काठमाडौँः उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ कम्युनिस्ट पार्टीका युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव महामहिम शी युगाङबिच भेटवार्ता भएको छ । शनिवार उपराष्ट्रपति यादव र युगाङबिच भेटवार्ता भएको हो ।
भेटमा द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटन लगायतका विविध आयामका विषयमा छलफल भएको उपराष्ट्रपति यादवका प्रेस संयोजक दिनेश यादवले बताए । उपराष्ट्रपति यादवले नेपाल र चीनबिच सदियौँदेखि रहि आएको सौहार्दपूर्ण एवम् अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक, थप घनिष्ठ र अरू उच्च बनेकोमा खुसी व्यक्त गरे ।
उनले प्रधानमन्त्री प्रचण्डको गत वर्षको सेप्टेम्बरमा सम्पन्न चीन भ्रमणले दुई देश बिचको सम्बन्धलाई थप उचाइमा पुर्याएको बताए । गत वर्षको अगस्टमा युनानको कुन्मीङमा सम्पन्न ७ औँ चीन–दक्षिण एसिया प्रदर्शनी र २७ औँ चीन (कुन्मीङ) आयात–निर्यात मेला लगायतका कार्यक्रममा सहभागी हुन पाएकोमा उपराष्ट्रपति यादवले खुसी समेत व्यक्त गरे ।
उनले भने, ‘नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेको छ । यसलाई बढोत्तरी गर्न थुप्रै सम्भावनाहरू छन् भन्ने लाग्दछ ।’ उपराष्ट्रपति यादवले द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षबाट नेपाललाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरूमा उत्पादक क्षमता बढाउनुका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरूको सहयोगका लागि चिनियाँ पक्षलाई अनुरोध पनि गरे ।
उनले पोखरा र चीनका विभिन्न शहरबिच ‘कमर्सियल फ्लाइट’ सुरु हुनेमा विश्वास समेत व्यक्त गरे । भेटमा उपसचिव शी युगाङले सन् २०२४ मा चिनियाँ उच्च प्रतिनिधिमण्डलले नेपालबाटै आफ्नो भ्रमण सुरु गरेको जनाउँदै नेपाललाई विशेष महत्त्व दिएरै यो सम्भव भएको बताउनुभएको संयोजक यादवले बताए ।
‘नेपाल र चीनबिच प्राचीनकालदेखि कायम रहेको सांस्कृतिक सम्बन्धलाई भगवान् गौतम बुद्धको सिद्धान्तले थप प्रगाढ बनाएको छ’ उनले भने, ‘नेपाल र चीनबिच धेरै समानता छ । यो समानताकै कारण दुई मुलुकबिच उच्चस्तरीय र जनस्तरीय भ्रमणहरू बढी हुने गरेको छ ।’
नेता युगाङले छिमेकीसँग जीवन मरणको सम्बन्ध हुनुपर्ने बताउँदै यसले सम्बन्धलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउने बताए । युगाङले भने, ‘हामीले मान्छे–मान्छेसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका छौ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया