श्रावण १२, २०८१ शनिबार July 27, 2024

माओवादीलाई कांग्रेस र राप्रपालाई एमालेको ‘धोका’: दुवै गठबन्धनमा मत क्रस

चासोपूर्वक हेरिएको कोशी प्रदेशमा सत्ता र प्रतिपक्षी दुवै गठबन्धनले अपेक्षा गरेभन्दा बाहिरको परिणाम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ र सरकारबाहिरका दल गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा सहभागी भए पनि दुवैतर्फ अनपेक्षित परिणाम देखिएको छ । चासोपूर्वक हेरिएको कोशी प्रदेशमा सत्ता र प्रतिपक्षी दुवै गठबन्धनले अपेक्षा गरेभन्दा बाहिरको परिणाम आएको हो ।

कोशीमा सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी छन् । अर्कोतर्फ प्रतिपक्षी गठबन्धन एमालेका उम्मेदवार रुक्मिणी कोइराला विजयी हुँदा राप्रपाका उद्धव पौडेल पराजित भए । कोशीमा सिटौलाले ५ हजार २ सय ९२ मतभार ल्याएर निर्वाचित हुँदा माओवादी चम्पादेवीले ४ हजार ९ सय ९२ मतभार प्राप्त गरिन् । प्रतिपक्षी गठबन्धनबाट राप्रपाका पौडेलले ४ हजार ५ सय २६ मतभार प्राप्त गर्दा एमालेकी रुक्मिणी कोइराला ५ हजार ८६ मत ल्याएर निर्वाचित भइन् ।

यो विजयसँगै सिटौलाले संसदीय र सत्ता यात्रामा पुनरागमन गरेका छन् । २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले–राप्रपा गठबन्धनबाट लगातार पराजित भएपछि उनको संसदीय यात्रामा अल्पविराम लागेको थियो । कोशीमा सत्तारूढ गठबन्धनको स्पष्ट बहुमत थियो । गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको मतभार जोड्दा एमालेभन्दा अगाडि थियो । त्यहाँ एमालेको मतभार ४ हजार २ सय ४८, कांग्रेसको ३ हजार ६ सय ८४, माओवादीको १ हजार २ सय ७८, राप्रपाको ३ सय ९४, एकीकृत समाजवादीको ३ सय ४५, जसपाको १ सय २९ थियो । सत्ता गठबन्धनको ५ हजार ४ सय ३६ मतभार थियो भने प्रतिपक्षी एमाले–राप्रपा गठबन्धनको ४ हजार ६ सय ४२ थियो । तर, पौडेलले ४ हजार ५ सय २६ मतभार प्राप्त गरे । यसलाई राप्रपाले ‘धोका’ को टिप्पणी गरेको छ ।

राप्रपासँग गठबन्धन गरेर एमालेले परशुराम अधिकारीको उम्मेदवारी निष्क्रिय गराएको थियो तर उनलाई एक प्रदेश सांसद र पाँच स्थानीय जनप्रतिनिधिले मत दिएका छन् । कोशीमा आफ्ना उम्मेदवार पराजित भएपछि माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कांग्रेसको एक समूहले अन्तर्घात गरेको प्रतिक्रिया दिए । मुख्यमन्त्री माओवादीलाई दिन नहुने लबिइङमा लागेको कांग्रेसको एक समूहले राष्ट्रिय सभा निर्वाचनमा पनि धोका दिएकाले प्रदेशमा गठबन्धनको औचित्य सकिएको उनको भनाइ छ ।

राष्ट्रिय सभा परिणामले सत्तारूढ गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेको माओवादीलाई भने झस्काएको छ । सत्ता गठबन्धनको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति सदस्यसमेत रहेका माओवादी उपमहासचिव वर्षमान पुनले कांग्रेसलाई कतिसम्म विश्वास गर्ने भन्नेमा संशय पैदा भएको प्रतिक्रिया दिए । कोशीको मुख्यमन्त्रीदेखि अहिले राष्ट्रिय सभा निर्वाचनको परिणाम हेर्दा कांग्रेसमाथि संशय पैदा भएको र त्यसको हल निकाल्नुपर्ने उनको भनाइ छ । ‘संगठित रूपमा नै गठबन्धनविरुद्ध कांग्रेसबाट यस्तो व्यवहार देखिएको छ,’ उनले भने, ‘यसअघि मुख्यमन्त्री चयन गर्दा हाम्रो दलका नेता इन्द्र आङ्बोलाई बनाउने गरी गठबन्धनले निर्णय लियो । कांग्रेसको एउटा समूहले एमालेको समर्थन लिएर सरकार बनायो र पनि हामीले समर्थन गरिदियौं । अहिले कांग्रेसमा त्यही प्रवृत्ति दोहोरियो, आफ्ना उम्मेदवार जिताउने र हामीलाई हराउने गर्दा अविश्वास बढ्यो ।’

प्रतिपक्षी एमाले र राप्रपा गठबन्धनमा पनि धोका भएको भन्दै असन्तुष्टिको स्वर आएको छ । राप्रपाको भोट लिएर एमालेले आफ्ना उम्मेदवार रुक्मिणी कोइरालालाई जिताएको तर सोहीअनुसार आफ्ना उम्मेदवारलाई भोट नआएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । ‘हामीले इमानदारीपूर्वक मतदान गर्‍यौं तर एमालेबाट सहमतिअनुरूपको भोट आउन सकेन । धोका भयो ,’ उनले भने ।

एमालेको जित अन्य राजनीतिक दलसँगको ‘मित्रवत् सहकार्य’ ले सम्भव भएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको प्रतिक्रिया छ । उनले आफ्नै भोट थोरै भएको राप्रपाले आफ्ना उम्मेदवार नजित्दा एमालेले राजनीतिक बेइमानी गरेको भन्न नहुने बताए । ‘हामीले जित्नुका पछाडिका कारण एमालेले अहिले कोशीमा अन्य दलहरूसँग गरेको मित्रवत् सहकार्य हो । सांसद र स्थानीय पालिकाका साथीहरूसँग सहकार्य गर्ने व्यक्तित्व उम्मेदवार बनाउनु र एमालेले राष्ट्रियस्तरमा लिएको नीति नै हाम्रो जितको मूल कारण हो,’ उनले भने, ‘एमालेले राप्रपालाई धोका दिएको होइन, इमानदारी देखाएको छ । ३ सय भोट भएकालाई त्यति मतभारसम्म पुर्‍याएको छ ।’ एमालेका केही मतदाताले आफ्नो उम्मेदवार नभएको सूर्य चुनाव चिह्नमा भोट हालेको विषयमा आन्तरिक रूपमा छलफल हुने खतिवडाको भनाइ छ । राप्रपा प्रवक्ता श्रेष्ठ भने एमालेले उम्मेदवारी दिने बेलादेखि नै ‘राजनीतिक बेइमानी’ को संकेत गरेको बताउँछन् ।

सत्तारूढ गठबन्धनमा रहेको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने माओवादी उम्मेदवार पराजित भएको विषयमा अध्ययन हुने बताए । यसअघिको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको परिणाम स्मरण गर्दै उनले भने, ‘गठबन्धनको एउटा उम्मेदवार जित्दै गर्दा अर्को उम्मेदवार हारेको हो । दुई वर्षअघि पनि कोशीमा गठबन्धनको एउटा उम्मेदवार जितेको, एउटा हारेको र अर्को गोलाबाट जित्नुपर्ने अवस्था आयो । यस पटक करिब ८ सय मतले गठबन्धनको एउटा उम्मेदवार जित्दै गर्दा अनपेक्षित परिणाम आएको छ ।’ कोशीको निर्वाचन परिणामले माओवादीभित्र संशय पैदा हुनु स्वाभाविक भएको उनको भनाइ छ । ‘संगठित रूपमा लागेका हुन् या व्यक्तिगत रूपमा भएका गल्ती हुन् भन्ने अध्ययन गरी सत्यतथ्य खोजीका क्रममा छौं,’ उनले भने ।

कतिपय प्रदेशमा भने दुवै गठबन्धन एकढिक्का देखिन्छन् । मधेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगानाले ७ हजार ३ सय ७० मतभार प्राप्त गरेर विजयी भए भने जसपाकी पूजा चौधरीले ७ हजार ९ सय २३ मतभार ल्याइन् । मधेशका १ सय ३६ पालिकाको शतप्रतिशत मत आएको थियो भने प्रदेशसभाका १ सय ७ सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । मधेशमा कुल मतभार १० हजार ८ सय ३९ छ । लोसपाका सांसद अभिराम शर्माले भने मत खसालेनन् । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा जिल्ला अदालत महोत्तरीबाट कसुरदार ठहर सांसद शर्मा राष्ट्रिय सभाको चुनावमा मत दिन नगएका हुन् । निर्वाचन बिथोल्ने मनसायले प्रभु साहको आम जनता पार्टीले जनकपुर लक्षित प्रदर्शन गर्दा ६० भन्दा बढी कार्यकर्ता पक्राउ परे ।

वाग्मतीमा कांग्रेसकी विष्णुकुमारी पुडासैनीले ६ हजार ६ सय २२ मतभार प्राप्त गरेर विजयी भइन् । अपांगतर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारीले ६ हजार ३ सय ८३ मतभार प्राप्त गरे भने दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्माले ६ हजार ५ सय १२ मतभार पाए । अन्यतर्फ कांग्रेसकै जितजंग बस्नेतले ६ हजार ५ सय ३१ मतभार प्राप्त गरे । काठमाडौंका मेयर बालेन्द्र शाहले मतदान गरेनन् । गण्डकीमा गठबन्धनबाट माओवादी उम्मेदवारले कम भोट पाएर विजयी भए । खुला र अपांगतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार निर्वाचित हुँदा महिलातर्फ माओवादीका मनरूपा शर्मा विजयी भइन् । यी तीन उम्मेदवारका मतदाता गठबन्धनका हिसाबले एउटै भए पनि सबैभन्दा कम भोट पाउने भने माओवादीकी शर्मा रहिन् । उनले ३ हजार ६ सय ६० मतभार पाइन् भने कांग्रेसका श्रेष्ठले ३ हजार ८ सय ८ र परियारले ३ हजार ७ सय ७४ मतभार पाए ।

गण्डकीमा कुल मतभार ६ हजार १ सय ४० थियो । यहाँ ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष १ सय ७० गरी कुल २ सय ३० मतदाता थिए । केही मत बदर भएको थियो भने केही मतदाताले ‘भोट क्रस’ गरेका थिए । कुल २ सय ३० मध्ये २ सय २९ जनाले मत खसाले । सहकारी ठगीमा फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली मतदानमा अनुपस्थित रहे । बागलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको झन्डै २ अर्ब रुपैयाँ अपचलन गरेको आरोप उनीमाथि छ । गण्डकीमा राष्ट्रिय सभाको रिक्त तीन क्लस्टरका लागि गठबन्धनका ३, एमालेका ३ र राप्रपाका २ सहित ८ उम्मेदवार चुनावी मैदानमा थिए ।

लुम्बिनीमा भने सत्ता गठबन्धनका दुवै उम्मेदवारले समान मत प्राप्त गरेर विजयी भएका छन् । माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदी र विष्णुदेवी सापकोटाले समान ५ हजार ४ सय ३५ मतभार प्राप्त गरे । लुम्बिनीमा प्रदेशसभा सदस्यतर्फ ८७ मतदाता रहेकामा शतप्रतिशत मत खसेको थियो । स्थानीयतर्फ २ सय १८ मतदातामध्ये २ सय १६ जनाले मत खसालेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । १ सय ६ मतभार बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रूपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय अनुपस्थित रहे ।

कर्णालीमा पनि सत्ता गठबन्धनका उम्मेदवार विजयी भए । यहाँ माओवादीका विष्णु विकले ३ हजार ८ सय १७, एकीकृत समाजवादीकी सावित्री मल्लले ३ हजार ७ सय २२ र कांग्रेसका कृष्णबहादुर रोकायले ३ हजार ८ सय ७० मतभार प्राप्त गरे । कर्णालीका ७९ स्थानीय तहका कुल १ सय ५८ र प्रदेशसभाका ४० मतदातामध्ये १ सय ५६ जनाले मतदान गरेका थिए । दैलेखको महाबु गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ र जाजरकोटको नलगाड उपप्रमुख सरिता सिंहको निधन भएको थियो ।

सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा माओवादीका रेनु चन्द विजयी भएका हुन् । यहाँ बोहराले ४ हजार ३ सय २८ मतभार प्राप्त गरेका थिए । भट्टले ४ हजार ४ सय १९ र चन्दले ४ हजार ४ सय ५३ मतभार प्राप्त गरे । यहाँ स्थानीय तहका १ सय ७६ मध्ये १ सय ७३ र प्रदेशसभाका ५२ जनाले मतदान गरे । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवाले मतदान गरेनन् । बाजुराको स्वामीकार्तिककी उपाध्यक्ष मैना जोशीको हालै निधन भएको छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार