।

परराष्ट्रमन्त्री साउदले अतिरिक्त हवाई रुट, सीमावर्ती क्षेत्रमा हुने डुबान तथा बाँधको विषय उठाएका छन् । बैठकमा सहभागी अधिकारीहरूका अनुसार भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नेपालले महेन्द्रनगरबाट हवाई प्रवेश रुटको अनुमतिका लागि आग्रह दोहोर्‍याएको छ । तर, यसमा भारतीय पक्षले प्राविधिक तहमा छलफल गरेर भविष्यमा टुंग्याउने पुरानै जवाफ दिएको छ । बैठकले प्रधानमन्त्री प्रचण्ड र उनीअघिका प्रधानमन्त्री देउवाको भारत भ्रमणले सम्बन्ध सुदृढ बनाएको भन्दै खुसी व्यक्त गरेको परराष्ट्रले जनाएको छ । आठौँ बैठक भारतमा बस्ने सहमति भएको छ ।

राष्ट्रपति, प्रधानमन्त्री, देउवा र ओलीसँग जयशंकरको भेटवार्ता

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बिहीबारै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् । राष्ट्रपतिसँग शीतलनिवासमा र प्रधानमन्त्रीसँग सिंहदरबारमा भेटेका जयशंकरले देउवा र ओलीसँग भने होटेल द्वारिकाजमा भेटेका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि उनले दुई देशको मित्रता विशिष्ट रहेको र साझेदारी सुदृढ हुँदै गएको बताएका छन् ।

उनले समकक्षी एनपी साउदसँग बैठकअघि १५ मिनेट बेग्लै भेटवार्ता गरेका थिए । भेटबारे नेपालीमा ट्विट गर्दै विदेशमन्त्री जयशंकरले सबै भेटवार्ता र बैठक प्रेरणादायी भएको उल्लेख गरेका छन् । संयुक्त आयोगको बैठकपछि पत्रकारहरूको प्रश्नमा उनले भने, ‘बैठक अत्यन्तै फलदायी भयो ।’

नेपालकै छनोटमा २० करोडसम्मको आयोजनामा भारतले अनुदान दिने
नेपाल सरकार र भारत सरकारबीच उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअन्तर्गत कार्यान्वयन हुने प्रत्येक आयोजनाको अधिकतम बजेट सीमा २० करोड हुनेछ । तर, भारत सरकार वा भारतीय राजदूतावासले सीधै लगानी गर्ने नभएर नेपालले परियोजना छनोट गर्ने र त्रिपक्षीय सम्झौतापछि नेपालले कार्यान्वयन गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा अर्थसचिव कृष्णहरि पुष्कर र भारतीय राजदूत नवीन श्रीवास्तवले हस्ताक्षर गरेका छन् । ‘सम्झौतामा स्थानीय तह तथा अन्य सरकारी निकायबाट प्राप्त माग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परीक्षण गरी अर्थ मन्त्रालयमा आयोजना सिफारिस गर्ने र अर्थ मन्त्रालयले माग भएका आयोजनाको प्राथमिकताको आधारमा सहायता परिचालनका लागि भारत सरकारलाई अनुरोध गर्ने गरी प्रक्रिया निर्धारण भएको छ,’ संयुक्त आयोगको बैठकपछि अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गैरसरकारी संस्थाबाट कार्यान्वयन हुने आयोजनाको हकमा समेत सम्बन्धित विषयगत मन्त्रालयको सिफारिसको आधारमा अर्थ मन्त्रालयले सहमति दिने र समाज कल्याण परिषद्को स्वीकृति प्राप्त गरेर मात्र आयोजना स्वीकृत गर्ने प्रावधानमा सहमति भएको छ । ‘स्वीकृत आयोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कार्यान्वयन निकाय र भारतीय दूतावासबीच सम्झौता गरी सम्बन्धित तहको बजेटमा समावेश गरेर कार्यान्वयन हुनेछ,’ अर्थ मन्त्रालयले भनेको छ, ‘भारतीय अनुदानमा सञ्चालन हुने आयोजनामा सामान्यतः गाउँपालिकाले ५ प्रतिशत एवं नगरपालिकाले १० प्रतिशत काउन्टर पार्ट फन्ड व्यवस्था गर्नुपर्ने प्रावधान छ । विशेष अवस्थामा काउन्टर पार्ट फन्ड राख्न नपर्नेसमेत व्यवस्था छ ।’

आयोजना कार्यान्वयनको अनुगमनका लागि सम्बन्धित स्थानीय तह, जिल्ला समन्वय समिति, प्राविधिक विशेषज्ञ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय दूतावासको प्रतिनिधि रहेको आयोजना अनुगमन समिति रहने व्यवस्था गरिएको अर्थले उल्लेख गरेको छ । सम्झौताको अवधि ५ वर्षको रहनेछ । यो सम्झौताले ६ अगस्ट २००८ मा हस्ताक्षर भई ९ अगस्ट २०२३ मा नवीकरण भएको साबिकको साना विकास आयोजनासम्बन्धी सम्झौतालाई प्रतिस्थापन गर्नेछ । नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एन्फा यू-१६ युथ लिग : मनाङसँग हिमालयन शेर्पा ४-२ ले पराजित
२०८२ श्रावण ९, शुक्रबार
सरकारलाई महरको खबरदारी, राष्ट्रपतिको कदमको सराहना
२०८२ श्रावण ९, शुक्रबार
वाग्मतीका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव
२०८२ श्रावण ९, शुक्रबार
पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन : पुर्व राष्ट्रपति भण्डारी
२०८२ श्रावण ९, शुक्रबार
हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल
२०८२ श्रावण ९, शुक्रबार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
२०८२ श्रावण ९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै
२०८२ श्रावण ९, शुक्रबार