काठमाडौँः उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै विद्यार्थीहरूले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ । मुलुकको सुनौलो भविष्य निर्माण गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज नेपाल तराई विद्यार्थी नवजागरण सङ्घले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा उपराष्ट्रपति यादवले नेपालको सन्दर्भमा इन्जिनियरिङ शिक्षाको महत्व र उपादेयता अझै बढी रहेको बताउनुभयो । शिक्षासँगै अटल समर्पण, त्याग र तपस्या पनि उत्तिकै आवश्यक भएको उहाँको भनाइ थियो ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाले सम्पूर्ण विद्यार्थीमा आपसी मेलमिलाप, भाइचारा, सदाचार, मैत्रीभाव र बन्धुत्व भावका साथ समाज तथा देशको सेवाका लागि दत्तचित्त भई सदैव अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भनी उपराष्ट्रपति यादवले कामना गर्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया