श्रावण ८, २०८२ बिहिबार July 24, 2025

‘भेप’को प्रयोग बढ्दा राजस्वमा धक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ‘इलेक्ट्रोनिक भेप’ को प्रयोग बढ्न थालेपछि त्यसले देशको राजस्व सङ्कलनको लक्ष्यमै असर पारेको पाइएको छ । भेपको प्रयोग बढ्दा मुलुकभित्र चुरोटको प्रयोग घटेको र त्यसले राजस्वको मुख्य आधारमध्येको अन्तःशुल्क सङ्कलनमा धक्का पुगेको अर्थ मन्त्रालयको प्रारम्भिक ठहर छ । चुरोटको उत्पादनमा लगाइने अन्तःशुल्क राजस्वको बलियो आधार पनि हो ।

चुरोटको प्रयोग घटेपछि मन्त्रालयले केही उद्योगमा गरेको अनुगमनले समग्र उत्पादन नै घटेको पाइएको प्रवक्ता धनीराम शर्माले जानकारी दिनुभयो । “अहिले इलेक्ट्रोनिक ‘भेप’ को प्रयोग बढ्दा त्यसले चुरोटको उपभोग घटेको हो कि भन्ने अनुमान छ,” उहाँले भन्नुभयो, “यसबारे थप अध्ययनको जरुरी देखिएको छ ।”

चुरोटपछि बियरको प्रयोग पनि घटेकाले त्यसको प्रत्यक्ष असर अन्तःशुल्कमा परेको मन्त्रालयको अनुमान छ । सेवा क्षेत्र अपेक्षा अनुसार फस्टाउन नसक्दा बियर उपभोग घटेको मन्त्रालयको बुझाइ छ । यसबाहेक विद्युतीय सवारीको आयात बढ्दा त्यसबाट पनि राजस्व गुमिरहेको मन्त्रालयले जनाएको छ । विद्युतीय सवारीको आयातमा न्यून कर र अन्तःशुल्कका कारण भन्सार राजस्वतर्फ पनि असर पुगिरहेको ठहर अर्थको छ ।

अर्थ मन्त्रालयको प्रारम्भिक अनुमानलाई पुष्टि गर्ने गरी अन्तःशुल्कको सङ्कलन पनि खुम्चिएको तथ्याङ्कले देखाउँछन् । चालु आर्थिक वर्षको आधा समय पूरा हुँदासम्म आन्तरिक तर्फको अन्तःशुल्क लक्ष्यभन्दा ३२ प्रतिशतले न्यून सङ्कलन भएको देखिन्छ ।

आन्तरिक राजस्व विभागका अनुसार पुससम्म ६९ अर्ब रुपियाँ अन्तःशुल्क सङ्कलनको लक्ष्य रहेकोमा ४७ अर्ब रुपियाँ मात्र सङ्कलन भएको छ जुन लक्ष्यको ६८.२० प्रतिशत मात्र हुन आउँछ । पुसमा मात्रै करिब १५ अर्ब रुपियाँ अन्तःशुल्क सङ्कलनको लक्ष्य राखेको विभागले आठ अर्ब ६३ करोड रुपियाँ मात्र अन्तःशुल्क सङ्कलन गरेको छ । पुसको लक्ष्यको हिसाबले सङ्कलित अन्तःशुल्क केवल ५८ प्रतिशत मात्र हो ।

राजस्व सङ्कलनको प्रवृत्तिका हिसाबले पुसमै आयकर घटेको पाइएको छ । राजस्वको आधार महिनाका रूपमा लिइने पुसमै लक्ष्यभन्दा न्यून आयकर सङ्कलन हुँदा पनि त्यसले समग्र राजस्व सङ्कलनको लक्ष्य नै प्रभावित भएको छ । आन्तरिक राजस्व विभागका अनुसार चालु आवको पुसमा मात्रै ७१ अर्ब रुपियाँ आयकरसहित कुल एक खर्ब १० अर्ब रुपियाँ राजस्व उठाउने लक्ष्य तोकिएको थियो । करदाताले आवभरिको अनुमानित आम्दानीको ४० प्रतिशत आयकर पुसमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यसबाहेक गत आवको अन्तिम आय कर विवरण पनि पुसमा बुझाउनुपर्ने र अनुमानयोग्य आम्दानीभन्दा १० प्रतिशत बढी आम्दानी भएको ब्याजसहित आयकर बुझाउनुपर्ने व्यवस्था छ ।

यस्तो प्रबन्धका कारण पुसमा तुलनात्मक रूपमा आयकर बढी उठ्ने अनुमान गरिएको हुन्छ तर विभागको तथ्याङ्क अनुसार पुसमा लक्ष्यको ३५ प्रतिशत न्यून आयकर सङ्कलन भएको छ । ७१ अर्ब रुपियाँ आयकर सङ्कलनको लक्ष्य राखिएकोमा पुसमा ४९ अर्ब ५९ करोड रुपियाँ मात्र आयकर सङ्कलन भएको तथ्याङ्क छ । पुसको लक्ष्य र सङ्कलित आयकरबिचको ‘ग्याप’ का सम्बन्धमा समीक्षा बाँकी नै रहेको मन्त्रालयका प्रवक्ता शर्माले बताउनुभयो ।

छ महिनासम्मको लक्ष्यका आधारमा भने आयकर लक्ष्यको ९० प्रतिशत सङ्कलन भएको देखिन्छ । पुससम्म एक खर्ब २७ अर्ब आयकर सङ्कलन गर्ने लक्ष्य रहेकोमा एक खर्ब १५ अर्ब रुपियाँ सङ्कलन भएको थियो । अर्थ प्रशासन आयकरभन्दा पनि अन्तःशुल्कमा देखिएको गिरावटप्रति बढी चिन्तित देखिएको छ ।

‘राजस्व सङ्कलन सुध्रियो’

आयात घटेको र आर्थिक गतिविधि सुस्ताउँदा राजस्व सङ्कलनमा दबाब खेपिरहेको अर्थ मन्त्रालयले पछिल्ला महिना भने राजस्व सङ्कलनमा सुधार आएको जनाएको छ । मन्त्रालयका प्रवक्ता शर्मा विगतका महिना र अघिल्लो वर्षको सोही महिनाका तुलनामा राजस्व सङ्कलनमा सुधार आएको बताउनुहुन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुससम्म सरकारले पाँच खर्ब १८ अर्ब रुपियाँ आम्दानी गर्दा पाँच खर्ब ६६ अर्ब रुपियाँ खर्च गरेको छ । यस हिसाबले सरकारको आम्दानीभन्दा खर्च ४८ अर्ब रुपियाँले बढी देखिन्छ । जसलाई विगतको बचत र ऋणबाट पूर्ति गरिएको हुन्छ । यद्यपि छ महिना पूरा हुँदा चालु आवको सरकारको कुल आम्दानी लक्ष्यको ३५ प्रतिशत पूरा भएको छ भने राजस्व ३४ प्रतिशत सङ्कलन भएको छ । पुससम्म सरकारले चार खर्ब ९६ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको कार्यालयको तथ्याङ्क छ, जुन पुससम्मको कूल लक्ष्यको तुलनामा एक खर्ब ७२ अर्ब रुपियाँले कम हो ।

भदौपछि मासिक रूपमा सरकारको राजस्व गत वर्षको सोही महिनाको तुलनामा वृद्धि देखिँदा सरकारले सुधार भएको दाबी गर्दै आएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
२०८२ श्रावण ८, बिहिबार
विदेशी मुद्राको आजको विनिमय दर : डलर १३८, युरो १६२, पाउण्ड १८७
२०८२ श्रावण ८, बिहिबार
तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
कम्पनी रजिस्टार कार्यालयमा खुलेआम घुस
२०८२ श्रावण ८, बिहिबार
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार