काठमाडौंः बहुचर्चित ललिता निवास जग्गा प्रकरणको निर्णय प्रक्रियामा संलग्न भएका तत्कालीन राजनीतिक नेतृत्वले विशेष अदालतबाट सफाइ पाएका छन् ।
मन्त्रीपरिषद्को नीतिगत निर्णय भएको भन्दै यही प्रकरणको दोस्रो चरणको अनुसन्धानमा पूर्वप्रधानमन्त्रीहरूलाई सरकारी साक्षी बनाइँदा जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएका तत्कालीन तीन मन्त्रीले विशेषबाट सफाइ पाएका हुन् । मन्त्रीहरूले सफाइ पाए पनि प्रशासनिक नेतृत्व सम्हालेका दुई पूर्वसचिव उक्त प्रकरणमा दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रीतेन्द्र थापाको इजलासले लगातार एक महिनाको सुनुवाइपछि ललिता निवास प्रकरणमा बिहीबार फैसला गरेको हो । इजलासले उक्त प्रकरणमा अभियोग लागेका पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ ।
अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यातलाई उक्त प्रकरणमा दोषी ठहर गरेको छ । यस्तै २०७० को चुनावी सरकारका मन्त्री एवं पूर्वसचिव छविराज पन्तलाई पनि जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै दोषी ठहर गरेको छ । अदालतले बस्न्यातलाई ८० लाख ४८ हजार जरिबाना र दुई वर्ष कैद सजाय सुनाएको छ । यस्तै पन्तलाई पनि अदालतले ८० लाख ४८ हजार जरिबाना र दुई वर्ष कैद सजायको फैसला गरेको छ । पन्तलाई तत्कालीन सचिवको हैसियतमा गरेको कार्यसम्पादनका लागि मुद्दा चलाइएको थियो । उक्त प्रकरणमा आरोपित पूर्वसचिव दिनेशहरि अधिकारीले पनि अभियोगबाट सफाइ पाउनुभएको छ ।
अदालतले मुख्य आरोपित शोभाकान्त ढकाल, रामकुमार सुवेदीलाई दोषी ठहर गरेको छ । यस्तै उक्त प्रकरणमा आरोपित व्यवसायी मीनबहादुर गुरुङ पनि दोषी ठहर हुनुभएको छ । अदालतले ढकाल, सुवेदी र गुरुङलाई जनही दुई वर्ष कैद र ८० लाख ४८ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
अदालतले अख्तियारको दाबी अनुसार नै ६५ जनाको नाममा रहेको जग्गा जफत हुने फैसला गरेको छ । ६५ जना प्रतिवादीकै जग्गा जफतको फैसला विशेषले गरेको छ । जग्गा किनेका व्यक्तिले नामसारी गर्दा कायम गरेको थैली अनुसारको रकम असुलका लागि कपाली सरहको दाबी किन्ने पक्षले गर्न पाउने गरी अदालतले फैसला गरेको हो । भ्रष्टाचार निवारण ऐनको व्यवस्था अनुसार देवानी हक कायम हुने गरी अदालतले फैसला गरेको हो ।
नक्कली मोहीसमेत खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमा १६५ संलग्न भएको देखिएपछि ६० जनालाई प्रत्यक्ष संलग्न भएकोमा मुद्दा चलाइएको थियो । जग्गाधनी र मोही ३२ जना, जग्गा कमिसनमा लिने १८ लाई विपक्षी बनाइएको थियो । जग्गा जफतको हकमा मात्र कम्पनी र व्यक्ति गरेर ६५ जनालाई विपक्षी बनाइएको थियो । मुद्दा दर्ता भएको चार वर्षपछि अदालतले फैसला गरेको हो । अदालतले मृत्यु भइसकेका प्रतिवादीको हकमा लगत कट्टाको फैसला गरेको छ । विशेषको यो फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्चमा पुनरावेदन गर्ने कानुनी सुविधा पाउने छन् ।
कैद, जरिबाना र जग्गा जफत
जग्गा जफत ठहर भएका
सफाइ पाएका
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया