श्रावण ७, २०८२ बुधबार July 23, 2025

एउटै सडक ६ र विमानस्थल ३ पटक शिलान्यास, तर अधुरै

सरकारले कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल बनाएर सेनालाई जिम्मा दिएपछि शिलान्यास र उद्घाटनको शृंखला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले राष्ट्रिय प्राथमिकता र गौरवको आयोजनाका रूपमा घोषणा गरेको कालीगण्डकी करिडोरको गुल्मी–बागलुङ खण्ड ६ पटक शिलान्यास र उद्घाटन गर्दा पनि निर्माण पूरा भएको छैन । केही खण्डमा सवारी चल्न थाले पनि सडक जीर्ण छ ।

सरकारले २२ अर्ब लागत अनुमानसहित ०५९ मा भारत र चीन जोड्ने गरी सुनौलीदेखि मुस्ताङको कोरला नाकासम्म ४ सय ४७ किलोमिटर लामो उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग (कालीगण्डकी करिडोर) निर्माण अघि बढाएको थियो । २० वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको करिडोरको २१ वर्षमा झन्डै ५५ प्रतिशत काम सकिएको छ । अहिले सडकका विभिन्न खण्डमा सडक विस्तार, स्तरोन्नति र कालोपत्रेका काम भइरहेका छन् । तर, सडक निर्माण पूरा नहुँदै सडकका विभिन्न खण्ड पटक–पटक उद्घाटन र शिलान्यास हुने गरेका छन् ।

करिडोरको गुल्मी र बागलुङ खण्डमा धेरै पटक सुरुवात र उद्घाटन भएका हुन् । पाल्पा र म्याग्दी खण्डमा पनि सडक उद्घाटन भएको छ । ०३९ सालमै दुई देश जोड्ने सडकको अवधारणा अघि सारिएको थियो । सरकारले ०६४ सालमा राष्ट्रिय गौरवको आयोजना घोषणा गरे पनि निर्माण गति निकै सुस्त थियो । ठेक्का प्रक्रियाबाट करिडोर निर्माणले गति नलिएपछि सरकारले ०७० मा कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल गठन गरेर निर्माणको जिम्मा नेपाली सेनालाई लगाएको थियो । त्यसपछि सेनाले सडकको शिलान्यास र उद्घाटनको शृंखला चलाएको हो ।

सडकको पहिलो पटक ०७० फागुन ८ गते पूर्वमन्त्री गोकर्णराज विष्टले रुद्रवेणी हर्मिचौर खण्डको शिलान्यास गरेका थिए । त्यसपछि सेनाले ०७१ माघमा तत्कालीन अर्थमन्त्री रामशरण महतलाई हेलिकोप्टरमार्फत गुल्मीको अर्बेनीमा पुगेर हर्मिचौर–अर्बेनी खण्डको उद्घाटन र अर्बेनी–बागलुङ बलेवा खण्डको शिलान्यास गरेका थिए । मन्त्री महतसँगै सडक उद्घाटनमा तत्कालीन सचिव लीलामणि पौडेल पनि पुगेका थिए । ०७४ माघमा गुल्मीको पुर्तिघाट बागलुङ खण्डको तत्कालीन योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले पनि शिलान्यास गरेका थिए । सेनाको सडक निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईका अनुसार सडकको शिलान्यास, उद्घाटन र अनुगमनका लागि एमालेका पूर्वमन्त्री प्रदीप ज्ञवालीसहितको टोली पुगेको थियो । मन्त्री ज्ञवालीले ०७५ वैशाख १३ मा रिडी–हर्मिचौर खण्डको शिलान्यास गरेका थिए । उनैले २०७७ मंसिर १३ मा उक्त खण्डको कालोपत्रे स्तरोन्नतिको सुरुवात गरे । त्यस्तै, तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले पनि शिलान्यास गरेका थिए ।

सेनाका कार्यदल प्रमुख भट्टराईले सडक निर्माण, विस्तार र स्तरोन्नतिको काम तीव्र रूपमा अघि बढे पनि सधैं कामअनुसार बजेट निकासा नहुने समस्याले सबैलाई सडकको उद्घाटन र शिलान्यास गराउने गरिएको बताए । ‘काम भएपछि जसरी पनि बजेट निकासा गराउनैपर्थ्यो,’ उनले भने, ‘पदमा भएका व्यक्तिलाई ल्याएर देखाएपछि बजेट निकासामा सहज हुन्थ्यो, त्यसैले त्यहाँ ल्याएपछि काम भएको खण्डको उद्घाटन र नयाँको शिलान्यास गराउनैपर्थ्यो ।’

सडक उद्घाटनमा नेताहरू आफैंभन्दा पनि सेनाकै आग्रहमा त्यहाँ पुग्ने गरेको उनले बताए । करिडोरको आयोजना कार्यालय पाल्पाका प्रमुख शंकर पौडेलका अनुसार अहिले रिडी–हर्मिचौर खण्ड कालोपत्रको काम अन्तिम चरणमा पुगेको, गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवासम्मको ४४ किमि खण्डमा ३ अर्ब ३० करोड लागतमा कालोपत्रेको काम भइरहेको छ । त्यस्तै बागलुङ बलेवादेखि मालढुंगासम्मको १० किलोमिटर खण्डमा पनि ५५ करोड लागतमा सडक स्तरोन्नतिको काम भइरहेको छ ।

लुम्बिनी प्रदेशकै अर्घाखाँचीको अर्घाभगवती विमानस्थल पनि अहिलेसम्म ३ पटक शिलान्यास भएको छ । ०७३ असार १३ गते तत्कालीन उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले विमानस्थलको शिलान्यास गरेका थिए । शिलान्यासका बेला एक वर्षभित्रै विमानस्थलबाट हवाईजहाज उडाउने दाबी गरेका रायमाझीले पहिलो पटक शिलान्यास गरेको झन्डै २ वर्षभित्रै दोस्रो पटक सल्लाका रूख काटेर ०७४ चैत ११ गते फेरि शिलान्यास गरे ।

चुनावनजिक आएकाले विमानस्थललाई चुनावी नारा बनाउँदै उनले रूख काटेर विमानस्थलको प्रचार गरेका थिए । रूख काटेर चुनावी प्रचारका बेला पनि रायमाझीले ३ वर्षभित्रै विमान सञ्चालन हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर, ६ वर्षसम्म पनि निर्माणले गति लिएन । -कान्तिपुर दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार