वैशाख १५, २०८१ शनिबार April 27, 2024

बोल्नै पाइदैन भनेर पार्टीले निर्णायक पाइला चाल्यो भने मैले पनि निर्णायक पाइला चालौंला : एमाले नेता, भीम रावल (अन्तवार्ता)

अर्को यही मानकको भाडभैलो हुने हो भने संघीयता देशका लागि आवश्यक छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दुई महिनासम्म गृहजिल्ला अछाम रहनुभयो । यति लामो समय बस्नुको उद्देश्य के हो ?

यति लामो समयसम्म पार्टीमा काम गरियो । जनता र पार्टीका नेता-कार्यकर्तासँग लामो सम्बन्ध रहृयो । उहाँहरुका धारणा बुझ्ने, कसरी अगाडि जान उपयुक्त हुन्छ भन्ने विषयमा छलफल जारी राख्ने काम गरेँ ।

झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रामा देखिनुभएन । तर संकल्प यात्रा कर्णाली तरेपछि अछाम पुग्नु कस्तो संयोग हो ?

कार्यक्रम सम्बन्धमा प्रदेश अध्यक्षले फोन गर्नुभएको थियो । उहाँले पत्र पठाऊँ कि के गरौं भन्नुभएको थियो । मैले उहाँलाई प्रदेशको कार्यक्रम भए तपाईंले यति भनेपछि म आइहाल्थे । केन्द्रले एउटा निर्देशन जारी गरेको छ, यी-यी व्यक्ति सहभागी हुन पाउने भनेर ।

पछि उहाँले (प्रदेश अध्यक्ष) अध्यक्ष र महासचिवसँग कुरा राख्दा तपाईंले झुलाघाट जानुपरेन, अछाम आफ्नै किसिमले गए हुन्छ भन्नुभयो । त्यो भएपछि मेरो इच्छा हुँदाहुँदै सम्भव भएन ।
जहाँसम्म कर्णाली तरेपछि म पुग्ने कुरा एउटा संयोग पनि हो । अर्को, कार्यक्रममा मेरो सहभागितामा रुचि छैन भने त्यहाँ उपस्थित हुनुपर्ने राजनीतिक दृष्टिकोणले उचित पनि हुँदैन । सरोकार पनि भएन ।

पार्टीको पूर्वउपाध्यक्ष, उपप्रधानमन्त्री भइसकेको व्यक्तिले यसरी अलग्गै देखिनु पछाडि अलग पार्टी खोल्ने तयारी त होइन ?

अर्को दल खोल्नेे भए कुरा लुकाएर हिँड्ने सोच्नै सकिदैन । किनभने दल खोल्नु झण्डा जस्तै हो । आफ्ना नीति, कार्यक्रम र सिद्धान्त अघि लिएर जनतालाई आहृवान गर्ने हो ।

त्यो स्थिति आए म नसक्ने मान्छे होइन । स्वदेश, प्रवास सबैतिर तपाई कदम चाल्नुहोस् भन्ने देशभक्तिपूर्ण ठूलो पंक्ति छ । तर त्यो मैले सोचेको होइन ।

यत्रो वर्ष काम गरियो यस (एमाले) मा । हजारौँ देशभक्त नेता-कार्यकर्ता संगठित छन् । पार्टी भनेको कसैको व्यक्तिगत होइन । हजारौँ हजार मान्छेको रगत पसिनाबाट बनेको हो । मैले पाँच दशक लामा कठोर संघर्ष गरेर योगदान गरेको छु । त्यसका लागि भरसक यो पार्टी उपयोगी बनोस् ।

देशमा बाहृय हस्तक्षेप छ । हामी समाजवाद ल्याउने उद्देश्य, उद्देश्यका साथ लडेका छौं । ठूलठूला षड्यन्त्र गरेर यसलाई टुक्राटुक्रा पारेर सिध्याउने खेल खेलिरहेका छन् ।

यस्तो स्थितिमा यो पार्टी जोगियोस् । देशको लागि उपयोगी होस् भन्ने चाहना हो । तर त्यसका लागि जसको हातमा अधिकार छ उहाँहरुले त्यो वातावरण बनाउनुपर्‍यो ।

पार्टी अध्यक्षसँग मतभेद भएकाले कार्यक्रमहरुमा नजानुभएको भन्ने पनि आशंका छ नि ?

उहाँसँग कुनै व्यक्तिगत मनमुटाव छैन । कुनै पूर्वाग्रह, अनादर केही छैन । केही राजनीतिक विषय छन् । जस्तै- देशलाई उपनिवेशको बाटोमा धकेल्ने गरी एमसीसी पारित किन गरियो ? त्यहाँ सांसदलाई बोल्न किन दिइएन ?

नागरिकता विधेयकमा विदेशीलाई हुलेर जनसंख्याको राजनीतिबाट नेपालको अस्मितामाथि धावा बोल्ने किन भयो ? सीमाना मिचेकोमा किन नबोलेको ? लिम्पियाधुरा, लिपुलेक, कालापानीमा भारतीय अतिक्रमण छ, संकल्प यात्रा थाल्दा विदेशी हस्तक्षेप मुक्त होस् भनेर प्रस्ताव किन पारित नगरेको ?

जनताको बहुदलीय जनवाद प्रतिस्पर्धाको राजनीति हो । पार्टीभित्र पनि कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने निष्पक्ष चुनावमा भाग लिन पाउने प्रत्यकको अधिकार हो । मदन भण्डारीले यो पार्टी खोपीको देवता होइन, त्यही सन्दर्भमा भन्नुभएको हो ।

आजकल केन्द्रबाट फोन गरेर तिमीले उठ्न पाउँदैनौं, फलानोलाई टीका लगाउ भनिन्छ । यो कहाँको जबज हो ? यस्ता राजनीतिक र सैद्धान्तिक विषय छन् ।

तर यो भन्दा कसैले मलाई व्यक्तिगत अन्तरविरोध बढ्यो भन्छ भने देश र जनताको हितमा बोल्न पाइदैन भन्नुपर्‍यो ।

तपाईलाई पार्टीमा सक्रिय गराउन वार्ता टोली पनि गठन भएको थियो । कहाँ अड्कियो कुरा ?

उहाँहरुले खबर गर्नेबित्तिकै म गएँ । राम्रो वातावरणमा कुराकानी भयो । कार्यदलमा रहेका साथीहरुले अध्यक्षको धारणा सुनेर फेरि कुरा गरौँ भन्नुभएको हो । त्यसपछि कहाँ जानुभयो ? उहाँहरुलाई नै सोध्दा थाहा होला ।

त्यसबेला केन्द्रीय कार्यालयमा अध्यक्षसँग दुई घण्टासम्म कुरा भयो । अन्त्यमा एक महिनापछि फर्किएर कुरा गरौं भनेेको थिएँ । एक महिनापछि फर्किएँ पनि । तर उहाँले मलाई केही खबर गर्नुभएन । किन गर्नुभएन ? उहाँलाई नै थाहा होला ।

पार्टीमा भएका अन्तरविरोध, सैद्धान्तिक मतभेद, सांगठनिक समस्याहरु समाधान गर्ने प्रमुख दायित्व कार्यकारी ठाउँमा भएको व्यक्तिको हो । म जतिबेला सुदूरपश्चिम इन्चार्ज थिएँ, त्यहाँ कार्यकर्ताको अन्तरविरोध भयो भने मान्छेहरुलाई बोलाउथेँ, घण्टौं कुरा गरेर समाधान गर्थेँ । त्यसकारण अन्तरसविरोध समाधान गर्ने जिम्मा सम्बन्धित व्यक्तिको हो । म उहाँले बोलाउँदा गएको छु । कुराकानी पनि भएको छ तर उहाँले खबर नगरेपछि मेरो हातमा कुनै अधिकार छैन । कुरा कहाँ पुग्यो भन्ने कुरा उहाँहरुलाई सोधे भन्नुहोला ।

दुई घण्टा छलफल हुँदा कुनै ठोस् कुरा भएन ?

कुनै ठोस प्रस्ताव गर्नुभएन । विभिन्न घटनाक्रमबारे सामान्य कुराकानी गर्नुभयो । एकप्रकारले घटनाक्रमबारे आफूलाई लागेको कुरा भयो ।

कार्यदलका साथीहरुलाई मैले तपाईहरुले निर्णय गर्न सक्ने कति हो ? फेरि अध्यक्षलाई सोध्नुपर्ने होला । त्यसपछि फेरि कुरा गरौंला भन्दा हुन्छ भन्नुभएको हो । तर उहाँहरुले उल्टो प्रचार गरेको भेटें, जुन सरासर गलत हो ।

भीम रावल कति समय भूमिकाविहीन बस्न सक्छन् र भन्ने आशंका पनि छ नि ?

मैले कहिले पनि सत्ता र पदलाई प्राथमिकतामा राखिनँ । जुनबेला पञ्चायतविरुद्ध लडिरहेका थियौं, त्यो बेला मन्त्री बन्ने, पद पाउने कल्पना पनि गरेका थिएनौं । निस्वार्थ ढंगले काम गरेका थियौँ ।

राष्ट्र हितलाई सर्वोपरी राखेर काम गर्ने कम्युनिष्ट पार्टीको परिपाटीबाट अघि बढेको हुँ । अहिले पनि पदमा भए पनि नभए पनि मेरो दृष्टिकोण र सोचाइमा कुनै अन्तर आएको छैन । रक्षामन्त्री हुँदा भारतले गरेको नाकाबन्दीको प्रतिवाद गरेँ । गृहमन्त्री हुँदा भारत र चीनका गृहमन्त्रीसँग कुरा गर्दा कतै नेपालको स्वाधीनता झुकेको देख्नुभएको छ ?

प्रष्ट रुपमा राष्ट्रिय हितका विषयमा कुराकानी गर्दा कोही रिसाएनन् । हजारौं देशभक्त नेपालीहरु जसरी मेरा कुरा अघि सार्छु त्यही विचारमा छन् भन्नेमा विश्वस्त छु ।

पदमा भएको भए राष्ट्रको नीति, निर्माण तहमा गएर प्रभाव गर्न सकिन्छ । जस्तै अहिले म संसदमा भएको भए नदीनाला भारतलाई सुम्पिदा, भारतीय दूतावासले २० करोड रुपैयाँको योजनामा सिधै लगानी गर्ने कुरा ल्याउँदा म प्रभावकारी भूमिका खेल्न सक्थेँ ।

कहिलेसम्म यसरी जाने भन्ने कुरा छ, अहिले म एमालेको सदस्य छु । देशका लागि बोल्दा, पार्टीको सिद्धान्त, नीति, मार्क्सवाद, लेनिनवादका कुराका मूल प्रस्तावनामा बोल्दा बोल्नै पाइदैन भनेर पार्टीले निर्णायक पाइला चाल्यो भने मैले पनि निर्णायक पाइला चालौंला । होइन भने यो पार्टी अझै पनि त्यो दिशामा जाओस् भन्ने प्रयत्न जारी छ ।

तर अहिले पनि राष्ट्रिय परियोजनाहरुबारे त बोलिरहनुभएकै छ । के राष्ट्रिय स्वाभिमानमाथि ठूलै समस्या आइरहेको लाग्छ ?

नेपाली कांग्रेसले कोशी, गण्डकी हुँदै सम्पूर्ण नदीनाला भारतलाई जिम्मा लगायो । आजसम्म कोशी बाँध बनाउँदा डुबेको जग्गाको मुआब्जा किसानले पाएका छैनन् । फेरि कोशी उच्च बाँधको कुरा बढाउन खोज्दैछ । जसले पूर्वको धेरै क्षेत्र डुबान गर्छ । नेपालले ठूलो क्षति भोग्छ । अर्बौको क्षति व्यहोर्नुपर्ने कोशी उच्च बाँधको कुरामा दिल्लीसँग कुरा गर्न टीम पठाइसकेको छ ।

माथिल्लो कर्णाली जीएमआर कम्पनीले ओगटेको १६ वर्ष भयो । आयोजनाको सम्झौता भएको ९ वर्ष हुन लाग्यो । कुनै काम भएको छैन । फुकोट कर्णाली पनि भारतलाई जिम्मा दिइयो । पश्चिम सेती र एसआर सिक्स देउवाले भारतलाई बुझाएको हो ।

चिनियाँ कम्पनीलाई दिएको बुढीगण्डकी आयोजना देउवाले प्रधानमन्त्री हुँदा बिना प्रतिस्पर्धा दिन पाइदैन भनेर खारेज गर्नुभयो । उहाँलाई प्रश्न गर्छु, बुढीगण्डकी प्रतिस्पर्धाबाट दिन पाइदैन भने पश्चिम सेती, सेती ६, फुकोट, अरुण कहाँ प्रतिस्पर्धा गर्नुभयो ? सत्ताका लागि लम्पसार पर्ने ?

अहिले भारतीय दूतावासले नेपालका विकास योजनामा २० करोड रुपैयाँ सोझै बाँड्ने समझदारी भयो । यो भनेको अन्तर्राष्ट्रिय कानुन र देशको स्वतन्त्रताविरुद्ध छ । माओवादीका केही नेताले सूर्यबहादुर थापाको पालामा ३ करोड र बाबुराम भट्टराईको पालामा ५ करोडसम्मको योजनामा सोझै लगानी गर्ने समझदारी भएको थियो भनिरहेका छन् ।

त्यसो भए पुष्पकमल दाहालजी र माओवादी नेताहरुले भन्नुहोस्- सूर्यबहादुर थापा र हामी एउटै मार्काको हौं । सूर्यबहादुरले जसरी भारतको भक्ति गरेको थिए, हामी पनि त्यही मार्काको हौँ भन्नुहोस् ।

अर्को कुरा, विमानस्थल अत्यन्त संवेदनशील क्षेत्र हो । गठबन्धनको सरकारले निजी र सार्वजनिक सहभागितामा विमानस्थल विदेशीको हातमा बेच्ने दाउ गरिसकेको छ । अनि पुष्पकमल दाहालजी कुन देशको प्रधानमन्त्री हो ? कसको सेवामा गरिरहनुभएको छ ? नेपालको दीर्घकालीन हित र स्वाधीनतामाथि त उहाँले आघात पुर्‍याउने काम गरिरहनुभएको छ ।

अहिले पूर्वराजाको राजनीतिक गतिविधिप्रति दलहरुले आपत्ति जनाइरहेका छन् । तपाईं यसबारे के भन्नुहुन्छ ?

प्रधानमन्त्रीले दरबार हत्याकाण्डको छानबिन गर्छौं भन्नुभयो । म उहाँलाई भन्छु-तुरुन्त छानबिन थाल्नुहोस्, परिणाम ल्याउनुुस् ।

मदन भण्डारी हत्याकाण्डको छानबिन गर्नुस् । अमर लामालाई मार्ने उहाँहरु नै होइन ? किन प्रमाण मेटाएको ? एमालेका तत्कालीन महासचिवको हत्यामा संलग्न प्रत्यक्षदर्शीलाई किन मार्नुभयो ?

जहाँसम्म पूर्वराजाको गतिविधिको कुरा छ, अहिले उहाँले गरेको गतिविधिमा जनताको सहभागिता भइरहेको छ । यो सिर्जना गर्ने को हो ? कम्युनिष्ट इतिहासमा प्राप्त झण्डै दुई तिहाइ बहुमत जोगाउने कर्तव्य कसको थियो ? पार्टीका प्रमुख नेता, जसको हातमा कार्यकारी अधिकार थियो उहाँहरुको होइन ? अब फेरि दुई तिहाई ल्याउने निकट भविष्यमा कुनै सम्भावना छ ?

आफू यस्तो गर्ने अनि पूर्वराजाका गतिविधि बढ्यो भने जिम्मा र आत्मनिरीक्षण गर्नपर्ने कि नपर्ने ? पूर्वराजाका आमसभा, भेलाबाट यदि उहाँहरु त्रसित हुनुभएको हो भने उहाँहरु कति कमजोर ?

पूर्वराजाले एउटा सभा गरे, मान्छे आए के भयो ? उहाँहरुले त्यो भन्दा ठूलो सभा राखेर आफ्नो कुरा राख्नु नि । पूर्वराजाका मान्छे आएर टाउको दुख्यो भन्नु हास्यास्पद हो ।

युद्धग्रस्त क्षेत्रहरुमा नेपालीहरु गइरहेका छन् र ज्यान गुमाइरहेका छन् । सरकारको भूमिकाबारे के भन्नुहुन्छ ?

एउटा सार्वभौम स्वतन्त्र देशले आफ्ना नागरिकलाई अर्को देशकोसेनामा भर्ती गर्न दिँदैन । नेपालको कानुनले पनि रोक्छ । यदि कुनै घटना भए तत्काल वार्ता गर्न हच्किनुपर्दैन । यदि मानेन भने अन्तर्राष्ट्रिय समुदाय राखेर अगाडि बढ्नुपर्छ ।

तर परराष्ट्र मन्त्रालय एउटा विज्ञप्ति प्रकाशन गर्छ । कूटनीतिक नोट पठायो रे, उसले जवाफ दिएन भन्छ कुरा सकियो ।

अन्त्यमा, संविधानका महत्वपूर्ण अन्तर्वस्तुहरु संघीयता, धर्म निरपेक्षता जस्ता विषय फेरि राजनीतिक एजेण्डा बन्न पुगेको छ । यो ठीक हो ?

म संविधान निर्माणका क्रममा दुवै संविधानसभामा थिए । हामीले त्यतिबेला समानुपातिक प्रणालीमा के परिकल्पना गरेका हौं भने जो समुदाय, व्यक्ति प्रत्यक्ष निर्वाचनबाट आउन सक्दैन । राज्यको सहभागिताबाट ल्याउनुपर्ने छ, त्यस्ता व्यक्ति र समुदायलाई प्रतिनिधित्व गराउन ल्याएको हो ।

तर पूर्वप्रधानमन्त्रीकी श्रीमती, पार्टी नेताका नातेदार, शिष्ट भाषामा भन्दा चन्दा दिएर आउने, छुट्टै पार्टीको अध्यक्ष भएर अर्को पार्टीको सांसद भएर ल्याउने यस्तो गर्नलाई ल्याएको होइन । अहिले समानुपातिक प्रणाली गुटबन्दी गर्ने, आफ्ना नातागोता, छोराछोरी, भाइभतिजालाई ल्याउने, पैसा जसले दिन्छ उसलाई ल्याउनेजस्तो प्रणाली भयो, यो खारेज हुनुपर्छ ।

अर्को यही मानकको भाडभैलो हुने हो भने संघीयता देशका लागि आवश्यक छैन । सबभन्दा पहिले राज्यको हितमा जति पनि धाराहरु हामीले राख्यौं, तिनलाई किन कि्रयाशील नगरेको ? प्रधानमन्त्री हुनेहरुले नै तिनलाई छोपेर राखेका छन् ।

जातीय आधारमा प्रदेश बनाउने कुरा अहिले स्वयं प्रधानमन्त्रीले उचालिरहनुभएको छ । १४० भन्दा बढी जाति भनेर जनसंख्यामा देखाइएको छ, त्यति जातीय राज्य हुन्छन् ? एक प्रतिशत, आधा प्रतिशत जनसंख्या भएकालाई राज्य चाहिने अनि १७ प्रतिशत भएकाले राज्य माग्नै नपाउने ? संविधान संशोधन गर्ने हो भने राष्ट्रिय हित, स्वाधीनता, समृद्धिका लागि यो दफा यति कारणले बाधक बन्यो । संशोधन गरेर बलियो बनाउँछु भनेर स्पष्ट तर्क ल्याउनुपर्‍यो नि । अनलाइनखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया