श्रावण १२, २०८१ शनिबार July 27, 2024

जोगबूढा नदीमा तटबन्ध निर्माण, कुतियाकबरबासीलाई राहत

महाकाली र जोगबूढा नदी मिसिने ठाउँमा करिब आठ सय मिटर तटबन्ध नयाँ निर्माण तथा मर्मत गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरस्थित जोगबूढा नदीमा तटबन्ध निर्माण गरिएको छ । बाढीले गर्ने कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको हो । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले जोगबूढा नदीमा यस वर्ष दुई सय एक मिटर तटबन्ध निर्माण गरेको छ ।

कुतियाकबर जोड्ने जोगबूढा नदीमाथिको झोलुङ्गे पुलबाठ दुई सय मिटर नदीमा कटान नियन्त्रणका लागि तटबन्ध गरिएको जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका इन्जिनियर करुणाकर पन्तले बताउनुभयो । “जोगबूढा नदीमा तटबन्ध निर्माणको काम सकिएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष महाकाली नदीमा पाँच–छ ठाउँमा तटबन्ध मर्मतको काम हुन्छ ।”

उहाँका अनुसार महाकाली र जोगबूढा नदी मिसिने ठाउँमा करिब आठ सय मिटर तटबन्ध नयाँ निर्माण तथा मर्मत गरिने छ । दोधारा चाँदनी नगरपालिका–१० स्वास्थ्य चौकी नजिक महाकाली नदीमा गत वर्ष डेढ सय मिटरभन्दा बढी तटबन्ध निर्माण भएको थियो । दोधारा चाँदनी–१ स्थित नेपाल–भारत सीमा प्रारम्भविन्दुमा कङ्क्रिट ब्लक निर्माणको काम भइरहेको इन्जिनियर पन्तले जानकारी दिनुभयो ।

महाकाली र जोगबूढा नदीमा तटबन्ध निर्माण तथा मर्मतका लागि गत वर्ष रु १६ करोड बजेट आएको थियो । सो बजेटमा तटबन्ध निर्माण र मर्मतको काम भइरहेको हो । यसको ठेक्का शङ्कर जोशी जेभीले पाएको थियो । “काम सम्पन्न हुँदासम्म बजेट अपुग हुने सम्भावना छ । त्यसैले बजेट थपका लागि जनस्रोत तथा सिँचाइ विभागलाई पत्राचार गरेका छौँ”, उहाँले  भन्नुभयो ।

जोगबूढा नदीमा तटबन्ध निर्माण भएपछि स्थानीय बासिन्दा खुसी छन् । बर्सेनि कटान र बाढीको चपेटामा पर्ने कुतियाकबरका स्थानीयलाई तटबन्ध निर्माणपछि निकै राहत हुने दोधारा चाँदनी नगरपालिका–१० का अध्यक्ष चन्द्रबहादुर सिंह बताउनुहुन्छ । “भारतले जोगबूढामा पानी छाडेपछि तटबन्ध निर्माण गर्न सकिँदैनथ्यो । दुई सातामै तटबन्ध निर्माणको काम सकियो”, उहाँले भन्नुभयो, “यहाँका किसानको खेत कटान तटबन्धले नियन्त्रण गर्ने विश्वास छ ।”

दोधारा चाँदनी–१० मा पर्ने कुतियाकबर बस्तीलाई जोगबूढा र महाकाली नदीले घेरेको छ । बर्सेनि यहाँका स्थानीय कटान र बाढीको समस्या झेल्दै आएका छन् । महाकाली र जोगबूढा नदीको कटानले स्थानीय बासिन्दाको जमिन कटान गरेर यहाँबाट विस्थापित हुने अवस्था आएको छ ।

जोगबूढामा यस वर्ष तटबन्ध निर्माणपछि त्यहाँबाट आउने बाढी र गर्ने कटान नियन्त्रण हुने आशा पलाएको कुतियाकबरका स्थानीय बासिन्दा खड्के बुढाले बताउनुभयो । “जोगबूढामा तटबन्ध निर्माण भएपछि झोलुङ्गे पुल भएर बस्ती पस्ने बाढी र हुने कटान रोकिन्छ”, उहाँले भन्नुभयो, “अझै आठ सय मिटर तटबन्ध निर्माण भए जोगबूढाको समस्या समाधान हुन्थ्यो ।”

कुतियाकबरमा नेपाली सेनाले ‘सेफ हाउस’ पनि निर्माण गरिरहेको छ । कुतियाकबरस्थित महाकाली नदीमा तटबन्ध नभएकाले त्यस क्षेत्रबाट कटानको उच्च जोखिम रहेको उहाँले बताउनुभयो । “गत वर्ष महाकालीले दुई बिघा जमिन कटान गर्यो, महाकालीतिर तटबन्ध छैन”, उहाँले भन्नुभयो, “बर्सेनि हुने कटानले गाउँ नै जाने सम्भावना छ । महाकालीमा पनि तटबन्ध निर्माण गरेर कटान रोक्नुपर्छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार