श्रावण ८, २०८२ बिहिबार July 24, 2025

मानव तस्करको जालोमा परेर धमाधम बेचिँदै नेपाली महिला

कुवेतमा बेचिएकी चेली भन्छिन्– मैले आठ दिन भयो खाना नखाएको, उद्धार गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मारेकी छु अब मैले घर आउने आश
कुन दिनमा आउँछ मेरो बाकसभित्र लास ।
बाउआमालाई हुनेभयो बाँचुन्जेल पीर
सम्झिँदा नि भएको छ मुटु चीरा चीर ।।

लोक गायिका कालिका रोक्काले भनेजस्तै भएको छ, दैलेखकी कल्पना बुढालाई । वैदेशिक रोजगारीका लागि विदेश जाने, धेरै पैसा कमाउने र परिवारलाई सुख सुविधा दिने सपना साँचेर धेरै नेपाली चेली बिदेसिएका छन् । यस्तैमध्येकी एक हुन् उनी । करिब ६ महिनाअघि राम्रो कमाइ हुने प्रलोभनमा परेर दलालमार्फत् कुवेत पुगेकी उनलाई धेरै पछि मात्र थाहा भयो, आफू एक कुवेती नागरिकको घरमा बेचिएको कुरा । उनलाई अनु गिरी नाम गरेकी एजेन्टले कुवेतमा लगेर ९ सय ५० कुवेती दिनारमा बेचेकी थिइन् ।

उनले एक भिडियो सार्वजनिक गर्दै आफू कुवेतमा बेचिएको भन्दै उद्धारको आग्रह गरेकी छन् । ‘मलाई यहाँ कुवेतमा दलालले बेचेको छ, मलाई गैरकानुनी बाटो हुँदै घरको काममा पठायो, पहिलो घरमा काम गर्दा पनि घर मलिकले छातीमा कुट्यो,’ उनले भनेकी छन्, ‘अनि अहिले अर्को घरमा काम गर्न पठाएको छ, यहाँ आएदेखि खान पाएको छैन, खाना खान नपाएको पनि आठ दिन भइसक्यो, खाना पनि खान नदिई काम मात्र लगाउँछ, हरेक दिन रातिको २÷३ बजेसम्म काम गर्नुपर्छ, शारीरिक तथा मानसिक यातना सहेर बाँचेकी छु, मलाई छिटो उद्धार गर्नुहोस् ।’

राति ३ बजेसम्म काम गरेर सुत्न जाँदा पनि बिहान ५ बजे नै उठ्नुपर्ने र केही नखाइ काम गर्नुपर्ने हुँदा दिन प्रतिदिन आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदै गएको उनले बताएकी छन् ।

‘म यहाँ एउटा ठूलो सपना बोकेर आएकी थिएँ, मेरो बाबाको एउटा खुट्टा छैन, म केही कमाएर बाबाको कृत्रिम खुट्टा हालिदिनुप¥यो भनेर यहाँ आएकी थिएँ, तर दलालको फन्दामा पर्दा म बेचिएँ, मलाई जसरी भए पनि उद्धार गर्नुहोस्, म यो कालको कोठीबाट निस्किन चाहन्छु,’ उनले रुँदै सार्वजनिक गरेको भिडियोमा भनिएको छ, ‘मलाई नेपाल झिकाइदिनुहोस्, मेरो बाबाको खुट्टा छैन, मैले भाइबहिनी पनि पढाउनु छ, एजेन्ट वा अफिसमा फोन गर्दा ४ लाख रुपैयाँ दिए मात्र नेपाल फर्किन पाउँछेस् भन्छ, मजस्तो गरिबले कहाँबाट ल्याउने त्यत्रो पैसा ?’

कुवेतमा रहेको एजेन्टले ४ लाख रुपैयाँ नदिए घर पठाउन नसक्ने र मरेपछि शव नेपाल पठाइदिने धम्की दिएको बुढाले बताएकी छन् । ‘नेपालबाट पठाउने एजेन्ट अनु गिरीलाई सम्पर्क गर्दा १ लाख १० हजार भारतीय रुपैयाँ दिए मात्र नेपाल फर्काउँछु, नत्र फर्काउँदिन’ भनेको उनको भनाइ छ । बुढाले नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास, देश–विदेशमा रहने सम्पूर्णलाई आफू जिउँदै नेपाल फर्कन चाहेको भन्दै सबैलाई सहयोग गरीदिन पनि अनुरोध गरेकी छन् ।

मुख्यगरी घरेलु महिला कामदारको रोजाइ बनेको कुवेतमा अन्य क्षेत्रमा आउने कामदारले समेत निकै दुःख भोग्नुपरेको छ । कतिपय नेपालीले कुवेतमै आफ्नो जीवन गुमाइसकेका छन् । परिवार र सरोकारवालाले खोजे पनि सास न लास भएर कुवेतमै बेपत्ता हुने नेपाली धेरै छन् ।

कतिपय नेपालीलाई कुवेत ल्याएर साउदी अरब पठाइने गरेकाले पनि उनीहरूको अवस्था पत्तो नलाग्ने गरेको हो । कुवेतमा नेपाली महिलालाई कानुनी रूपमा किनबेच हुनेगरेको र पटकपटक किनबेच गर्न महिलालाई काम गरिराखेको घरबाट भगाउने प्रवृत्ति व्यापक रहेको पाइन्छ । त्यसरी मालिकले २ वर्षका लागि ‘हाउसमेड’लाई लैजान्छन् । त्यस अवस्थामा कामदारको कार्यसमय निश्चित हुँदैन । बिदा र तलबका साथै समयमै घर फर्कन नपाउने अवस्था छ ।

पछिल्लो समय नेपाली चेलीहरू विमान नचढ्दै नेपालमै ‘बिक्री’ हुने गरेका छन् । कुवेतलगायत खाडी मुलुक जाने अधिकांश नेपाली चेलीलाई मानव तस्करहरूले सम्बन्धित मुलुकमा जाने ठाउँका घर मालिकहरूसँग मोटो रकम लिएर बिक्री गर्ने गरेको पाइन्छ । पछि समस्यामा परेपछि हारगुहार गर्ने नेपाली चेलीको संख्या बढ्दो छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार