श्रावण ७, २०८२ बुधबार July 23, 2025

निजामती सेवामा महिलाको फड्को : उच्च ओहोदामा उपस्थिति बढ्दै

विशिष्ट श्रेणीको ७४ दरबन्दीमा पहिलोपटक १२ प्रतिशत महिला पुग्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निजामती सेवामा महिलासहित अन्य समावेशी समूहको सहभागिता क्रमशः सुधार हुँदै गएको छ । सरकारी जागिरप्रतिको आकर्षणसँगै सरकारी सेवामा प्रवेश गर्ने महिलालगायत अन्य समावेशी समूहको संख्यासमेत बढ्दो छ । समावेशी समूहभित्र पनि महिलाको प्रतिनिधित्व उल्लेख्य रूपमा बढ्दै गइरहेको छ । साथै, उनीहरू विभिन्न निकायको नेतृत्वदायी भूमिकामा पुगेका छन् । अघिल्लो वर्र्ष नौ जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी महिलाले पाएका थिए । यो वर्ष पनि निजामती सेवाको इतिहासकै रेकर्ड ब्रेक भएको छ । पहिलोपटक एकैचोटि नौजना महिला नेपाल सरकारको विशिष्ट श्रेणी अर्थात् सचिव पदमा कार्यरत छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रेकर्डअनुसार विभिन्न सेवामा विशिष्ट श्रेणीको ७४ दरबन्दीमा पहिलोपटक १२ प्रतिशत महिला पुग्न सफल भएका हुन् ।

अहिले निजामती सेवामा ८५ हजार ५१२ जना कर्मचारी रहेको निजामती किताबखानाको तथ्यांक छ । जसमध्ये २४ हजार १४३ महिला कर्मचारी छन् । अर्थात् निजामती सेवामा महिलाले २८ दशमलव २३ प्रतिशत हिस्सा ओगटेका छन् । आर्थिक वर्ष २०६७/६८ मा ७७ हजार ८४८ जना निजामती कर्मचारी रहेकोमा १० हजार ७७३ जना अर्थात् १३ दशमलव ८३ प्रतिशत महिला थिए । अहिले यो संख्या दुई गुणाले बढेको छ । अहिले ७५३ स्थानीय तहमध्ये १४ वटामा प्रमुख प्रशासकीय अधिकृत महिला छन् । ७७ मध्ये आठवटा जिल्लामा प्रमुख जिल्ला अधिकारी महिला छन् ।

निजामती सेवामा ५८ जना सहसचिव र ३६५ उपसचिव महिला छन् । शाखा अधिकृत, नायब सुब्बा र खरिदारमा पनि महिलाको उपस्थिति उल्लेख्य छ । न्याय सेवातर्फ पनि महिला उपस्थिति बढ्दो छ । सर्वोच्चमा न्यायाधीश र रजिस्ट्रारमा महिला एक-एकजना मात्र भए पनि उच्च अदालतमा १८ र जिल्लामा सातजना न्यायाधीश महिला छन् । सहसचिव, उपसचिव तथा शाखा अधिकृतमा महिलाका ठूलो संख्या रहेका कारण अब विशिष्ट श्रेणीमा महिलाको उपस्थिति बढ्दै जाने सम्भावना देखिन्छ ।

निजामतीका विभिन्न सेवामध्ये सबैभन्दा बढी तीनजना महिला प्रशासन सेवाको विशिष्ट श्रेणीमा पुग्न सफल भएका छन् । प्रशासनतर्फ देवकुमारी गुरागाईं, लक्ष्मीकुमारी बस्नेत र राधिका अर्याल सचिव हुनुभएको छ । प्राविधिक सेवातर्फ प्रमिलादेवी बज्राचार्य र सरिता दवाडी हुनुहुन्छ । त्यस्तै, कानुन तथा न्याय सेवातर्फ पनि दुईजना महिला विशिष्ट श्रेणीमा पुगेका छन् । कानुन सेवातर्फ लीलादेवी गड्तौला र न्याय सेवातर्फ निर्मला पौडेल हुनुहुन्छ । यीमध्ये पौडेल हालै उच्च अदालतको न्यायाधीश पनि नियुक्त भइसक्नु भएको छ । लेखापरीक्षण सेवा र परराष्ट्र सेवातर्फ भने विन्दु विष्ट र सेवा लम्साल विशिष्ट श्रेणीमा पुग्न सफल हुनुभएको छ । जसलाई निजामती सेवाको इतिहासमा रेकर्ड ब्रेकर मान्न सकिन्छ ।

राज्यका निकायहरू समावेशी बन्दै जाँदा महिलाको नेतृत्वदायी भूमिकालाई लैंगिक समानताका दृष्टिले सकारात्मक रूपमा लिनुपर्ने विज्ञहरूको भनाइ छ । निजामती सेवा सुरक्षित हुनु, सेवामा आरक्षणको व्यवस्था लागू हुनुलगायत कारणले सार्वजनिक सेवामा महिला सहभागिता बढेको पाइन्छ । निजामती सेवा ऐनको प्रावधानअनुसार हरेक समूहका लागि समावेशीताका लागि खुल्ला पदपूर्ति हुनेमध्ये ४५ प्रतिशत विभिन्न समुदायका निम्ति छुट्याइने व्यवस्था छ । छुट्टयाइएको ४५ प्रतिशतलाई शतप्रतिशत मान्दै त्यसअन्तर्गत महिलाका लागि ३३, आदिवासी जनजातिका लागि २७, मधेसीका लागि २२, दलितका लागि नौ प्रतिशत तथा अपांगता भएका व्यक्तिका लागि पाँच र पिछडिएका समूहका लागि चार प्रतिशत कोटाको व्यवस्था गरिएको छ ।

निजामती प्रशासनमा महिलाहरूले प्रतिस्पर्धाकै आधारमा छनोट हुँदै माथिल्लो तहमा जाने क्रम बढेको छ । सरकारी सेवामा लाग्ने महिलाको संख्या बढेसँगै उपसचिव, सहसचिव र सचिवलगायत पदमा जान उनीहरूका लागि नीतिगत व्यवस्था गरिएको छ । संविधानले समावेशी नीति अंगीकार गरेपछि सबै क्षेत्रमा बढ्दै गएको महिला सहभागिताले नेपाल लैंगिक दृष्टिमा अन्य देशको तुलना अब्बल बन्दै गएको उदाहरण पेस भएको छ । तर, पनि संरचनागत विभेद र अन्याय महिलाको हकमा अझै हट्न भने सकेको छैन ।

पहिलोपटक दलित समुदायबाट चार सिडिओ

महिलाहरू मात्र होइन अन्य समावेशी समूहबाट पनि राज्यको प्रशासनिक तहको नेतृत्वदायी भूमिमा पुग्नेहरूको संख्या सुधार हुँदै गइरहेको छ । नेपालमा पहिलोपटक दलित समुदायबाट चारजना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारीमा पुगेका छन् । प्रशासनिक तथा शान्ति सुरक्षाको जिम्मेवारी पाएको गृह मन्त्रालयअन्तर्गत रहेका ७७ जिल्ला प्रशासन कार्यालयमध्ये चारवटाको नेतृत्व दलित समुदायका निजामती कर्मचारीले पाएका हुन् ।

गृह मन्त्रालयका अनुसार दुई/दुई राजपत्रांकित प्रथम श्रेणी अर्थात् सहसचिवस्तर र राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिवस्तरका दलित समुदायका कर्मचारीले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका छन् । दुई सहसचिव सन्तबहादुर सुनार र मेखबहादुर मंग्राती क्रमशः खोटाङ र पाँचथरमा प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । त्यस्तै, दुई उपसचिव सुरेश सुनार र गणेश नेपाली क्रमशः जाजरकोट र कालीकोटमा प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

नेपालको निजामती इतिहासमा दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी हुने पहिलो व्यक्ति डा.मानबहादुर विके हुनुहुन्छ । सचिवसम्म हुनुभएका उहाँ उमेर हदका कारण अनिवार्य अवकाशमा गइसक्नु भएको छ । यस्तै, दलित महिलाबाट प्रमुख जिल्ला अधिकारी बन्ने उपसचिव सीता परियार पहिलो हुुन् । परियार हाल काठमाडौं इलाका प्रशासन कार्यालय साँखुको कार्यालय प्रमुख हुनुहुन्छ । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार